मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर १० बुधबार
  • Sunday, 24 November, 2024
धनकुमारी सुनार/सुशिला शर्मा
२o७७ मङ्सिर १० बुधबार १o:१७:oo
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मुक्तिको बहस अंश–अंशमा कि समग्रतामा ?

बहस

Read Time : > 6 मिनेट
धनकुमारी सुनार/सुशिला शर्मा
नयाँ पत्रिका
२o७७ मङ्सिर १० बुधबार १o:१७:oo

समानता र अधिकारको बहस अंश–अंशमा होइन, समग्रतामा गर्ने आँट गरौँ 

दशकयता महिलामुक्तिसँग जोडिएका मुद्दा अंश–अंशमा बहसमा छन् । महिला शरीरजनित भाष्य र त्यससँग जोडिएका हिंसाका आयामबारे महिलाले खुलेरै बोल्न र लेख्न थालेका छन् । बहसमा आंशिक पुरुष पनि सहभागी हुन थालेका छन्, जुन सकारात्मक हो ।

यहाँ चर्चा गर्न खोजिएको विषय महिला शरीरजनित सौन्र्दयको भाष्य, यौनहिंसा मनोविज्ञानबारे हो । र, बहसमा आएका छलफलमध्ये सार्वजनिक क्षेत्रमा पुरुष सहकर्मीले पद र शक्तिका आडमा महिलामाथि गर्ने यौन आक्रमणमाथिको छ । त्यसबाहेक काठमाडौंको बौद्घिक र पठित समाजमा छलफल र तात्तातो बहस सिर्जना गर्न सफल यस्ता लेखमध्ये मूलतः केही समययता लेखिएका ‘छुत योनीको अछुत कथा’, ‘योनीको रंग’ आदि समेटिएका छन् । यस्ता बहसले महिला शरीर केवल हाडछाला होइन, सिंगो मानव अस्तित्व हो भन्ने कुराको जनाउ दिन योगदान गर्छ ।

आफूमाथि हुने जुनसुकै हिंसामा प्रतिरोधी भएर महिलाले बोल्नु सुखद सुरुवात हो । तर, यसलाई शासनसत्ताले अँगालेको वैचारिकी र मुलुकको तमाम संरचनात्मक व्यवस्थाबाट पृथक् राखेर हेर्दा समाधानको तहमा कतै नपुग्ने डर पनि त्यत्तिकै प्रबल हुन्छ । भनिरहन परोइन कि महिलामाथि हुने यौनहिंसा गम्भीर उत्पीडन हो, तर महिलाको समग्र मुद्दामध्ये एउटा पक्ष मात्रै हो । तसर्थ आजको महिला उत्पीडनको बहसले महिला मन र शरीरलाई उपभोग्यवादी र वस्तुकरण गर्ने वैचारिकी र त्यसको पक्षपोषण गर्ने संरचनालाई प्रहार गर्नुचाहिँ अनिवार्य सर्त हो । 

महिलाका मुद्दा राजनीतिक हुन् : महिला उत्पीडनका विभिन्न आयामसँगै यसको उन्मूलन कसरी गर्ने भन्नेबारे विभिन्न सैद्धान्तिक अवधारणा छन् । यसमध्येको ‘पर्सनल इज अपोलिटिकल’सम्बन्धी अवधारणा सन् १९६९ ताका विकसित भयो । न्युयोर्ककी र्‍याडिकल महिला आन्दोलनकी एक प्रमुख व्यक्तित्व तथा लेखक क्यारोल हेनिसले ‘व्यक्तिगत भनेको राजनीतिक’ हो भन्ने अवधारणाको नेतृत्व गरिन् । यस अभियानले महिलाका व्यक्तिगत अनुभवलाई सामाजिक र राजनीतिक संरचनाबीच रेखांकित गर्न बल पुर्‍यायो । हरेक सार्वजनिक बहसले महिलाको व्यक्तिगत जीवनमा असर गर्छ । घरेलु र सार्वजनिक क्षेत्र वास्तवमा अलग–अलग होइनन् । यी एकअर्कामा जोडिएका छन् भन्ने कुराको वकालत गर्‍यो ।

हिंसामा प्रतिरोधी भएर महिलाले बोल्नु सुखद सुरुवात हो, तर यसलाई शासनसत्ताले अँगालेको वैचारिकी र मुलुकको तमाम संरचनात्मक व्यवस्थाबाट पृथक् राखेर हेर्दा समाधानको तहमा कतै नपुग्ने डर पनि त्यत्तिकै प्रबल हुन्छ 

‘पर्सनल इज अ पोलिटिकल’ भन्ने अवधारणाले केही पनि व्यक्तिगत र स्वतन्त्र हुँदैन भन्छ । कहाँसम्म भने मान्छेका सोच, व्यवहार, आर्थिक, सामाजिक, सांस्कृतिक सबै । महिला कस्तो बन्ने वा बनाउने, जातको उच्चता र नीचता, वर्गको किटान सबैलाई खास बैचारिकीले नेतृत्व गर्छ । यस्तो अवस्थामा मेरो शरीर र अस्तित्व छुट्टै हो भन्नुको कुनै तुक छ र ? पितृसत्ताको सिद्धान्तले महिलालाई जस्तो बनाउने भनेर अहिलेसम्म प्रशिक्षित गर्‍यो र महिला त्यस्तै बनी । पितृसत्ताको माखेसांग्लो थोरबहुत सामन्तवाद, पुँजीवाद हुँदै अगाडिका वैचारिकीभन्दा प्रगतिशील मानिएको समाजवादकै प्रयोगमा समेत गढेर बसेको देखिन्छ । जसले यसको जब्बरपनलाई प्रदर्शित गर्छ । तसर्थ महिला मुद्दा र मुक्तिको सवाल वर्गीय मुद्दाजत्तिकै वा त्यसभन्दा अझ विशिष्ट छन् भन्ने कुरा छ्यांगै छ । 

खास र विशिष्ट अर्थमा क्षेत्रीय, भाषिक, रंग र जातसँग जोडिएका महिला मुद्दाबाहेकका अधिकांश महिलाका समस्या विश्वव्यापी नै छन् । आजको विश्व समाजमा अपवादबाहेक महिला दोस्रो दर्जाकै नागरिक भई बाँचिरहकै छन् । रूपमा सम्पूर्ण मुद्दा व्यक्ति–व्यक्तिका जस्ता देखिए पनि सारमा यसको जड ऐतिहासिक संरचनात्मक पृष्ठभूमिसँग जोडिएको छ । देशको सामाजिक, आर्थिक र राजनीतिक संरचनासँग प्रत्यक्ष र परोक्ष जोडिएको छ । प्रस्ट छ– वर्तमानमा रजगज गरिरहेको विश्वको पुँजीवादी संरचना र यसको मुठी र इसारामा चलेको नेपाली सत्ताले महिला सौन्र्दयलाई हरसम्भव नाफासँग जोडेको छ ।

दक्षिण एसियाकी नारीवादी कमला भसिन आफ्नो पुस्तक ‘नारीवाद के हो ?’ मा यसलाई परिभाषित गर्दै भन्छिन्– ‘महिलाको संघर्ष भनेको त्यस समाजको स्थापनाका लागि हो, जहाँ महिलालाई निर्वाचनको स्वतन्त्रता होस् । महिला वस्तु होइन र बनाइनु हुँदैन त्यसैले कुनै दिन महिलाले शृंगारिक बन्न र यौन वस्तुको रूपमा चित्रित गरिने सामग्रीको उपयोगविरुद्घ बोल्नेछन् ।’ उनी थप्छिन्, ‘पुँजीवादी बजारमा उत्पादन भएका कस्मेटिक सामग्रीले महिलाको शरीरमा राज गरे । महिलाको इच्छा, चाहना र क्षमतालाई शरीरबाट बाहिर फालिदिए । पुरुष भनेको दिमाग हो र महिला भनेको शरीर मात्र हो भन्ने सोचलाई कस्मेटिक सामग्रीको प्रयोगले अनिवार्य बनाइयो ।’

अस्तित्ववादी अवधारणाकी लेखक सिमोन बोउर भन्छिन्– ‘पुरुषको दृष्टिमा स्वीकृत हुनका लागि महिला सुन्दर हुन चाहन्छे,  किनकि उसलाई त्यसो गर्न उसको हुर्काईले बाध्य गराउँछ र एक स्वाधीन, बौद्घिक महिला पनि त्यो गर्न बाध्य हुन्छे, जबकि ऊ जान्दछे कि यसो गर्दा ऊ एक जीवित मूर्ति मात्र बन्न पुग्छे ।’

मन र शरीरमाथि पितृसत्ताको खेलो : महिला शरीर र मनलाई पितृसत्ताले सधैँ अमूर्त र अभाष्य बनाउँदै आयो । सामाजिक, राजनीतिक र सांस्कृतिक रूपमा महिलाको अस्तित्वलाई चरम दमन गरेर हुर्केको नेपाली समाजको तमाम संरचनाले महिलालाई सिंगो अस्तित्वको रूपमा अझै स्विकार्न सकेको छैन । महिलालाई केवल शरीरका रूपमा परिभाषित गर्ने वस्तुकरणको शृंखला आजको होइन, हजारौँ वर्षको निरन्तरता हो ।

कहिले महिला सम्पूर्ण छोपिई । कहिले अर्धनग्न बनी । र, यी सबै महिलाद्वेषी पुरुष दृष्टिबिन्दुबाट निर्मित चिन्तन र व्यवस्थाले यस्तो बनाएको हो । समयक्रममा महिलाको अन्तरवस्तु ब्रादेखि कट्टुसमेत कस्तो रंग र डिजाइनको लाउने भन्ने विषयलाई बजारले निर्धारण र नियन्त्रण गर्न थाल्यो । महिलाको शरीर कति र कसरी देखाउने भन्नकै लागि करोडौँ खर्चेर गल्ली–गल्लीमा फेसन सो गरिन्छ । पुँजीवादी बजारका लागि महिला एक यौनिक वस्तुबाहेक केही होइन । पुँजीवादी बजारमा अत्यधिक फस्टाएको महिलाको पोर्नोग्राफी उद्योग, जसले मुठीभर व्यक्तिलाई करोडौँ मुनाफा दिइरहेको छ, त्यसको निर्माणमा पनि पूर्ण रूपमा पुरुष दृष्टिबिन्दुबाट रच्ने गरिएको छ । यसको अर्थ यो कदापि होइन कि यसको निर्माण महिला दृष्टिबिन्दुबाट गरिनुपर्छ, तर यसले महिलाको शरीरको, उसको मूल्यको र उनीहरूको मुक्तिको सपनालाई छिन्नभिन्न पारिरहेको छ । 

महिला स्वतन्त्रतालाई पुँजीवादी संरचना र बजारले नारीदेहसँग जोडिदिएको छ । त्यही संरचनाभित्र उपलब्ध वस्त्र, पहिरन, रंगरोगनलाई आफ्नो इच्छाअनुसार उपयोग गर्नु या प्रदर्शन गर्नु नै महिला स्वतन्त्रताको मानक बनाइएको छ । आधुनिक भनिएका बहुसंख्यक महिलाले कुनै प्रश्नविना यसको प्रयोग गर्दै आएका छन् । अमेरिकी स्किन स्टोरले गरेको अध्ययनअनुसार एउटी अमेरिकी महिलाले आफ्नो जीवनकालमा औसत तीन लाख डलर आफ्नो छालालाई सुन्दर बनाउने कस्मेटिक क्रिममा खर्च गर्छिन् । अमेरिकन महिलाहरूले बिहानको समयमा अनुहारमा १६ प्रकारका मेकअप प्रयोग गर्छन् र संसारभरका कस्मेटिक प्रशाधनको उत्पादन गर्ने कम्पनीहरूले वार्षिक १.७ खर्ब आम्दानी गर्छन् । यसको व्यापारमा युरोप अग्रपंक्तिमा छ । दक्षिण एसियामा जापानबाट मात्रै ८२.१ प्रतिशत सौन्दर्य प्रशाधन आयात हुन्छ । 

फेयर एन्ड लब्ली र गोरो बनाउने क्रिमको ठूलो खपत हुने एसियामा महिलालाई सुन्दर बनौँ भन्ने विज्ञापनको बजारले विभिन्न उपक्रमहरू बेच्छ । दक्षिण एसियामा भारतलगायत मुलुकका कम्पनीले महिलालाई गोरो र उज्याली गराउने भन्दै विभिन्न मोडेलको प्रयोगद्वारा करोडौँ खर्च गरेर विज्ञापन गर्छन् । गोरो हुनु भनेको सिंगो जीवनलाई नै समृद्घ बनाउनु हो भनेजसरी विज्ञापन बहुराष्ट्रिय कम्पनीले प्रवाह गरिरहेका छन् । तर, अध्ययनले देखाएअनुसार महिलालाई उज्यालो र गोरो बनाउने प्रशाधनमा टल्कने सिसा (मरकरी) को प्रयोग अत्यधिक गरिन्छ । डब्लुएचओका अनुसार यस्ता उत्पादनको प्रयोगले व्यक्तिको मिर्गौला, आन्द्रा र छालामा क्यान्सरजस्ता रोग लाग्ने सम्भावनालाई यसले बढाइदिएको छ । 

पितृसत्ताले निर्माण गरेको डोकोभित्र कसिकसाउ गरिएको महिला विवेक र स्वतन्त्रताले वास्तविक अर्थमा महिला समानता र स्वतन्त्रताको मुक्ति सम्भव हुँदैन । तर, वर्तमानमा कतिपय पठित र चतुर महिला सामन्तवादमा रहेको कुसंस्कृतिलाई पूर्वीय संस्कृति र सभ्यताको लेप लाउँदै त्यसैको निरन्तरतामा मख्ख छन् । अर्कोतिर पुँजीवादी महिला स्वच्छन्दतालाई आधुनिकताको सनातनी नाम दिएर कुहिराको काग बनेका छन् । उल्लिखित दुवै अवधारणामा महिला आन्दोलन वा अगुवाहरू यसरी रुमल्लिँदा फाइदा फेरि पनि पितृसत्तालाई नै छ ।

मुक्तिको आयतनभित्र भ्रमित खेती : आजको महिलामुक्तिका प्रश्नहरू के–के हुन् ? युवापुस्ताले महिला स्वतन्त्रता भनेको यौनिक स्वतन्त्रता र व्यक्ति स्वतन्त्रताको नाममा स्वच्छन्दवादमा सीमित गर्न खोज्दै छ । सम्मानित र स्वायत्त महिला जीवनका लागि सामाजिक, आर्थिक र राजनीतिक सबै कुरा आवश्यक छन् । विडम्बना भन्नुपर्छ, कतिपय वेला महिलाका मूल मुद्दालाई विभिन्न नाममा विषयान्तर गरिँदै छ । कहिले महिला मुद्दा सामाजिक र सांस्कृतिक मात्र हो जस्तो गरेर चित्रित गरिन्छ भने कहिले सीमित कोटामा आरक्षण दिनु–लिनुजस्तो मात्र गरेर प्रस्तुत गरिन्छ । कहिलेकाहीँ महिला मुद्दालाई नितान्त व्यक्तिवादी र सनकको विषयजस्तो गरेर हौवा बनाइन्छ ।

झन्डै १४ वर्षअघि काठमाडौंमा ‘चरित्रहीन चेली’ नामक भूमिगत संस्था गठन भएको विषयले केही समय तरंग ल्याएको थियो । यो संस्थाले ४ मार्च २००५ मा कान्तिपुर दैनिकमा ४० बुँदे घोषणापत्र सार्वजनिक गरेको थियो । त्यसको दुई वर्षपछि २४ फेब्रुअरी २००७ मा ‘झन् चरित्रहीन चेली’ सार्वजनिक भयो । ०६७ मा सोही प्रकृतिको ‘फुलनदेवी’ समूह देखा परेको थियो । सर्सर्ती हेर्दा यी तिनै समूह महिलामाथि हुने सबैखाले संरचनात्मक विभेदहरू निर्मूल गर्न चाहन्थे, तर कसरी र कुन विचारधाराबाट भन्ने कुरा अस्पष्ट मात्रै होइन, उनीहरूले अंगीकार गर्ने प्रस्तावित विधि पनि लहडबाजीमा आएको थियो भन्न सकिन्छ ।

अमेरिकी स्किन स्टोरले गरेको अध्ययनअनुसार एउटी अमेरिकी महिलाले आफ्नो जीवनकालमा औसत तीन लाख अमेरिकी डलर आफ्नो छालालाई सुन्दर बनाउने कस्मेटिक क्रिममा खर्च गर्छिन् । अमेरिकन महिलाहरूले बिहानको समयमा अनुहारमा १६ प्रकारका मेकअप प्रयोग गर्छन् ।

यौन स्वतन्त्रताको माग प्राथमिकतामा राखेका यी समूहको मूलतः आक्रोशको तारो पुरुष बनेका थिए । पुरुषले गर्ने तमाम गलत कामहरू महिलाले पनि गर्न पाउनुुपर्छ भनेजस्तो गरीका माग यिनीहरूको प्रमुख मुद्दा थिए । आवश्यक परे महिला हिंसा गर्नेविरुद्घ भौतिक रूपमा आक्रमण गर्दै तह लगाउने उनीहरूको कार्यक्रम थियो । सुन्नमा आएअनुसार काठमाडौंका सामाजिक रूपमा प्रभावशाली र कुलीन महिलाहरू यस समूहमा सहभागी थिए । तर, भूमिगत रूपमा घोषणा गरिएका यस्ता लहडबाजी कुनै गतिविधि नगरी गुमनाम भए ।

निष्कर्ष : सय वर्षको राजनीति र महिला आन्दोलनलाई नजिकबाट नियाल्दा देखिएको परिदृश्य के हो भने नेपाली समाजमा महिला उत्पीडनका विभिन्न पक्षलाई सम्बोधन गर्ने मामलामा उदार भनिएका पुँजीवादीहरू चरम अनुदार देखिए । सात दशककै पृष्ठभूमि भएको माक्र्सवादी धारले पनि महिला मुद्दामा क्रान्तिकारी परिवर्तन गर्न वृहत्तर विमर्श गर्न खोजिरहेका छैनन् । रमाइलो त के छ भने समाजको नीति निर्माणको अग्रभागमा रहेका महिला अगुवा पनि आज मुक्तिको विकल्पमा सजिलो र चोरबाटो अँगाल्न आतुर छन् । उनीहरू समाजवादी महिला मुद्दालाई सम्बोधन गर्न र अध्ययनमा घोत्लिने दुःख गर्न चाहँदैनन्, बरु पुरुष नेताको कृपाले प्राप्त गरेको पद र पैसाको शक्तिमा कठपुतली बन्ने दौडमा सहभागी हुन रुचाउँछन् । 

अन्ततः तमाम शोषित–पीडित महिलाका लागि यो समयको आवश्यकताअनुसार सर्वोत्कृष्ट विचारसहितको नेतृत्व अहिलेको पुस्ताले नै गर्ने हो । धेरै वर्षअघि यो पंक्तिकारलाई कमला भसिनको ‘संगत अभियान’को चेली बन्ने अवसर जुटेको थियो । कमला दिदीसँगको एउटा अन्तरंग प्रसंग सम्झन्छु । उनले ‘नेपालमा वास्तविक नारिवादी महिला नै छैनन्’ भनेकी थिइन् । अहिले यसबारे कमला दिदीको अवधारणा फेरियो कि फेरिएन, संवाद गर्न पाइएको छैन । तर, हालसालै कमला दिदीले नेपाली महिला नेताहरूलाई सम्बोधन गर्दै पोते र सिन्दुर लाएर महिला अधिकारको कुरा नगर्न आह्वान गरेको सम्झन्छु । महिला उत्पीडनका मुद्दामा विभिन्न आयामबाट खुलेर सशक्त बहस गरौँ, समानता र अधिकारको बहस अंश–अंशमा होइन, समग्रतामा गर्ने आँट गरौँ ।