मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ कार्तिक ४ मंगलबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक ४ मंगलबार २o:१४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद्को विशेष अधिवेशन माग गर्न देउवालाई दबाब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक ४ मंगलबार २o:१४:oo

कांग्रेसका युवा नेताहरूले संसद्को विशेष अधिवेशन माग गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । कोरोना परीक्षण र उपचारमा शुल्क लिने सरकारको निर्णयको विरोध गर्दै युवा नेताहरूले संसद्को बैठक बोलाउन बाध्य पार्न संसदीय दलका नेता एवं सभापति देउवासँग माग गरेका हुन् । 

नेताहरूले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा सभापति देउवालाई पार्टीका तर्फबाट संसद्को बैठक बोलाउन माग गर्ने विषयमा आग्रह गर्दै लेखेका छन् । केन्द्रीय सदस्य धनराज गुरुङले सरकारलाई जवाफदेही बनाउन र कर्तव्यबोध गराउन संसद्को बैठक आवश्यक भएको बताएका छन् । उनले मंगलबार ट्विट गर्दै लेखेका छन्, ‘सभापतिज्यू ! जनताप्रति जवाफदेहिताहीन, कर्तव्यविमुख, लाचार, भ्रष्ट सरकारलाई जवाफदेही बनाउन र कर्तव्यबोध गराउन संसद्को बैठक आवश्यक छ । संविधानको धारा ९३ बमोजिम बैठक बोलाउन माग गरौँ ।’ 

यस्तै, युवा नेता तथा सांसद गगन थापाले पनि कर्तव्यच्युत सरकारलाई निर्णय सच्याउन आह्वान गरेर मात्रै नहुने भन्दै संसदबाट भागेको सरकारलाई संसदमै फिर्ता ल्याउनुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन । संसद्को बैठक राख्न बाध्य पारी, सदन र सडकको शक्ति एकीकृत गर्न सक्दा मात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ ।’
जवाफदेहिताविहीन सरकारको अकर्मण्यता, भ्रष्टाचार र लाचारीले सीमा नाघेको भन्दै कांग्रेसमा संस्थापनइतरका नेताहरूले संसद्को बैठक बोलाउन माग गर्नुपर्ने बताउँदै आएका छन् । सभापति देउवाले १९ असोजको केन्द्रीय कार्यसमिति बैठकबाट संसद्को बैठक बोलाउन माग गर्ने संस्थागत निणय गर्ने तयारी गरेका थिए । तर, केन्द्रीय सदस्यहरूलाई नै कोरोना संक्रमण पुष्टि भएपछि २५ असोजमा बस्ने गरी बैठक स्थगित भएको थियो । पूर्वकोषाध्यक्षको निधनका कारण २५ असोजमा पनि बैठक बस्न सकेन । त्यसयता कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित छ । 
मंगलबारै प्रवक्ता विश्वप्रकाश शर्माले भने सरकारलाई ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’ को बुलन्द अभियानको सामना गर्न चुनौती दिएका छन् । उनले कोभिड– १९ का बिरामीको उपचार निःशुल्क गर्ने घोषणा अविलम्ब गर्न आग्रह गर्दै त्यसो नगरे ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’ को बुलन्द अभियान उठ्ने बताएका हुन् । 

उनले जनताले कर तिर्दिन भन्दा कसरी धान्ने भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै लेखेका छन्, ‘उपचार गर्दिन सरकारले भन्दा जवाफमा जनताले कर तिर्दिन भनिदिए भने कसरी धान्ने  ?’ 

महामन्त्री पूर्णबहादुर खड्काले भने सरकारको लाचारीपनको समाधान खोज्न तत्कालै सर्वदलीय बैठक बोलाउनुपर्ने बताएका छन् । उनले देशभर डरलाग्दो रूपमा महामारी विस्तार भइरहेका वेला सरकारले लिएको निर्णयविरुद्ध सर्वदलीय बैठकको माग गर्न सभापति देउवालाई ध्यानाकर्षण गराएका छन् । 
प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र विवाद चुलिएपछि १८ असारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसाएर बजेट अधिवेशन अन्त्य गराएका थिए । कांग्रेसले त्यही वेला सबै दलसँग सल्लाह गरेर, संसदको बिजनेस सकिएपछि अधिवेशन अन्त्य गर्ने परम्परा भएकोमा अन्य दललाई थाहै नदिई अधिवेशन अन्त्य गर्नु अनुत्तरदायी भएको भनेको थियो ।

संविधानको धारा ९३ को उपधारा (३)ले प्रतिनिधिसभाको अधिवेशन चालू नरहेको अवस्थामा बैठक बोलाउन वाञ्छनीय छ भनी एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा प्रतिनिधिसभाको बैठक बस्ने प्रावधान छ ।