मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ कार्तिक ३ सोमबार १२:४७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

युएईको सारजहाँमा आइपिएल, नेपालको विराटनगरमा ‘सट्टेबाजी’ जुवा

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ कार्तिक ३ सोमबार १२:४७:००

इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगितामा ‘सट्टेबाजी’ जुवा खेलाउने अलगअलग गिरोह सक्रिय रहेको पाइएको छ । 

जारी आइपिएल प्रतियोगितामा सट्टेबाजी गर्ने तीनवटा गिरोहलाई एक महिनाभित्र  नियन्त्रणमा लिन सफल भएपछि विराटनगरमा अलगअलग गिरोह सक्रिय रहेको पुष्टि भएकाे छ । 

पछिल्लोपटक मोरङ प्रहरीले २ कात्तिक राति विराटनगर महानगरपालिका– १६ का ३७ वर्षीय पुरुषोत्तम साह, ३५ वर्षीय मन्जित साह र विराटनगर– १५ का २८ वर्षीय अपजर अलीलाई सट्टेबाजी खेलाउँदै गरेको आरोपमा प्रहरीले रंगेहात पक्राउ गरेको छ । 

उनीहरूको साथबाट प्रहरीले २८ हजार पाँच सय नगद, जुवा खेलाउने डायरी, विभिन्न मोबाइल र मोटरसाइकल बरामद गरेको छ । 

उनीहरूले अनलाइनमार्फत आइपिएलमा सट्टेबाजी खेलाउँदै आएको प्रहरीको भनाइ छ ।

१४ असोजमा पनि मोरङ प्रहरीले अर्को समूह विराटनगर महानगरपालिका– १५ का ३८ वर्षीय मुन्ना भन्ने सत्यजित साह, विराटनगर– १७ रानीका ४२ वर्षीय जगदीश र ३८ वर्षीय वैजनाथ साहलाई ‘सट्टेबाजी’  सञ्चालन गरिरहेको अवस्थामा विभिन्न मोबाइल, ल्यापटप र साठी हजार नगदसहित पक्राउ गरेको थियो ।

२३ असोजमा आइपिएल क्रिकेटमा लगाउने ‘सट्टेबाजी’का लागि डिपोजिट लिन बोलाएर विराटनगरका एक युवालाई अपहरण गरेर आठ लाख रकम असुलेको घटना पनि अनुसन्धान गरिरहेको एसपी सन्तोष खड्काले बताए ।

भित्रभित्र ‘सट्टेबाजी’ अपहरणको घटना  

एसपी खड्काका अनुसार विराटनगर– ११ का २५ वर्षीय रोनल कँडेलले ‘सट्टेबाजी’को डिपोजिट दिने बहानामा साँझ अपहरण गरी एक दिन बन्धक बनाएर यातना दिई खाली चेकमा सही गराएर आठ लाख रुपैयाँ असुलेको आरोप विराटनगरका सञ्जय सिँगल नामका युवाले लगाएका छन् । 

उनले आफूलाई अपहरण गरेर बन्धक बनाई यातना दिएर आठ लाख रुपैयाँ असुलेको भन्दै रोनल कँडेल र उनका साथीहरूलाई कानुनी कारबाही गर्न माग गर्दै प्रहरीमा किटानी जाहेरी पनि दिएका छन् । 

तर, अनुसन्धान बाँकी नै रहेको भन्दै मोरङ प्रहरीले कसैलाई पक्राउ गरेको छैन । घटना जानकारीमा आएपछि आरोपी कँडेललाई सामान्य सोधपुछका लागि बोलाएको भए पनि बिरामी भएर अस्पताल भर्ना भएको भन्दै प्रहरीले अनुसन्धान गुपचुप राखेको छ । 

तर, प्रहरीले भने घटना गुपचुप नभई प्रमाण जुटाउन गहिरो अनुसन्धान भइरहेको बताउँदै आएको छ ।

उक्त गुपचुप रहेको घटनाबारे एसपी खड्काले भने, ‘सञ्जयले आफूलाई अपहरण गरेको भन्दै किटानी जाहेरी हामीलाई दिएका छन्, हामी अनुसन्धान गरेर ‘सट्टेबाजी’को समेत प्रमाण जुटाएर अदालतमा मुद्दा दर्ता गराउँछौँ, कुनै दबाब र प्रभावमा पर्दैनौँ ।’  

विराटनगरमा वर्षौँदेखि हुँदै छ ‘सट्टेबाजी’ जुवा
विराटनगरमा रहेका सहयोगी एजेन्टहरूले विदेशमा रहेका एजेन्टहरूसँग सम्पर्क बनाएर आफू संकलक एजेन्ट बनेर अनलाइनमार्फत सट्टेबाजी जुवा खेलाउने गरेका छन् । 

एजेन्टले विश्वास गरेर उनीहरूलाई अनलाइन कोड नम्बर दिएपछि उनीहरू कमिसनमा सहयागी एजेन्ट नियुक्त हुन्छन् । 

र, उनीहरूले विभिन्न जुवाडेसँग सम्पर्क बनाएर क्रिकेट प्रतियोगिता भइरहेको समयमा ‘सट्टेबाजी’ जुवा खेलाउने गर्दछन् । 

विराटनगरमा धेरै पहिलेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा हजारौँ, लाखौँको ‘सट्टेबाजी’ जुवा हुँदै आएको प्रहरीको दाबी छ ।