१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o९:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

प्रहरी हत्या घटना : अभियुक्त संक्रमित हुँदा अदालती प्रक्रिया रोकियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:३२:oo

अस्थायी प्रहरी चौकी जुगेडामा कार्यरत दुई प्रहरीको हत्या घटनाका अभियुक्तमा कोरोना संक्रमण देखिएपछि बयान र थुनछेक बहस प्रभावित भएको छ । पक्राउ परेका नौजना अभियुक्तमध्ये एकजनामा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रहरी हत्या घटनामा १० जनाविरुद्ध ज्यानसम्बन्धी मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमार्फत कैलाली जिल्ला अदालतमा पेस भइसकेको छ । ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भएर गत २८ कात्तिकमा अदालतमा फाइल पेस भए पनि संक्रमण देखिएकाले अभियुक्तलाई भने उपस्थित गराउन नसकिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

जिल्ला सहायक न्यायाधिवक्ता सुरबहादुर परियारले अभियुक्त संक्रमित हुँदा मुद्दाको सबै कारबाही प्रक्रिया अहिले रोकिएको जानकारी दिए । थुनामा रहेका सबै अभियुक्त अदालतमा प्रत्यक्ष उपस्थित गराएपछि मात्रै अदालती कारबाहीको प्रक्रिया अगाडि बढ्ने उनले बताए । अदालतमा अभियुक्तसँगको बयानपछि थुनछेक बहस सुरु हुन्छ । एकजनामा संक्रमण देखिँदा सबै अभियुक्तसँगको बयान रोकिएको हो । संक्रमित अभियुक्त अहिले पनि उपचारमा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदलाई गस्तीमा गएका वेला मटर (केराउ) तस्कर समूहले गत १ कात्तिकको राति हत्या गरेको थियो । मटर तस्कर भइरहेका वेला रोक्न खोजेपछि तस्कर समूहले दुवैजनाको हत्या गरी नेपाल–भारत सीमा क्षेत्रमा बग्ने मोहना नदीमा फालेका थिए । प्रहरी सहायक निरीक्षक विकको शव घटना भएको भोलिपल्ट बिहान र जवान साउदको शव त्यसको दुई दिनपछि मोहना नदीमा फेला परेको थियो ।

मुख्य अभियुक्त अझै फरार
प्रहरी हत्या घटनामा १० जनाविरुद्ध मुद्दा दायर भएको छ । त्यसमध्ये नौजना अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनाको मुख्य नाइके भनिएका धनगढी उपमहानगरपालिका– १० का ३५ वर्षीया सुकलाल भनिने अमर राना भने फरार छन् । प्रहरीले खोजी तीव्र पारे पनि पक्राउ गर्न सकेको छैन । 

धनगढी– १० कै पर्कु भनिने ३१ वर्षका रोहित राना, २० वर्षका राजेन्द्र राना, ३० वर्षका चोर भनिने सुरेश राना, २५ वर्षका गब्बर भनिने राजकुमार राना, २२ वर्षका रामनिवास राना, २९ वर्षका टल्लु भनिने दलराम राना, २५ वर्षका गोपाल भनिने रामगोपाल राना र २० वर्षीय रोहित रानालाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको थियो । 

मटर तस्करी रोक्न खोजेपछि हत्या गरेको अभियुक्तले बयान दिएका प्रहरीले यसअघि नै सार्वजनिक गरिसकेको छ । अभियुक्तको बयानका आधारमा तस्करीको मोटरका कारोबारी व्यापारी राजीव गुप्तालाई प्रहरीले गत १८ कात्तिकमा पक्राउ गरेको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार प्रहरी हत्यापछि त्यही राति ५० बोरा मटर तस्करले भारत पुर्‍याएका थिए ।

प्रहरीले सुरुदेखि नै खोजी गरिरहेका सुकलाल भने घटना भएकै रातिदेखि फरार छन् । उनी लुकेको स्थानबारे सुइँको पाएपछि प्रहरीले थुप्रै स्थानमा छापा मारेको थियो । तर, उनी अहिलेसम्म उम्किन सफल भएका छन् । उनी भारतमा लुकेर बसेको प्रहरी स्रोतले बताएको छ ।

स्थानीयका अनुसार सुकलाल भारतको वनकट्टी र सलियापार नाका (जहाँ प्रहरीको हत्या गरिएको थियो) बाट नेपालमा सामान भित्र्याउने र यहाँबाट अवैध रूपमा भारत सामान पठाउने कार्यमा लामो समयदेखि संलग्न थिए । अभियुक्तको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

ad
ad