![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/logo.2019-06-14-07-34-10.jpeg)
भक्तपुरको मध्यपुर थिमि नगरपालिका ‘एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ ।
ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षण तथा पुनर्निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै मध्यपुर थिमि नगरपालिका ‘२०२० एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको हो ।
युएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले एक समारोह आयोजना गरी नगरपालिकालाई पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख (मेयर) मदनसुन्दर श्रेष्ठले पुरस्कार पाएसँगै ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा संरक्षणको काममा अझ बढी जिम्मेवार बनाएको बताए ।
यस्तै, मध्यपुर थिमि नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउन चाहेकोसमेत मेयर श्रेष्ठले बताए ।
युएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले सहरी क्षेत्रको विकास निर्माणको काम हेरेर प्रत्येक वर्ष उक्त अवार्ड प्रदान गर्ने गरेको छ ।
यस वर्ष दक्षिण कोरियाका चार, चीनका तीन, जापानका दुई, मलेसियाकाे एक, थाइल्यान्डको एक र नेपालको मध्यपुर थिमि नगरपालिका गरी कुल १२ वटा सहरलाई पुरस्कृत गरेको हो ।
मध्यपुर थिमि नगरपालिकाले विगत तीन वर्षदेखि भत्केका मठमन्दिर, पाटी, पौवा, ढुंगेधारा, पोखरी, पार्कको संरक्षण तथा पुनर्निर्माणमा ध्यान दिँदै आएको छ ।