१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
कौशिक नवराज
२o८१ बैशाख २२ शनिबार o७:o१:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

क्लिनफिड : मिडियाका लागि अवसर र चुनौती

Read Time : > 3 मिनेट
कौशिक नवराज
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:o१:oo

विदेशी च्यानलले नेपाली ग्राहकबाट टेलिभिजन र विज्ञापन हेरेको दोहोरो रकम असुल्दै आइरहेका थिए

नेपालमा विज्ञापन व्यावसायीहरूले करिब १२–१५ वर्षदेखि उठाउँदै आएको, त्यसमा पनि नेपाली टेलिभिजन च्यानलका सञ्चालकहरूले सरकारलाई सम्बोधन गर्न दबाब दिँदै आएको विषय अन्ततः सरकारले कार्यान्वयनमा ल्याएको छ । सरकारले ०७३ सालमा नै क्लिनफिडसम्बन्धी विषय समावेश गरेर ल्याएको आमसञ्चार नीति व्यवसायीहरूको विरोध तथा भारतीय ब्रोडकास्टरहरूको राजनीतिक लबिङले तुहियो । त्यसपछि सरकारले नेपालमा क्लिनफिड लागू गर्न नीतिमा हैन, बलियोसँग ऐनमा नै समावेश गरेर ल्याउनुपर्छ भन्ने महसुस गरेर विज्ञापन नियमन ऐनमा नै क्लिनफिडको कार्यान्वयन डेटलाइनसमेत तोकेर ल्याएको बुझ्न सकिन्छ।

विदेशी च्यानलले नेपाली ग्राहकबाट टेलिभिजन हेरेबापत रकम पनि असुल्ने, सोही च्यानलमा विज्ञापन पनि समावेश गरेर दोहोरो आम्दानी गर्दै आइरहेका थिए । नेपालमा भारतीय मल्टिनेसनल कम्पनीका उत्पादनको विज्ञापन सित्तैमा हुन्थ्यो, जसबाट नेपाली प्रतिस्पर्धी उत्पादन नोक्सानीमा परिरहेका थिए । साथै, भारतलगायतका कम्पनीका उत्पादन विज्ञापन शुल्क पनि भारतीय बजारमा नै खपत हुन्थ्यो, त्यसको कुनै पनि हिस्सा नेपाली च्यानल वा विज्ञापन एजेन्सी, कलाकार र प्राविधिकले पाउँदैनथे । यसले यहाँका विज्ञापन एजेन्सी, कलाकार, मिडियाको सम्भावित आम्दानी गुमिरहेको थियो । यसबाट क्लिनफिडले नेपाली मिडियालाई अवसर र चुनौती दुवै थपिदिएको छ ।

नेपाली मिडियाको आयमा वृद्धि : हाल नेपाली टेलिभिजन च्यानलहरूको अवस्था निकै दयनीय छ । नेपालमा धेरै कम मानिसले मात्रै नेपाली च्यानल हेर्ने गरेको तथ्यांकले देखाउँछ । यसको एक मात्रै कारण हो, नेपाली टेलिभिजनहरूले विज्ञापन नपाउनु । विज्ञापन एक मात्रै आम्दानीको स्रोत भएका नेपाली मिडियाका लागि क्लिनफिडले आम्दानीमा योगदान गरेर सबल बनाउन मद्दत गर्ने देखिन्छ । आम्दानी कम हुँदा अनुमतिपत्र नवीकरण गर्न, प्रसारण तथा वितरण शुल्क तिर्न, सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिनसमेत नसकिरहेको अवस्थामा नेपाली च्यानलहरू चलिरहेको अवस्था छ । यसर्थ, नेपाली मिडिया विदेशी मिडियाको छायामा हुर्कन बाध्य थिए ।

क्लिनफिडपश्चात् विदेशी च्यानलमा विज्ञापन देखाउन नपाएपछि सो विज्ञापन स्वतः नेपाली मिडियामा छाउने नै भयो । विदेशी बहुर्राष्ट्रिय कम्पनीको विज्ञापन पाउन पनि नेपाली मिडियाले टिआरपी बढाउनुपर्ने भयो । राम्रा र गुणस्तरीय कन्टेन्ट उत्पादन गर्नुपर्ने भयो । जसले राम्रा र गुणस्तरीय सामग्री उत्पादन गर्छ, उसका दर्शक धेरै हुने र उसले मात्रै विज्ञापन राम्रो पाउने भयो । जसले गर्दा नेपालमा नयाँ मिडिया थपिने र भएकाबीचमा पनि राम्रो प्रतिस्पर्धा हुने भएको छ । देशको अर्थतन्त्रमा पनि क्लिनफिडले योगदान नै गर्नेछ ।

न्यूनतम पारिश्रमिक कार्यान्वयन : क्लिनफिडपश्चात् नेपाली मिडियामा स्तरअनुसार विज्ञापन बढ्दै जाने र आम्दानी बढ्दा मिडिया सञ्चालकसमेत सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिन सक्ने अवस्थामा पुग्न सहज हुनेछ ।    यसले न्यून पारिश्रमिकमा पत्रकार एवं प्राविधिकलगायतका कर्मचारीलाई काममा लगाउनुपर्ने बाध्यताको अन्त्य हुन सक्छ । 

विज्ञापन बजार विस्तार : क्लिनफिडपछि नेपालमा प्रसारण हुने कुनै पनि विदेशी टेलिभिजन च्यानलले विज्ञापन प्रसारण गर्न पाउँदैनन् । नेपालमा सञ्चालित आमसञ्चारका माध्यमबाट पनि नेपाली भाषामा डबिङ गरिएका विज्ञापनसमेत प्रसारण गर्न पाउँदैनन् । यसको सोझो अर्थ विदेशी टेलिभिजनबाट प्रसारण भइरहेका विज्ञापन अब नेपाली भाषामा नै तयार गरी नेपाली कलाकार राखेर नेपाली टेलिभिजन च्यानलहरूमा मात्रै प्रसारण हुनेछन्, नेपाली प्राविधिकले पनि थप काम पाउने भए । विज्ञापन व्यवसायीका अनुसार आजभन्दा १२–१५ वर्षअघि नेपालमा क्लिनफिड हुनुपर्छ भन्दा नेपालको विज्ञापन बजार दुई–तीन अर्बको मात्रै थियो, अहिले १० अर्ब पुगेको छ । क्लिनफिडको सफल कार्यान्वयन भएमा २० अर्बमाथि पुग्ने आकलन गरिएको छ । क्लिनफिड हुनु भनेको स्वतः विज्ञापन बजार विस्तार हुनु हो । विज्ञापन बजार विस्तार हुनु नेपाली मिडियाका लागि सुखद अवसर हो । बढेको विज्ञापन बजार नेपाली मिडियामै खपत हुने हुन् ।

प्रविधिमा प्रगति : नेपालमा भर्खरै मात्र टेलिभिजन र त्यसमा पनि टेलिभिजन वितरक डिजिटलमा गएका छन् । यसअघिसम्म तारसहित एनालग सिस्टमबाट सञ्चालित थिए । हालका दिनमा पनि नेपालका थोरै मात्रै टेलिभिजन एचडी फम्र्याटमा सञ्चालनमा छन्, अधिकांश टेलिभिजन च्यानल अझै पनि एसडी फम्र्याटमै सञ्चालित रहेको अवस्था छ । क्लिनफिडले नेपालका टेलिभिजनलाई आफ्नो सिस्टम अपग्रेड गर्नुपर्ने, प्राविधिक रूपले नयाँ मोडेल र भर्सनमा जानुपर्ने अवसर र चुनौती थपिदिएको छ । अब जुन मिडियाले नयाँ टेक्निकल मोडेल अवलम्बन गर्न सक्दैनन्, उनीहरू स्वतः पछि पर्ने अवस्था आउन सक्छ । यसर्थ, नेपालका मिडियालाई पनि क्लिनफिड एक अवसर हुन सक्छ, आफ्नो सिस्टम अपग्रेड गर्ने ।

अन्तर्राष्ट्रियकरण हुने अवसर : हाल नेपालका अधिकांश मिडिया नेपाली भूभागमा मात्रै प्रसारित छन् । नेपालमा क्लिनफिड लागू हुँदा प्राप्त हुने आम्दानीको अवसरलाई नेपालमा मिडियाहरूले पनि अन्तर्राष्ट्रिय समुदाय र बजारसम्म पुग्ने बाटो बनाउन ढिला गर्न हुँदैन । अहिले नेपालका सीमित टेलिभिजन र मिडियाको मात्रै ओटिटी मोबाइल एप छन् । केही मिडियाका मात्रै वेबसाइट रहेको देखिन्छ । 

हुन त प्रत्येक मिडियाले ओटिटी मोबाइल एप बनाउन नसक्लान्, तर मिडियाको समूह बनाएर एउटा एप्स छानेर सोही क्याटेगोरीका वा प्याकेजका टेलिभिजनहरू हेर्न सकिने गरी सञ्चालन हुने भए पनि गर्न सक्नुपर्छ । स्पोर्टस्, मनोरञ्जन, धार्मिकलगायतका प्याकेज राखेर यसरी एप सञ्चालन गर्दा सो एप संसारको जुनसुकै कुनाबाट पनि स्ट्रिमिङ हुने भई नेपाली मिडियालाई अन्तर्राष्ट्रियकरण हुने अवसर प्राप्त हुनेछ ।

अहिले नेपाली च्यानल भन्नेबित्तिकै निःशुल्क हेर्न पाइने च्यानल भनेर चिनिन्छ । क्लिनफिडले नेपाली मिडियालाई अवसर मात्रै पनि नदिन सक्छ । यसले केही चुनौती पनि खडा गर्नेछ । 

क्लिनफिडका कारण थप विज्ञापन प्राप्त गर्ने मिडिया सबल हुँदै जानेछन् भने पाउन नसक्ने कमजोर बन्न पुग्नेछन् । हाल नेपालमा मिडिया उद्योग फस्टाउँदो अवस्थामा रहेकै कारण नेपालमा १२ सयभन्दा बढी एफएम र दुई सयभन्दा बढी टेलिभिजन पुगेको अवस्था छ । यसैगरी तीन–चार हजारको संख्यामा पत्रपत्रिका र अनलाइन मिडिया छन् । क्लिनफिडपश्चात् हाल विदेशी च्यानलमा प्रसारित विज्ञापन नेपाली मिडियामा आउने अवस्थामा तयारी नगरी बस्दा यसबाट अवसरभन्दा पनि चुनौती थपिने देखिन्छ । केही टेलिभिजन वा मिडियाले मात्रै यसबाट फाइदा लिएर अरूलाई पछाडि पार्न सक्छन् । 

हाल नेपालमा आमसञ्चारमा मात्रै क्लिनफिड भएको अवस्थामा दूरसञ्चारका माध्यमबाट क्लिनफिड नभएका च्यानलहरू पनि हेर्न सकिने अवस्थामा छ । अब सरकारले दूरसञ्चारका माध्यममा पनि क्लिनफिड लागू गरेर नियन्त्रण गर्न सकेन भने नेपाली मिडियामा आउने र आउनुपर्ने विज्ञापन दूरसञ्चारका साइट, त्यसमा पनि सामाजिक सञ्जाल फेसबुक र ट्विटरतिर नजाला भन्न सकिँदैन । यसर्थ, सरकारले फेसबुकजस्ता सामाजिक सञ्जाललाई पनि स्थानीय कानुनअनुसार दर्ता हुन पत्राचार गर्नु आवश्यक देखिन्छ ।

नेपाली मिडियाहरूको सिस्टम अपग्रेडिङ पनि भएन, अनि अन्तर्राष्ट्रियकरण बजार र समुदायमा पनि पुग्न सकेन भने यसले नेपालमा लागू भएको क्लिनफिडको कारण नेपाललाई अगाडि बढाउनेभन्दा पनि पछाडि धकेल्ने निश्चित देखिन्छ । नेपाली माटोसुहाउँदो कार्यक्रम सञ्चालन गर्नु अनि नेपाली दर्शकलाई नेपाली च्यानलप्रति आकर्षित गर्नु अर्काे चुनौती हुनेछ ।

(कौशिक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन्) 
 

ad
ad