१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ कार्तिक १७ सोमबार ०४:५४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्ने निर्णयमा जसपाको असहमति

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १७ सोमबार ०४:५४:००

धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले नेपाल खानेपानी संस्थान धरान शाखालाई धरान खानेपानी बोर्डमा ल्याउने निर्णयमा जनता समाजवादी पार्टीले असहमति जनाएको छ । 

केही दिनअघि बसेको उपमहानगरको कार्यपालिका बैठकले यही २६ कात्तिकमा मर्ज गर्ने निर्णय गरेको थियो । निर्णयलाई कार्यान्वयन गरे आन्दोलन गर्ने जसपाले जनाएको छ । एडिबीले लगानी गरेको धरान खानेपानी आयोजनामा अपारदर्शिता, जवाफदेहिताको विषयमा विरोध भइरहेको वेला तत्काल संस्थानलाई बोर्डमा मर्ज नगर्न जसपाले ध्यानाकर्षण गराएको छ । 

धरान खानेपानी आयोजनाले प्रतिदिन जमिनको भूमिगत स्रोतबाट सातवटा नयाँ वेलमार्फत पानी उत्पादन गरी रिजरभ्वायरमा ९२ लाख लिटर पानी जम्मा गर्ने जनाएको छ । त्यो र धरान खानेपानी शाखाले उत्पादन गरिरहेको करिब एक करोड २० लाख २० हजार लिटर पानी गरेर जम्मा दुई करोड १२ लाख २० हजार पानी वैज्ञानिक वितरण प्रणालीमार्फत २८ हजार धारामा वितरण गर्ने योजना छ । जसमा दैनिक न्यूनतम १६ घन्टा सात मिटरको प्रेसरमा पानी वितरण गर्ने प्रतिबद्धता जनाएको छ । 

तर, हाल धरान खानेपानी आयोजनाले उत्पादन गर्ने सातवटा नयाँ वेलबाट उत्पादन भएको पानी विभिन्न समयमा अनुगमन तथा मूल्यांकन गर्दा ६३–६४ लाख लिटर पानी मात्र रिजरभ्वायरमा जम्मा भएको पाइएको जसपा नगर अध्यक्ष ताजुक लिम्बुले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

धरान खानेपानी आयोजनाप्रति धराने जनताको विश्वास, आशा, भरोसा गुमेको र आयोजनामा भ्रष्टाचार तथा अनियमितता भएकाले विज्ञहरूको समिति बनाएर छानबिन गर्नुपर्ने माग गरेको छ । समितिले बुझाएको प्रतिवेदनपश्चात् मात्र नेपाल खानेपानी संस्थान धरान शाखालाई धरान खानेपानी बोर्डमा मर्ज गर्न उनीहरूको माग रहेको छ ।