१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १८ बिहीबार १९:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँकेमा सशस्त्र प्रहरीको विद्यालय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १८ बिहीबार १९:०४:००

सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीका सन्ततिलाई सहुलियतमा शिक्षा दिने उद्देश्यले सातै प्रदेशमा विद्यालय खोल्ने भएको छ । जसअन्तर्गत कोहलपुरको बाँकेमा  प्रदेशस्तरीय स्कुल सञ्चालनमा ल्याएको छ । 

स्कुलको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । कार्यक्रममा उनले शिक्षा नै  समाज विकासको प्रमुख आधार भएकाले संगठनले सोहीअनुरूप बाँकेको कोहलपुरमा स्कुल सञ्चालनमा ल्याएको बताए । 

ज्ञान प्राप्तिको  पहिलो खुट्किलोको रूपमा रहेको विद्यालयलाई उद्देश्यमुखी बनाउनुपर्नेमा खनालले जोड दिए ।  राष्ट्र सेवामा खटिएको सशस्त्र प्रहरी बलले सीमा सुरक्षा मात्र होइन संगठनमा आबद्ध भएका कर्मचारीका सन्ततिको उज्ज्वल भविष्यका लागि स्कुल सञ्चालनमा ल्याएको खनालले बताएका छन् ।  

आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र सेवामा उदाहरणीय काम गर्न सके मात्रै संगठनको साख रहने भएकाले सबै राष्ट्रसेवक एक भएर अगाडि बढ्नसमेत उनले निर्देशन दिएका छन् । 

छाङरुदेखि ओलाङचुङगोलासम्म संगठनको उपस्थिति रहेको बताउँदै सीमा  क्षेत्रमा हुने अपराध नियन्त्रणमा समेत संगठनले सफलता पाउँदै गएको उनको भनाइ थियो ।  अभिभावकले पनि आफ्ना छोराछोरीलाई स्कुलमा पुऱ्याएपछि आफ्नो कर्तव्य पूरा भएको नठानी स्कुलले कस्तो शिक्षा प्रदान गरेको छ भन्नेबारेमा समेत वेलावेलामा ध्यान दिन आग्रह गरेका छन् ।  

कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर एलबी रावलले शिक्षा क्षेत्रमा सशस्त्र प्रहरी बलले लगानी गरेर पश्चिम क्षेत्रको विकासमा महत्वपूर्ण काम गरेको बताए । सो स्कुलका प्रिन्सिपल हरिशचन्द्र बुढाथोकीले स्कुलले सञ्चालन गर्दै आएको कार्यक्रमबारे जानकारी  गराएका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक इन्द्रराज कार्कीले विद्यालयले सञ्चालन गरेको कार्यक्रमबारे जानकारी दिए ।