मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १४ मंगलबार
  • Thursday, 19 December, 2024
२o७७ पौष १४ मंगलबार १९:३९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा बागमती संसदीय दल उपनेता र सचेतक पदमुक्त, मुख्यमन्त्रीले सोधे ३० सांसदसँग स्पष्टीकरण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष १४ मंगलबार १९:३९:oo

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गरेका छन् । नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पौडेलले आफूविरुद्ध सत्तारुढ नेकपाकै प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संसदीय दलको विधानअनुसार उपनेता शालिकराम जमकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गर्दै उनीहरूसहित ३० सांसदलाई स्पष्टीकरण सोधेका हुन् । 

१० पुसमा प्रचण्ड–नेपाल समूहका ४५ सांसदले हस्ताक्षर गर्दै मुख्यमन्त्रीविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । सरकार पक्षबाटै अविश्वासको प्रस्ताव दर्ता र पटकपटक सरकारको विरोध गरिएको भन्दै उपनेता र सचेतकलाई पदमुक्तसँगै ३० जना सांसदलाई २४ घन्टा अर्थात् १५ पुस बुधबारभित्र बुझाउने गरी स्पष्टीकरण सोधिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

आवश्यकताअनुसार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने बाँकी १५ जनालाई पनि स्पष्टीकरण सोधिने मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए । दाहालका अनुसार मुख्यमन्त्री पौडेलले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन तथा प्रचलित कानुनी व्यवस्था तथा संसदीय दलको विधानको अधीनमा रही उपनेता र सचेतकलाई पदमुक्तसँगै सांसदहरूलाई स्पष्टीकरण सोधेका हुन् । 

नेकपा संसदीय दलको विधान २०७५ को भाग ६, दफा २४ को (क), (ख), (ग), (च) र (छ) आकर्षित भई सोही विधानको दफा २६, उपदफा (३) को (क), (ख), (ग), (घ) र (ङ) बमोजिम पदमुक्त र स्पष्टीकरण सोधिएको मुख्यमन्त्रीको सचिवालयको दाबी छ । 

पौडेललाई हामीले दलको नेताबाट हटाइसक्याैँ : जम्कट्टेल
सत्तारुढ नेकपाका सांसद शालिकराम जमकट्टेलले आफूलाई संसदीय दलको उपनेताबाट पदमुक्त गराएकोबारे प्रतिक्रिया दिँदै मुख्यमन्त्री डोरमणि पौडेललाई ९ पुसमै संसदीय दलको नेताबाट पदमुक्त गराइसकेको बताए । उनले १० पुसमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि नै नेकपाका बहुमत सांसद ४५ जनाको उपस्थितिमा पौडेललाई संसदीय दलबाट हटाइएको उनको दाबी छ । ‘हाम्रो बहुमत सांसदको निर्णयबाट पौडेललाई संसदीय दलबाट हटाइसकिएको छ । अब अहिले उहाँले उपनेता र सचेतकलाई पदमुक्त गर्दै सांसदलाई स्पष्टीकरण सोध्नुको कुनै अर्थ नै छैन जब कि उहाँ नै संसदीय दलको नेता होइन,’ उनले भने, ‘हामीले अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेताका रूपमा चयन गरिसकेका छौँ ।’