
अमेरिका विश्वको सबैभन्दा ठुलो सामान आयातकर्ता मुलुक हो । सन् २०२३ मा उसले तीन ट्रिलियन डलर मूल्यबराबरको उत्पादन आयात गरेको थियो । ठुलो आयातकर्ताका साथै अमेरिका सबैभन्दा ठुलो व्यापार घाटा व्यहोर्ने मुलुक पनि हो, जसको गत वर्षको व्यापार घाटा एक ट्रिलियन डलरबराबर थियो । यसलाई ‘पारस्परिक भन्सार कर’ले सच्याउने ट्रम्पको बुझाइ छ ।
ट्रम्पले लामो समयदेखि अमेरिकी व्यापारिक साझेदारका ‘अनुचित’ अभ्यासले यति ठुलो घाटा हुने गरेको गुनासो गर्दै आएका छन् । दशकौँदेखि अमेरिकी कारखाना विदेशमा स्थानान्तरण हुँदा यो स्थिति आएको उनको बुझाइ छ । यसले अमेरिकी अर्थतन्त्र कमजोर बनाएको ट्रम्प मान्छन् ।
त्यसबाहेक राष्ट्रपति ट्रम्पले भन्सार दर वृद्धिले संघीय बजेटका लागि सम्भावित राजस्व बढाउन सक्ने विश्वास गरिरहेका छन् । यसले उनका विभिन्न कर कटौती प्रस्तावको प्रभावलाई निस्तेज पार्ने उनको तर्क छ । यद्यपि, राजस्व भरपर्दो रूपमा बढाउन, भन्सार शुल्क वृद्धि स्थायी हुनु आवश्यक छ ।
के हुन सक्छ प्रभाव ?
भन्सार दर वृद्धिले सामानको लागत बढाउँछ । यो लागत सामान्यतया अन्तिम उपभोक्ताले वहन गर्छन् । जसको अर्थ ट्रम्पका योजनाले अमेरिकामा महँगी बढाउने सम्भावना छ । त्यसका साथै ट्रम्पको कदमले विश्वव्यापी आर्थिक वृद्धिमा धक्का लाग्ने र मुद्रास्फीति बढाउने प्रक्षेपण गरिएको छ ।
ट्रम्पले भन्सार दर बढाउनुअघि नै त्यसले निम्त्याउने खतराबाट उत्पन्न चिन्ताका कारण विश्वव्यापी वित्तीय बजार तरंगित हुन थालेको थियो । यसले व्यापार र उपभोक्ताको विश्वासमा धक्का दिएको छ भने घरायसी खर्च र व्यावसायिक लगानीमा नकारात्मक प्रभाव पारेको छ ।
‘अर्गनाइजेसन फर इकोनोमिक को–अपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी)’ का अनुसार अमेरिका र यसका सबै व्यापारिक साझेदारले स्याथी रूपमा १० प्रतिशतले भन्सार कर बढाए भने विश्वव्यापी उत्पादन भन्सार कर लागू भएको तेस्रो वर्षसम्ममा लगभग ०.३ प्रतिशतले घट्न सक्छ । त्यस्तै, विश्वव्यापी मुद्रास्फीति पहिलो तीन वर्षमा औसतमा प्रतिवर्ष ०.४ प्रतिशतले बढ्न सक्ने ओइसिडीले चेतावनी दिएको छ ।
कुन देशहरू सबैभन्दा बढी प्रभावित हुन सक्छन् ?
अमेरिकाले गर्ने भन्सार वृद्धि र त्यसविरुद्ध उसका सहयोगीले चाल्ने जवाफी कदमले अमेरिका पनि प्रभावित हुनेछ । उसको उत्पादनमा ०.७ प्रतिशत गिरावट आउनेछ । त्यस्तै अमेरिकाका सबैभन्दा ठुला व्यापारिक साझेदार क्यानडा र मेक्सिको पनि गम्भीर रूपमा प्रभावित हुनेछन् । अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले अमेरिकी व्यापार घाटाको लगभग तीनचौथाइ हिस्सा ओगट्ने शीर्ष १५ देशलाई ‘डर्टी १५’ नाम दिए । उनले ती मुलुकलाई बढी लक्षित गर्ने बताएका छन् ।
अमेरिकाको सबैभन्दा ठुलो व्यापार घाटा चीनसँग छ, जुन २०२४ मा २९५ अर्ब डलरबराबर थियो । त्यसपछि युरोपेली संघ आउँछ, जोसँग २३५ अर्ब डलरबराबरको व्यापार घाटा थियो ।
ट्रम्पले अन्य देशले प्रयोग गर्ने गैरभन्सारजन्य करबाट उत्पन्न हुने अन्तर्राष्ट्रिय व्यापारको असन्तुलनलाई पनि भन्सारमार्फत सच्याउन चाहेको बताएका छन् । ट्रम्पको संकेत यसमा विशेषगरी युरोपेली राष्ट्रमा प्रयोग हुने मूल्य अभिवृद्धि कर(भ्याट)तर्फ छ ।
युरोपमा भ्याटले अमेरिकानिर्मित सामानको मूल्य बढाउने भएकाले ट्रम्प यसप्रति बेखुस छन् । उनले विगतमा युरोपमा निर्मित सामानमा उस्तै खालको संघीय कर नभएको उल्लेख गरिसकेका छन् । उता विज्ञहरू भने भ्याट विदेशबाट आयात भएका सामानका अतिरिक्त स्थानीय रूपमा बनाइएका सामानमा पनि लाग्ने भएकाले प्रतिस्पर्धा बराबर हुने बताउँछन् ।
– द गार्जियनबाट