मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार १०:०८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नक्कली पिसिआर रिपोर्टका यात्रु ल्याएको भन्दै निगमको उडान नै प्रतिबन्ध लगाउने दुबई विमानस्थलको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार १०:०८:००

हङकङमा दुईपटक प्रतिबन्ध खाएको निगमलाई नक्कली रिपोर्टका यात्रु ल्याएको भन्दै दुबई विमानस्थलले निगमको उडान नै प्रतिबन्ध लगाउने चेतावनीको पत्र पठाएको छ 

नेपालबाट जाने यात्रुको कोरोना परीक्षणमा लापरबाही गरेको भन्दै नेपाल वायुसेवा निगमलाई दुबईको विमानस्थल प्रशासनले उडान नै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । कोरोना परीक्षणका नक्कली रिपोर्ट बोकेका यात्रु ओसारेको भन्दै हङकङ विमानस्थलले पनि निगमलाई दुईपटक प्रतिबन्ध लगाइसकेको छ । हङकङले लगाएको प्रतिबन्ध बुधबारबाट मात्रै खुल्दै छ । 

निगमले गरेको पहिलो उडानमा ५ जना यात्रुमा कोरोना पोजेटिभ देखिएपछि हङकङले १५ दिन प्रतिबन्ध लगाएको थियो । त्यस्तै, दोस्रोपटक पुनः ७ जना यात्रुमा पोजेटिभ देखिएपछि मंगलबारसम्मका लागि दोस्रो प्रतिबन्ध लगाएको थियो । जसका कारण निगमले हङकङ उडानमा मात्रै २७ करोडभन्दा धेरै आम्दानी गुमाइसकेको छ ।

केही दिनअगाडि दुबईले पनि प्रतिबन्ध लगाउने चेतावनीसहितको पत्र निगमलाई पठाएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए । ‘ल्याबहरूले नेगेटिभ रिपोर्ट दिएपछि सोहीअनुसार यात्रुहरू लैजाने गरेका छौँ, त्यहाँ गएर परीक्षण गर्दा केहीको पोजेटिभ देखिएपछि निगमलाई समस्या भएको छ,’ पौडेलले भने । 

निगमले दुबईमा सातामा सातवटै उडान गरिरहेको छ । यता हङकङमा भने सातामा तीन उडान गर्दै आएको थियो । ‘हङकङको बल्ल बुधबारबाट फुकुवा हँुदै छ, फेरि पनि रिपोर्ट पोजेटिभ देखियो भने निगमलाई समस्या हुन्छ, हामीले ल्याबको रिपोर्टलाई विश्वास गर्नैपर्‍यो,’ पौडेलले भने । 

अक्टोबर ४ मा हङकङले नेपाल एयरलाइन्सलाई उडान गर्न प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध १७ अक्टोबरसम्म जारी गरेको थियो । १७ अक्टोबरमा प्रतिबन्ध फुकुवा भएसँगै पुनः निगमले २ वटा काठमाडौं–हङकङ उडान गरेको थियो ।  तर, फेरि हङकङले निगमबाट आएका यात्रुमा कोरोना देखिएको भन्दै २० अक्टोबरबाट उडानमा प्रतिबन्ध जारी राखेको छ ।

उक्त प्रतिबन्ध नोभेम्बर ३ सम्म रहेको छ । अब बुधबारबाट पुनः उडान गर्न लागेको पौडेलले जानकारी दिए । ल्याबले नै रिपोर्ट बिगारेर दिए कि भन्ने आशंका उत्पन्न भएको समेत उनको भनाइ छ ।