१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
डा. शरद वन्त
२o८१ बैशाख २३ आइतबार o८:२९:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

कोभिडको प्रकोपमा नागरिक दायित्व

विश्वमा सरकार गैरजिम्मेवार हुँदाहुँदै पनि नागरिकहरू जिम्मेवार बनेर सुरक्षित रहेका उदाहरण पनि छन्

Read Time : > 5 मिनेट
डा. शरद वन्त
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:२९:oo

कोभिड महामारी सुरु भएको एक वर्ष पुग्नै लाग्दा आज विश्वका सबैजसो देशको भिडबाट प्रभावित भएर प्रकोपको विभिन्न चरणबाट गुज्रिरहेका छन् । यी देशले कोभिडको महमारीलाई आ–आफ्नै  ढंगबाट व्यवस्थापन गरेका छन् र विभिन्न स्तरमा प्रभावित भएका छन् । केही देश कोभिड संक्रमणलाई समयमै नियन्त्रण गरेर महामारीको प्रभावलाई न्यून राख्न सफल भएका छन् भने केही देशमा संक्रमण व्यापक भएर धेरै क्षति व्यहोर्नुपरेको छ । नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या तुलनात्मक रूपमा कम भए पनि संक्रमितको संख्याको आधारमा भने विश्वमा नेपाल आजको दिनमा ३६औँ स्थानमा उक्लिसकेको अवस्था छ ।

नेपालजस्तो सानो देशका लागि यो संक्रमणको उच्च विस्तारको संकेत हो । जनसंख्याको आधारमा हेर्ने हो भने पनि नेपालको संक्रमणको दर एसियाका अधिकांश देशहरूको भन्दा उच्च नै छ । पछिल्ला केही दिनमा नयाँ संक्रमितको संख्या घटेको छ, यो संक्रमण नै कम भएर हो वा यो अवधिमा चाडपर्वको कारणले गर्दा परीक्षण नै थोरै भएर हो, अहिले नै यकिनका साथ निक्र्योल गर्न सकिँदैन । साथै, यति वेला संक्रमणबाट मुक्त हुनेहरूको संख्या पनि बढ्दै छ– यो खुसीको कुरा हो, यसले संक्रमितको व्यवस्थापनलाई सहज बनाउँछ । तर, यथार्थ के हो भने नेपालमा अझै कोभिड संक्रमण रोकिएको छैन । हामी संक्रमणको जोखिममा छौँ ।

संक्रमणको जोखिम कहिलेसम्म ?: कोभिड भाइरसको जैविक गुणकै कारण प्राकृतिक रूपमै संक्रमण कहिले घट्छ या रोकिन्छ– यो अहिलेसम्म विज्ञानले पनि स्थापित गर्न सकेको छैन । कोभिड भाइरसविरुद्ध विभिन्न देशमा भएका खोपको विकासले केही आशा जगाएको भए पनि यो आजसम्म प्रयोगशालामै सीमित छ भने पनि हुन्छ । प्रयोगका लागि कहिले तयार हुन्छ, कहिले यो खोपले आधिकारिक मान्यता पाएर उत्पादन सुरु हुन्छ र बजारमा आउँछ– त्यसका पनि विभिन्न अड्कलबाजी भइरहेका छन् ।

हामी आशावादी त हुनैपर्छ, कुनै दिन कोभिडविरुद्धको खोपमा हाम्रो पनि पहुँच हुनेछ । तर, त्यो खोप हाम्रो दैलोसम्म आइपुग्न थुप्रै बाधा अड्चनहरूलाई छिचोल्नुपर्ने हुन्छ । समयको हिसाबले त्यो कहिले सम्भव होला, अहिल्यै अनुमान गर्न सजिलो छैन । खोप उपलब्ध भएकै खण्डमा पनि कोभिड संक्रमणका सावधानीहरू अपनाउनुपर्नेबारे विश्व स्वास्थ्य संगठनलगायत विज्ञहरूले संकेत गरिसकेका छन् । त्यसैले नागरिक सुरक्षामा अलिकति पनि सम्झौता नगर्ने हो, जबसम्म संक्रमण रोक्ने जनस्वास्थ्यका प्रावधान आमजनतामा प्रभावकारी ढंगबाट कार्यान्वयन हँुदैन, तबसम्म संक्रमणको जोखिम रहिरहन्छ भन्ने मान्यता राख्नुपर्छ । 

नागरिकको दायित्व :  नेपालमा कोभिड १९ को संक्रमण सुरु भएपछि ढिलै भए पनि सरकारले व्यक्त गरेको प्रतिबद्धता र अवलम्बन गरेका नीति, योजना तथा कार्यक्रमका बाबजुद देशमा संक्रमण निरन्तर विस्तार भइरहेको छ । विभिन्न देशका अनुभवबाट र तार्किक हिसाबले पनि सरकारको एकल प्रयासबाट मात्रै यो संक्रमणलाई नियन्त्रण गर्न सकिन्न भन्ने स्पष्ट भएको छ ।

कोभिडविरुद्धको यो लडाइँमा आमनागरिकको जिम्मेवारीपूर्ण सक्रिय भूमिका अपरिहार्य छ । त्यसैले कोभिडको संक्रमणलाई नियन्त्रण गरेर यसको प्रभाव र पीडालाई दीर्घकालीन रूपमा कम गराउन प्रत्येक नागरिकले आफ्नो भूमिका निर्वाह गर्ने वेला भइसकेको छ । यो पनि स्पष्ट हुनु अत्यन्तै जरुरी छ– यहाँ नागरिकको दायित्वबारे विवेचना गरिरहँदा सरकारको दायित्व र जिम्मेवारीको अवमूल्यन गर्न खोजिएको होइन र सरकारलाई उसको दायित्व र जिम्मेवारीबाट उन्मुक्ति दिन खोजिएको पनि होइन ।

अभिभावकत्व ग्रहण गरेर महामारीबाट नागरिकलाई बचाउने र नागरिकको सुरक्षाको पहिलो दायित्व सरकारकै हो । समस्याको जटिलता र नागरिकको पीडासँगै सरकारको जिम्मेवारीमा अझै वृद्धि हुने पनि स्पष्ट नै छ । नागरिकलाई आफू जिम्मेवार बन्न उत्प्रेरणा दिने, त्यसका लागि अनुकूल वातावरण बनाइदिने र आवश्यक सहयोग गर्ने दायित्व पनि जिम्मेवार सरकारको हुन आउँछ नै । तर, नागरिकको सक्रिय सहभागिताविना सरकारले यो जिम्मेवारी निर्वाह गर्न सक्दैन । नागरिकको सक्रिय सहभागिता नभए सरकारको यो जिम्मेवारी अर्थपूर्ण पनि हुँदैन । विश्वमा सरकार गैरजिम्मेवार हुँदाहुँदै पनि नागरिकहरू आफ्नो दायित्वपूर्ण भूमिकाको अभ्यास गरेर सुरक्षित रहेका उदाहरण पनि छन् । त्यसैले नागरिकको व्यक्तिगत तथा सामूहिक भूमिका संक्रमणबाट सुरक्षित रहन अपरिहार्य हुन गएको हो । 

हाम्रो सन्दर्भमा हामीले सरकारको भूमिका, नीति, कार्यक्रम, कार्यान्वयन, व्यवस्थापन आदिका बारेमा सरकारको सकारात्मक तथा कमजोर पक्षहरूको थुप्रै विश्लेषण, मूल्यांकन एवं आलोचनात्मक टिप्पणीहरू गरेका छौँ । सडकबाट, सञ्चार माध्यमबाट र विविध स्रोतहरूबाट सरकारलाई जनताको सरोकारको आवाज सम्प्रेषण भइरहेको छ । त्यसबाहेक सम्मानित सर्वोच्च अदालतले समेत नागरिकको स्वास्थ्य अधिकारप्रति जिम्मेवार हुन सरकारलाई निर्देशन दिएको छ । तर, कोभिडको सन्दर्भमा नागरिकको जिम्मेवारीबारे पर्याप्त बहस हुन सकेको छैन ।

महामारीका सुरुका दिनमा कोभिडबारे धेरै ज्ञान थिएन, आमनागरिकमा सूचना प्रवाह हुन सकेको थिएन । संक्रमणको जोखिमबाट बच्ने उपायबारे धेरैजना अनभिज्ञ र अन्योलमा थिए । थाहा हुनेहरूलाई पनि सुरक्षाका साधन बजारमा उपलब्ध थिएनन् । त्यति वेला अन्य देशमा फैलिएको संक्रमण र मृत्युका खबरले धेरै मानिस कोभिडबाट त्रसित र आतंकित हुन पुगे । नेपालमा कोभिडको संक्रमण क्रमशः विस्तार हुँदै घरदैलोमै आइपुगेपछि र धेरै संक्रमित निको भएको देखेपछि हाम्रो मनोबल पनि बढेको छ । कोभिडलाई जित्न सकिने आत्मविश्वासमा वृद्धि भएको छ । यसलाई एउटा पाटोबाट सकारात्मक रूपमा लिइनुपर्छ । तर, यो आत्मविश्वास गैरजिम्मेवारीपन र लापर्बाहीमा रूपान्तरण भयो भने अत्यन्तै दुःखपूर्ण हुनेछ । कोभिड केही होइन भन्ने मानसिकताले हामीले कल्पनै गर्न नसकिने तहमा संक्रमणको जोखिम बढाउँछ । 

नागरिकको जिम्मेवारी महामारीको प्रत्येक क्षण महत्वपूर्ण नै हुन्छ, तापनि यतिवेला यसबारे गम्भीर सरोकारपूर्ण बहस गर्नुपर्ने कारण छन्– पहिलो कुरा, समुदायमा स्थापित संक्रमणको गति रोकिएको छैन, दोस्रो, मानिसहरूको चलायमानता, सम्पर्क र गतिविधिहरूमा उल्लेख्य वृद्धि भएको छ र तेस्रो, मानिसहरूमा सुरक्षाका उपायको अभ्यास सन्तोषजनक छैन । त्यसबाहेक सरकारले पनि संक्रमण नियन्त्रण गर्ने धेरै भार नागरिककै काँधमा बिसाएकोजस्तो आभास हुन थालेको छ ।

त्यसैले, प्रकोपको यो घडीमा हामी सबैले व्यक्तिगत रूपमा या सामूहिक रूपमा जिम्मेवारी बहन गर्नैपर्छ । नागरिकको जिम्मेवारी के हो ? नागरिकले गर्ने के ? महामारी प्रकोपको वेला नागरिकको जिम्मेवारीलाई विभिन्न कोणबाट हेर्न सकिन्छ । संक्रमणको जोखिमलाई न्यून गराएर भाइरसको विस्तारलाई नियन्त्रण गर्ने सन्दर्भमा नागरिकका पनि जिम्मेवारी हुन्छन् ।

 आफ्नो  र अरूको सुरक्षाको जिम्मेवारीबोध : प्रत्येक नागरिकले कोभिड संक्रमणको जोखिमबाट सुरक्षित रहने सबै प्रावधानको इमानदारीसाथ कार्यान्वयन र अभ्यास गर्नुपर्छ । आफ्नो  सुरक्षाका लागि नागरिक आफैँ जिम्मेवार हुनुपर्छ । हाम्रो आफ्नै लापर्बाहीले हामी संक्रमणको जोखिममा पर्ने हो । संक्रमणबाट सुरक्षित रहन झन्डै विगत एक वर्षदेखि भन्दै आएको आधारभूत विधि– मास्कको प्रयोग, भौतिक दूरी र हातको सफाइको इमानदारिताका साथ पालना गर्नुपर्छ । यसलाई अरूका लागि गरिदिने होइन, कसैको आदेश पालना गर्नका लागि होइन, आफ्नै सुरक्षाका लागि हो भन्ने आत्मसात् गर्नुपर्छ ।

नागरिकले विपत्को यो वेला आफ्नो मात्रै नभएर आफ्नाे परिवारका सदस्य, छरछिमेकी र समुदायको सुरक्षाको जिम्मेवारीको बोध पनि गर्नुपर्छ । उनीहरूलाई आवश्यक सूचना प्रवाह गर्ने, संक्रमण रोक्ने उपाय र विधिबारे सल्लाह सुझाब दिने र ती विधिहरू अभ्यास गर्न प्रोत्साहन गर्नु पनि नागरिक दायित्वकै एउटा पाटो हो । 

महामारी, प्रकोपको वेला नागरिकको जिम्मेवारीलाई विभिन्न कोणबाट हेर्न सकिन्छ । संक्रमणको जोखिमलाई न्यून गराएर भाइरसको विस्तारलाई नियन्त्रण गर्ने सन्दर्भमा नागरिकका पनि जिम्मेवारी हुन्छन् । 
 

सुरक्षा विधिको पालना गर्दागर्दै कथंकदाचित संक्रमण भइहाल्यो भने त्रस्त र भयभीत नभई होसियारीसाथ संक्रमणको व्यवस्थापन गर्नुपर्छ । कोभिडको संक्रमण भएपछि अब केही गर्न सकिन्न भनेर निराश र चिन्तित हुनुपर्दैन । साथै, कोभिड केही पनि होइन, यो आफैँ जान्छ भनेर बेवास्ता गर्न पनि हुँदैन । सही तरिकाले व्यवस्थापन गर्दा कोभिड निको हुन्छ, लापर्बाही गरे गम्भीर जटिलता आउन पनि सक्छ । आफूबाट अरूलाई संक्रमण हुन नदिन जिम्मेवारीपूर्ण सतर्कता अपनाउनु पनि नागरिकको महत्वपूर्ण दायित्व हो । विक्रेताले ग्राहकलाई, यातायात व्यवसायीले यात्रुलाई, कर्मचारीले सेवाग्राहीलाई सुरक्षित रहन सहयोग गरेर यो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।

संक्रमितविरुद्ध हुने सामाजिक विभेदको विरोध र संक्रमितलाई सहयोग पनि हामी नागरिककै दायित्व हो । दुःखको कुरा समाजमा संक्रमितमाथि मात्रै होइन, कोभिड संक्रमणको जोखिममा रहेकाहरूको प्रति समेत सामाजिक भेदभाव हुने गरेको छ । यस्तो भेदभावले संक्रमितहरूको मनोबल घटाउँछ, जुन संक्रमितका लागि मानसिक रूपमा अत्यन्तै पीडादायी हुन्छ ।

रोगले चिन्तित बनाएको संक्रमितलाई सामाजिक विभेदले अझै चिन्ता थपिदिन्छ । जुन अन्य थुप्रै समस्याको कारण बन्न सक्छ । त्यसैले कोभिड संक्रमितहरूलाई हुने सामाजिक विभेदको विरुद्ध सशक्त आवाज उठाउनु जिम्मेवार नागरिकको दायित्व हुन आउँछ । संक्रमितलाई सामाजिक, आर्थिक मानसिक तथा स्वास्थ्यका समस्या परेको हुन सक्छ । हाम्रो सानो सहयोगले पीडामा परेकालाई ठूलो राहत पुग्न जान्छ । संक्रमणको कारणले अप्ठेरोमा परेका समुदाय वा छिमेकका कसैलाई पनि सहयोग गर्नु प्रत्येक नागरिकको नैतिक दायित्व हो । 

सरकारको निगरानी : कोभिड संक्रमणको जोखिमबाट सुरक्षित हुने तथा संक्रमित भएमा आवश्यक सेवा पाउने नागरिकको हकप्रति राज्यको दायित्वबारे सरकारलाई सचेत बनाउनु पनि नागरिकको दायित्व हो । सरकारले आफ्नो जिम्मेवारीलाई निर्वाह नगरेर नागरिकको स्वास्थ्यको हकप्रति उदासीन भएको कारणले कसैले दुःख पाउनु हुँदैन । त्यसैले निजी रूपमा वा पेसागत रूपमा, व्यक्तिगत वा सामूहिक रूपमा सरकारको नीति, कार्यक्रम तथा व्यवस्थापनको निगरानी गर्नु, आवश्यकताअनुसार सरकारलाई नागरिकका हक र सरकारको दायित्वबारे सचेत गराउनु पनि नागरिक दायित्वको अभिन्न पाटो हो ।

नागरिक अभियानको पहल : नागरिक दायित्वको भूमिकालाई आत्मसात् गरेर पिपुल्स हेल्थ मुभमेन्ट नेपाल, नेपाल जनस्वास्थ्य संघ, नेपाल व्यावसायिक पहल र नेपाल चिकित्सक संघले संयुक्त रूपमा नागरिक दायित्वको सचेतनाका लागि काठमाडौं र ललितपुरका केही व्यापारिक केन्द्रहरूमा स्वयंसेवकहरू परिचालन गरेर नागरिक अभियानको सुरुवात गरेका छन् । यो अत्यन्तै सकारात्मक पहल हो । यस अभियानलाई स्थानीय सरकार, व्यापार व्यवसायी र अन्य सरोकारवालाहरूले आवश्यक सहयोग गरेर स्वामित्व लिएमा केही सकारात्मक परिणामको आशा गर्न सकिन्छ । 

ad
ad