मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष ११ शनिबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७७ पौष ११ शनिबार o६:o९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मन्त्रिपरिषद् पुनर्गठन : नौ मन्त्री थपिए, एक हटाइए, ६ को जिम्मेवारी हेरफेर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ पौष ११ शनिबार o६:o९:oo

प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणापछि ‘कामचलाउ’ हैसियतमा रहेका प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पार्टी विभाजनसँगै बहुमत नेताहरू आफ्नो विपक्षीमा उभिएपछि ओलीले पूर्वमाओवादीलाई आकर्षित गर्ने रणनीतिक कदमका रूपमा मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । 

पार्टी विभाजनपछि आफ्नो समूहमा रहेर साथ दिने पूर्वमाओवादी समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सिफारिसमा पूर्वमाओवादी समूहका पाँच तथा पूर्वएमाले समूहका चारजनालाई मन्त्री नियुक्त गरेका छन् भने एकजनालाई राज्यमन्त्री नियुक्त गरेका छन् । ६ मन्त्रीको भने जिम्मेवारी हेरफेर गरेका छन् । ३ फागुन ०७४ पछि प्रधानमन्त्री ओलीले एघारौँपटक मन्त्रिपरिषद् पुनर्गठन र हेरफेर गरेका हुन् । 

जसअनुसार ओली नेकपामा स्थायी कमिटी सदस्यद्वय टोपबहादुर रायमाझी ऊर्जा र मणि थापा खानेपानी तथा सरसफाइमन्त्री नियुक्त भएका छन् । उपप्रधानमन्त्री भइसकेका रायमाझीले मन्त्रीको मात्रै हैसियत पाएका छन् । रायमाझी यसअघि पटकपटक मन्त्री भए पनि थापा भने पहिलोपटक मन्त्री बनेका हुन् । 

त्यस्तै केन्द्रीय सदस्यहरू प्रभु साह सहरी विकास, गौरीशंकर चौधरी श्रम तथा दावा लामा युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् । उनीहरू सबै पूर्वमाओवादी समूहका हुन् । खेलकुदमन्त्री लामा गत निर्वाचनमा सिन्धुपाल्चोक–२ प्रदेश ‘ख’मा पराजित भएका थिए ।  रायमाझी र थापाबाहेकका नेताहरू बिहीबार कार्की बैंक्वेट बबरमहलमा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा सामेल भएका थिए । रायमाझी र थापा भने बालुवाटार बैठकमा सहभागी थिए । 

गत ७ पुसमा कार्की बैंक्वेटमा सम्पन्न प्रचण्ड–नेपाल समूहको बैठकमा साहले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाइएकोमा मौखिक रूपमा फरक मत राखेका थिए । उनले पार्टीमा एकल अध्यक्ष हुनुपर्ने आफ्नो मत रहेको बैठकलाई जानकारी गराएका थिए । संसद् विघटनको कदमलाई साहले आत्मघाती र आपत्तिजनक भनेका थिए । 

त्यस्तै, पूर्वएमाले समूहबाट गणेश ठगुन्ना, सामान्य प्रशासन, जुलीकुमारी महतो महिला, बालबालिका तथा समाजकल्याणमन्त्री नियुक्त भएका छन् । विमला विश्वकर्मा भने उद्योग राज्यमन्त्री नियुक्त भएकी छिन् । उनीहरूमध्ये ठगुन्ना केन्द्रीय सदस्यसमेत हुन् । 

त्यस्तै, प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर गरेका छन् । जसअनुसार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री लीलानाथ श्रेष्ठलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार तथा सहकारी, भूमिसुधारमन्त्री पद्मा अर्याललाई कृषि तथा पशुपक्षी विकास तथा सहरी विकासमन्त्री, कृष्णगोपाल श्रेष्ठलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–नेपाल पक्षका सात मन्त्रीले गत ५ पुसमा मन्त्रीबाट राजीनामा दिएपछि सात मन्त्रालय रिक्त थिए । यससँगै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड मन्त्रिपरिषद्बाट बिदा भएका छन् ।