१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २५ बिहीबार
  • Friday, 05 July, 2024
२o७७ मङ्सिर २५ बिहीबार o८:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
प्रदेश प्रिन्ट संस्करण

प्रदेश सभा बैठकको अन्योल : चार महिनादेखि रोकिएको बागमती प्रदेश सभाको बैठक अझै अनिश्चित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर २५ बिहीबार o८:४४:oo

८ साउनमा बागमती प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्यसँगै स्थगित गरिएको बैठक अझै सुरु हुन सकेको छैन । चार महिनादेखि रोेकिएको प्रदेश सभा बैठक कहिले बोलाउनेबारे अनिश्चित कायमै छ । 

सत्तारुढ नेकपाको केन्द्रीय नेतृत्वमा देखिएको विवादका कारण बागमती प्रदेश सभा बैठक अनिश्चित बनेको प्रतिपक्षको दाबी छ । नेकपाको आन्तरिक किचलोका कारण पार्टी र सरकार नै अस्तव्यस्त बन्दा त्यसको असर बागमती प्रदेशमा समेत परेको प्रतिपक्ष दलका सांसदहरूले आरोप लगाइरहेका छन् ।

बैठक अनिश्चितसँगै मन्त्री, सांसदहरू आफ्नो पार्टीको गुट र उपगुटमा बाँडिएर आन्तरिक बसमा उत्रिरहेका छन् । पार्टीभित्रको विवादका कारण मन्त्री, सांसदहरू नै बाँडिन थालेपछि संसद् बैठक बोलाउनेबारे सत्तापक्षको चासो कम देखिएको छ । बैठक बोलाउने तरखर छाडेर संसद्मा गर्नुपर्ने छलफल विभिन्न औपचारिक कार्यक्रममा सहभागी भएर सांसदहरूले अभिव्यक्ति दिइरहेका छन् ।

संसद्मा विधेयक नै दर्ता भएन
प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्यपछि बैठक स्थगित गरिएको चार महिना बित्दासमेत हालसम्म संसद्मा कुनै पनि विधेयक दर्ता भएको छैन । प्रदेश सभा सचिवालयका अनुसार चार महिना अवधिमा हालसम्म कुनै पनि विधेयक दर्ता नभएको हो । संसद्मा अहिले एउटा मात्र विधेयक बाँकी रहेको र त्यो पनि दफाबार छलफलका लागि समितिमा पठाइएको सभामुख सानुकुमार श्रेष्ठले बताए । 

‘प्रदेश सरकारले नै प्रदेश सभा बैठक बोलाउनेबारे चासो देखाएको छैन,’ सभामुख श्रेष्ठले भने, ‘संसद्बाट कुनै रोकावट हुने अवस्था नै छैन ।’ उनले अधिवेशन परिवर्तनका लागि मन्त्रिपरिषद् बैठकबाट सिफारिस गरेर प्रदेश प्रमुखबाट स्वीकृत गरिएपछि मात्र बैठक सुरु हुने बताए । हालसम्म मन्त्रिपरिषद्बाट सिफारिस नभएका कारण कहिले बैठक बस्नेबारे अनिश्चित रहेको सभामुख श्रेष्ठको भनाइ छ । 

बैठक बोलाउन सरकार पन्छियो : प्रतिपक्ष
कानुन निर्माण गर्ने महत्वपूर्ण समय हिउँदे अधिवेशन भए पनि यो अवधिमा नयाँ अधिवेशन बोलाउने मात्र होइन, विधेयक दर्ता नहुँदा सरकारको काम नै नदेखिएको प्रमुख प्रतिपक्ष दल कांग्रेसको आरोप छ । 

कानुन अभावका कारण काम गर्न समस्या भएको दाबी गर्दै आएको प्रदेश सरकार नै प्रदेश सभाबाट पन्छिएको कांग्रेस संसदीय दलका सचेतक छिरिङ लामाले दाबी गरे । ‘पार्टीविशेषका कारण संसदलाई बन्दी बनाइएको छ,’ सचेतक लामाले भने, ‘सरकार आफैँ किचलोमा परेकाले विधेयक पनि ल्याइएको छैन । जनताको कुरा सम्बोधन गर्नुपर्ने थलो नै बन्द हुँदा हामीले संसद्मा बोल्न पाएका छनौँ ।’ उनले सरकार जवाफदेही नभएको आरोप लगाउँदै सरकारले विधेयक निर्माणको सवालमा संघीय सरकारलाई गाली गरिरहेको बताए । 

प्रदेश सभामा बिजनेस छैन : सत्तापक्ष
सत्तारुढ नेकपा संसदीय दलका मुख्य सचेतक केशव पाण्डेले प्रदेश सभामा अहिले कामै नभएको दाबी गरे । प्रदेश सभामा खासै काम नभएका कारण संसद् बस्ने प्रक्रियामै रहेको उनले बताए । ‘अधिवेशन सरकारले ६ महिनाभित्र बोलाउने नियम छ,’ उनले भने, ‘१७ माघमा ६ महिना पुग्नै बाँकी छ, हामी नियममै छौँ, धेरै हतारिनुपर्ने छैन ।’ उनले नेकपा विवादका कारण बैठक बोलाउन रोकिएकोबारे सत्यता नरहेको बताए । ‘विषयवस्तु तय गरेर संसद् बैठक बोलाउनेछौँ । नेकपा विवादका कारण बैठक बस्न नसकेको आरोप गलत हो,’ उनले भने । 
 

ad
ad
ad
ad