
काठमाडौं महानगरपालिका र नवलपरासीको रामग्राम नगरपालिकाले भगिनी सम्बन्ध गाँसेका छन् । मेयर विद्यासुन्दर शाक्यसहितको टोलीले नवलपरासी पुगेर रामग्रामसँग भगिनी सम्बन्ध कायम गरेको हो ।
अब दुई स्थानीय तहले एकआपसमा समन्वय, सहकार्य र साझेदारीमार्फत् सहयोग र अनुभव आदान–प्रदान गर्ने जनाएका छन् । शनिबार काठमाडौंका मेयर शाक्य र रामग्रामका मेयर नरेन्द्रकुमार गुप्ताले भगिनी सम्बन्ध स्थापनाका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । मेयरहरूले मैत्रीपूर्ण तथा दिगो संस्थागत सम्बन्ध स्थापना गर्ने, संस्थागत प्रणालीलाई अझ सुदृढ र सबल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा काठमाडौंका मेयर शाक्यले रामग्रामको धार्मिक तथा पर्यटकीय विकास गर्न ‘कोलिय शान्ति उद्यान’ निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे । मेयर शाक्यले बौद्धदर्शनका दृष्टिले काठमाडौं र रामग्रामकाबीच गहिरो सांस्कृतिक सम्बन्ध रहेको बताए । उनले यो सम्बन्ध स्थापनापछि दुई नगरबीचमा सांगठनिकस्वरूप, संस्थागत संरचना र शासकीय भूमिकालाई सबल, सुदृढ र प्रभावकारी बनाउन एकआपसका अनुभव, कार्यशैली, असल अभ्यास र महत्वपूर्ण उपलब्धि आदान–प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौंले यसअघि विदेशी सहरहरूसँग मात्रै भगिनी स्थापना गर्दै आएको थियो । काठमाडौंले नेपालभित्रै भगिनी सम्बन्ध गाँसेको रामग्राम दोस्रो नगर हो । जुम्लाको चन्दननाथ नगरपालिकासँग यसअघि भगिनी सम्बन्ध कायम भएको छ । काठमाडौंले अहिलेसम्म अमेरिका, चीन, भारत, दक्षिण कोरियालगायत विभिन्न देशका १७ वटा नगरसँग भगिनी सम्बन्ध कायम गरेको मेयर शाक्यले बताए ।
काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले दुई नगरबीच धार्मिक र सांस्कृतिक सम्बन्ध दिगो हुने अपेक्षा गरिन् । रामग्रामकी उपमेयर रम्भा कुँवरले, दुई नगरबीचको आत्मीय सम्बन्धबाट नगरको समृद्धिमा सहयोग पुग्ने अपेक्षा रहेको बताइन् ।