मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २८ आइतबार
  • Wednesday, 18 December, 2024
२o७७ मङ्सिर २८ आइतबार १८:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मदन भण्डारी प्राविधिक विश्वविद्यालय निर्माण सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर २८ आइतबार १८:११:oo

बहुवर्षीय योजनामा समेटिएको मकवानपुरको उत्तरी क्षेत्र चित्लाङमा मदन भण्डारी प्राविधिक विश्वविद्यालय निर्माण सुरु भएको छ । शनिबारबाट विश्वविद्यालयको प्रशासनिक भवन निर्माण सुरु गरिएको हो । संघीय सरकारले चालू आर्थिक वर्षमा विश्वविद्यालय निर्माणका लागि एक अर्ब २० करोड रुपैयाँ विनियोजन गरेपछि ६ करोड ५० लाख लागतमा प्रशासनिक भवन निर्माण सुरु गरिएको प्रतिनिधिसभा सांसद विरोध खतिवडाले जानकारी दिए । थाहा नगरपालिका– ९ स्थित चित्लाङमा निर्माण हुने विश्वविद्यालयको संरचना काभ्रेमा पनि बनाइने सांसद खतिवडाले बताए ।
    
प्राविधिक विश्वविद्यालय विभिन्न चरणमा निर्माण गरिने र पूर्ण निर्माणका लागि ४३ अर्ब लाग्ने अनुमान गरिएको छ । त्यसका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । विश्वविद्यालयमा चार हजार विद्यार्थीले अध्ययन गर्न सक्नेछन् । विधेयक कार्यान्वयनमा आउनासाथ आगामी वर्षदेखि विश्वविद्यालय सञ्चालनमा ल्याउने योजना रहेको सांसद खतिवडाले दाबी गरे । 

मुलुकका लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवान् जनशक्ति, वैज्ञानिक तथा विचारकहरूको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्ने उद्देश्यले विश्वविद्यालय सञ्चालन योजना अघि सारिएको हो । यसका अतिरिक्त मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय पनि खोल्ने सरकारको नीति छ । सरकारले सो विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकलाई यसअघिको संघीय संसद्को अधिवेशनमा पेस गरिसकेको छ । विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङमा रहने विधेयकमा उल्लेख छ । हाल सो स्थलमा सात सय ४० रोपनी जग्गा पहिचान प्राप्तिको क्रम सुरु भएको छ ।

विश्वविद्यालय विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, कानुन र न्यायलगायतका विषय र क्षेत्रमा केन्द्रित हुनेछ । विधेयकमा अन्य विश्वविद्यालयको भन्दा पृथक रूपमा सञ्चालनका लागि संरक्षक समिति गठनको प्रबन्ध गरिएको छ । त्यसको मातहतमा कार्यकारी परिषद् हुनेछ । 

कार्यकारी प्रमुखको हैसियतमा विश्वविद्यालयमा एक अध्यक्ष हुनेछन् । यो विश्वविद्यालयमा कुलपति र उपकुलपति हुँदैन । यसैक्रममा भवन निर्माण सुरु भएसँगै चित्लाङमा सांसद खतिवडा, थाहा नगरपालिकाका मेयर लवशेर विष्टलगायतले अनुगमनसमेत गरेका छन् ।