मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ मङ्सिर १९ शुक्रबार १०:१५:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सिनेमाको पोस्टर टाँस्नेका व्यथा

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ मङ्सिर १९ शुक्रबार १०:१५:००

कोरोना कहरले रोजगारी गुमेपछि ८० प्रतिशत सिनेमा पोस्टर टाँस्ने पेसामा आबद्धले काठमाडौं छाडे, नयाँ सिनेमा रिलिजको पर्खाइमा

सहरका भित्ता, बिजुलीका खम्बा र चोकहरूमा देखिने सिनेमाका पोस्टर हिजोआज देखिँदैनन् । पोस्टरहरू टाँसिने ठाउँहरू खाली छन् । कोरोना कहर सुरु भएसँगै सिनेमाको पोस्टर टाँस्ने काम बन्द भएपछि देखिन छाडेका हुन् । सिनेमा हल बन्द भएपछि चलचित्र रिलिज हुन छाडेका छन् । लामो समयसम्म सुटिङसमेत बन्द भयो । केही दिनयता फाट्टफुट सुटिङ सुरु हुन थालेका छन् । तर पनि प्राविधिकहरूले काम पाइरहेका छैनन् । वर्षौं यस क्षेत्रमा बिताएका सयौँ प्राविधिकहरू बेरोजगार बनेका छन् । हल बन्द भएकाले पोस्टर टाँस्ने पेसामा आबद्ध मान्छेहरू पनि कामविहीन हुन पुगेका छन् । 

१७ वर्ष भयो सिन्धुपाल्चोकका राजु भण्डारीले रातभर सहरमा सिनेमाको पोस्टर टाँस्न थालेको । प्रदर्शन हुन लागेका चलचित्रका पोस्टरहरू सहरका गल्ली, चोक र बिजुलीका खम्बामा टाँसेर दर्शकलाई सिनेमा हलसम्म डोर्‍याउनु उनको काम थियो । यहीँबाट हुने आम्दानीले भण्डारीको घरपरिवार चलेको थियो । तर, गत ११ चैतमा कोरोना भाइरसका कारण सरकारले लकडाउन घोषणा गरेपछि उनको काम ठप्प भयो । चलचित्रहरूको प्रदर्शन तथा हल बन्द गर्ने सरकारको निर्णयसँगै भण्डारीको काम पनि बन्द भयो । यसपछि भण्डारी आफ्नो घर सिन्धुपाल्चोक गए ।

अहिले घरतिरै बसिरहेका छन् भण्डारी । काठमाडौं कहिले फर्कने हो, उनैलाई थाहा छैन । चाँडै फर्किइएला भन्ने आशा पनि छैन उनको । चलचित्र कहिलेबाट प्रदर्शन हुन सुरु हुन्छन् या त हलहरू कहिलेबाट सञ्चालनमा आउँछन्, त्यसपछि मात्र भण्डारीको काठमाडौं आगमनको अवस्था बन्नेछ । भन्छन्, ‘अहिले फर्किएर के गर्नु ? अवस्था यस्तो छ । काम छैन । काम नभई त्यहाँ कसरी बाँच्नू ?’ भण्डारीले यसको अलवा अरू पेसाबारे सोचेनन् । अहिले आएर उनलाई पछुतो पनि लाग्छ वैकल्पिक पेसाबारे नसोचेकोमा । तर, उमेर धेरै भइसक्यो, अब अन्य पेसा अपनाउन पनि सकिँदैन कि लाग्छ उनलाई ।

अवस्था यस्तो विषम नबनेको भए भण्डारी रातको ९ बजेदेखि बिहान ४ बजेसम्म सहरका विभिन्न ठाउँमा पोस्टर टाँसिरहेका हुन्थे । निद्रा छाडिदिन्थे, जाडोलाई बिर्सिदिन्थे । तर, यसको बदलामा उनको घर चल्थ्यो । नयाँ बानेश्वरको कोठाभाडा तिर्थे । महँगी नै भए पनि घरमा खानेकुराको जोहो हुन्थ्यो । ‘निद्रा माया मारेर भए पनि मेरो परिवार त चल्थ्यो, अहिले त त्यही काम सकियो,’ भण्डारी सुनाउँछन्, ‘अब त्यहाँ बाँच्नका लागि केही न केही काम चाहियो । अरू काम केही जानेको छैन । अनि त्यहाँ आएर के गर्नु ?’

.......

अहिले पोस्टर टाँस्ने पेसामा आबद्ध धेरै मान्छे काठमाडौंबाहिर छन् । लकडाउन सुरु भएपछि गएका उनीहरूको काठमाडौं फिर्ने अत्तोपत्तो छैन । सहर आएर अरू काम गर्न उनीहरूसँग अनुभव पनि छैन । अनुभवविनाको क्षेत्रमा काम गरेर परिवार पाल्न सकिने अवस्था बन्न सक्दैन । कहिले हल खुल्ला या चलचित्र प्रदर्शन सुरु होलान्, सबै त्यसैको पर्खाइमा छन् ।

हामीसँग तीन पुस्तादेखि काम गरिरहेका कर्मचारीहरू हुनुहुन्छ । उहाँहरू परिवार हो हाम्रो । उहाँहरूलाई लकडाउनयता पनि हामीले सक्ने सहयोग गरिरहेका छौँ । अहिले अवस्थै यस्तो छ, निर्माताहरूको ब्याज, हल सञ्चालनका भाडा, हलका उपकरणमा आएका समस्यालगायत यावत् विषयले हामी आक्रान्त छौँ । यसबारे सरकार गम्भीर बनिदिनुपर्छ । - मधुसूदन प्रधान, अध्यक्ष, नेपाल चलचित्र संघ

झापाका राजेश डिकेले ३१ वर्ष भइसक्यो यो सहरमा बिताएको । तीन दशकसम्म मुख्य रूपमा पोस्टर टाँस्ने काम गरेरै घरपरिवार चलाए । तर, भण्डारीको जस्तै डिकेको पनि कथा फरक छैन । गुह्येश्वरीमा परिवारसँग बसिरहेका उनको पीडा पनि कामकै छ । काम ठप्प छ । परिवार कसरी चलाउने, त्यसैको तनावमा छन् । ‘तनाव घरपरिवार कसरी चलाउने, त्यसैको छ । यस्तोवेला कसले सहयोग गर्ला र,’ ४८ वर्षका डिके भन्छन्, ‘पैसै नभएको त होइन, तर काम गरेको कति पैसा उठ्न बाँकी छ । ती पैसा सम्झिएर मान्छेहरूले दिए त केही सहज हुने थियो नि ! तर, फोनसम्म त उठाउँदैनन् ।’

केही समयअघि नेपाली चलचित्र ‘रणवीर’ प्रदर्शन भएको थियो । चलचित्र बक्स अफिसमा असफल भयो । तर, सुरुवातमै पोस्टर टाँस्ने काम गरेका नुवाकोटका रमेश तामाङले पैसा पाएनन् । अहिले निर्मातालाई फोन गर्दा फोन उठाउँदैनन् । न कुनै प्रतिक्रिया दिन्छन् । लकडाउनका कारण समस्यामा परेको थाहा पाएर पनि फोन नउठाउँदा या सोधखोज नगरिदिँदा यो क्षेत्रप्रति नै वितृष्णा पालाएको छ तामाङको । तामाङसँग पैसा नपाएका चलचित्रको सूची लामै छ । त्यसका निर्माता या वितरकको लिस्ट पनि लामै छ । यस्तोवेला उनीहरूले सम्झिएर पीडा बुझिदिए पनि हुने भन्ने लाग्छ तामाङलाई । भन्छन्, ‘अरूवेला नसम्झिए पनि यस्तोवेला सम्झिए त हुने नि । उनीहरू एउटा चलचित्रका लागि करोडौँ खर्च गर्छन्, हाम्रो पैसा त करोडौँ हुँदैन नि !’ लकडाउन सुरु भएपछि गत वैशाखमै तामाङले स–परिवार काठमाडौं छाडे । अहिले घरतिरै बसिरहेका तामाङको काठमाडौं फिर्ने सम्भावना पनि भण्डारीकैजस्तो छ । पर्खाइ एकै कुराको छ, चलचित्र प्रदर्शन र हल सञ्चालन कहिले होला ? जहिले हल सञ्चालनमा आउँछन्, त्यसपछि बसको टिकट काटेर काठमाडौं आउने सोच छ उनको ।
......

नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान सबै कुरा खुल्ला गरेर, लामो दूरीका सवारीसाधन सञ्चालन गरेर पनि हलहरू सञ्चालन गर्नेबारे सरकारले निर्णय नलिइदिनु आफैँमा तनावपूर्ण विषय रहेको बताउँछन् । यसबारे सरकारले चाँडै निर्णय लिएर आफूहरूलाई हल सञ्चालन गर्ने अनुमति दिनुपर्ने र अहिलेको यो विषम परिवेशबाट सबैलाई सामान्य जनजीवनतिर जाने बाटो खोलिदिनुपर्ने बताउँछन् । भन्छन्, ‘हामीलाई भिडभाड बढी हुने भनेर सरकारले विशेष प्राथमिकतामा राखेर हलहरू बन्द गर्ने आदेश दियो । तर, अहिलेसम्म आइपुग्दा हाम्रो अवस्था खराब भइसकेको छ । हामीले सुरक्षाका सबै संयन्त्र अपनाएर हल सञ्चालन गर्छौं भनेर सरकारलाई भनिसकेका छौँ । सरकारले यसबारे चाँडो निर्णय लिइदिनुपर्छ ।’

पोस्टर टाँस्ने, हलमा काम गर्ने कर्मचारीहरूलाई आफूहरूले सक्दो गरिसकेको बताउँछन् प्रधान । हलहरू बन्द हुँदा पनि आफूहरू जिम्मेवारीबाट नपन्छिएको उनको भनाइ छ । तर, अवस्थै यस्तो बनेकाले आफूहरूले सक्नेभन्दा बढी गर्न नसकिने भट्टराईको धारणा छ । ‘हामीसँग तीन पुस्तादेखि काम गरिरहेका कर्मचारीहरू हुनुहुन्छ । उहाँहरू परिवार हो हाम्रो । उहाँहरूलाई लकडाउनयता पनि हामीले सक्ने गरिरहेका छौँ,’ उनी भन्छन्, ‘अहिले अवस्थै यस्तो छ, निर्माताहरूको ब्याज, हल सञ्चालनका भाडा, हलका उपकरणमा आएका समस्यालगायत यावत् विषयले हामी आक्रान्त छौँ । यसबारे सरकार गम्भीर बनिदिनुपर्छ ।’

नेपाली चलचित्र क्षेत्रमा काठमाडौं उपत्यकामा मात्रै दुई दर्जनभन्दा बढी पोस्टर टाँस्ने मान्छेहरू सक्रिय छन् । काठमाडौंबाहिरको संख्या पनि जोड्ने हो भने सय नाघ्छ । तर, सबैको अवस्था र पीडा उस्तै छ । काठमाडौंमा पोस्टर टाँस्ने काम गर्नेहरू ८० प्रतिशतभन्दा बढीले काठमाडौं छाडिसकेका छन् । यहाँ बाँच्ने अवस्था गाह्रो बनेपछि नै घरतिर गएको उनीहरूको भनाइ छ । भण्डारी भन्छन्, ‘अब अवस्थै राम्रो नबनी कसरी आउने ? के खाएर त्यहाँ बाँच्ने ?’