महानगरीय ट्राफिक प्रहरी महाशाखाले अघिल्लो महिनाबाट सञ्चालनमा ल्याएको अनलाइन सेवा प्रभावकारी देखिएको छ ।
घरबाटै सेवा लिन सेवाग्राहीहरू अभ्यस्त हुन थालेका छन् । एक महिनामा दुई हजार पाँच सयभन्दा बढीले अनलाइनबाटै सेवा प्राप्त गरिसकेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
सवारीसाधन र त्यसका कागजातको सिफारिसका लागि महाशाखा धाउनुपर्ने बाध्यता हटाउँदै सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यले महाशाखाले गत असोज ५ गतेदेखि घरबाटै अनलाइन फाराम भरेर सेवा लिन पाउने व्यवस्था मिलाएको थियो ।
प्रमुख ढकालका अनुसार हराएको लाइसेन्स, बिलबुक र अनुमितका लागि धेरै दिन लगाएर सेवाग्राहीले ट्राफिक प्रहरी कार्यालयबाट सेवा लिने गरेका थिए ।
दैनिक दुई सयको हाराहारीमा सेवाग्राहीले महाशाखामा हराएको सिफारिसका लागि आवेदन दिने गरेकोमा हालसम्म अनलाइनमार्फत एक हजार तीन सय ८४ जनाले लाइसेन्स, एक हजार ६९ जनाले बिलबुक र ४७ जनाले परमिट हराएको भनेर अनलाइनमार्फत निवेदन दर्ता गराएका माहशाखाले जनाएको छ ।
त्यसमध्ये एक हजार सात सय १० जनालाई अनलाइनबाटै सिफारिस दिइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकरी दिए ।
उनका अनुसार बागमती प्रदेशबाहेक अन्य प्रदेशमा दर्ता भएका तथा पूर्ण विवरण नभरेको, दोहोरो निवेदन दिएका सात सय ९० निवेदन फिर्ता गरिएको छ ।
महाशाखाले असोज १८ बाट हराएका सवारीसाधनको निवेदन र सिफारिस पनि अनलाइनबाटै दिने व्यवस्था मिलाएको छ ।
अनलाइनबाट दुवै सेवा लिन महाशाखाको वेबसाइट ट्राफिक डट नेपाल पुलिस डट जिओभी डट एनपीमा गएर अनलाइन एप्लिकेसनमा क्लिक गर्नुपर्नेछ ।
त्यसभित्र ‘लस्ट डकुमेन्ट एप्लिकेसन’ र ‘लस्ट भेइकल एप्लिकेसन’ गरी दुईवटा अप्सनमा गएर आफ्नो समस्याअनुसारको निवेदन दिन सकिनेछ ।
उपत्यकामा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्य सेवालाई समेत प्रविधिमैत्री बनाउन थालिएको छ । सोही अभियानअन्तर्गत विगत नौ वर्षदेखि बिग्रिएर बसेको यहाँको २४ स्थानका ट्राफिक बत्ती सञ्चालन भएका छन् ।
यस्तै सर्भिलेन्स भेइकल्स, राडर गन, ब्रेथलाइजरको समेत अधिकतम उपयोग गरी ट्राफिक नियम उल्लंघनविरुद्धसमेत कारबाही चलाइएको महाशाखाले जनाएको छ ।
सिसी क्यामरालाई अधिकतम प्रयोग गर्दै कारवाही तीव्र पारिएको महाशाखाले जनाएको छ । ‘ट्राफिक कम्युनिकेसन एप्स’को प्रयोग गरी सवारीसाधन व्यवस्थापनलाई चुस्त बनाउने प्रयासमा महाशाखा रहेको छ ।
उक्त एप्समार्फत सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि आवश्यक निगरानी गर्ने गरिएको छ । महाशाखाले ‘स्मार्ट कार्ड रिडर मेसिन’को प्रयोग गरी सवारीचालक अनुमतिपत्रको पनि जाँच गरिरहेको छ ।
महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन र ट्राफिक नियम उल्लंघन गरेबापतको कसुरमा कारबाहीको लागि खिचिएका कागजपत्रको अभिलेख व्यवस्थापनमा ‘ट्राफिक भाइलेन्स रेकर्ड सिस्टम’ गत फागुनबाटै प्रयोगमा ल्याइएको छ । यस्तै दुर्घटनासम्बन्धी सूचना व्यवस्थापन प्रणालीको समेत उपयोग भइरहेको छ ।