नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न प्रज्ञा पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानको प्राज्ञ सभाको ३५औँ बैठकले दर्जनभन्दा बढी पुरस्कारको घोषणा गरेको हो । प्रा.डा.वीरेन्द्रप्रसाद मिश्रलाई दुई लाख राशिको नेपाल सामाजिकशास्त्र, संस्कृति, दर्शनशास्त्र पुरस्कार र दुई लाख राशिकै नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा.तेजरत्न कंसाकारलाई प्रदान गरिने भएको छ ।
एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भुजलाल दास केवरत र हंशावती कुर्मीलाई प्रदान गरिने भएको छ ।
बैठकले दुई–दुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार भारत आसामका लीलबहादुर क्षेत्री, नेपाल प्रज्ञा अनुवाद पुरस्कार कृष्णप्रकाश श्रेष्ठ र विदेशी नागरिकलाई दिइने तीन हजार अमेरिकी डलर वा सोबराबरको नेपाल प्रज्ञालंकार सम्मान चीनका प्राध्यापक वाङ हङवेईलाई प्रदान गर्ने निर्णय गरेको छ ।
दुई विद्वानलाई मानार्थ, एकजनालाई आजीवन दिइनेछ भने डा. महेशराज पन्त र प्रा.डा.सूर्यप्रसाद सुवेदीलाई प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यता र आनन्ददेव भट्टलाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय भएको छ । आजीवन सदस्यले आजीवन मासिक रूपमा आर्थिक सुविधा पाउने व्यवस्था छ ।
प्रतिष्ठानको प्रज्ञा सभाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका थिए । उनले पछिल्लो समय नेपाली संस्कृतिमाथि अतिक्रमण बढ्दै गएकाले त्यसलाई रोक्न सम्पूर्ण संस्कृतिकर्मीलाई आग्रह गरे ।