कन्काई माई नदीमा अलमलिएको पुल : झापाको शिवसताक्षी नगरपालिका– ७ को वडा कार्यालयसँग लालपानी गाउँलाई जोड्ने कन्काई माई नदीमा ६४४.२० मिटरको सस्पेन्सन ब्रिज बनाउन ठेक्का लागेको चार वर्ष पूरा हुन लाग्यो ।
०७९ असार मसान्तसम्म सक्ने गरी ३१ असार ०७७ मा ठेक्का लिएको पशुपति–हरिहरि जेभीले प्रगतिका नाममा दुईतिर पिलर ठड्याउनेबाहेक थप केही गरेको छैन । सात करोड ८१ लाख लागतको पुलको म्याद थपेको समय (आगामी असार मसान्त) सकिन पनि अढाई महिना मात्रै छ ।
म्याद थपेको अवधिमा समेत कुनै काम भएन । वडाध्यक्ष भवानीविक्रम चेम्जोङका अनुसार लालपानीका करिब तीन सय घरधुरी चन्द्रडाँगीस्थित वडा कार्यालय पुग्न हिउँदमा बाँसको पुलको भर पर्छन्, बर्खामा त उर्लिएको माईले पूर्ण रूपमा सम्बन्ध विच्छेद नै गराउँछ ।