मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ कार्तिक ३ सोमबार ०९:५८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

स्मार्ट भिलेज घलेगाउँमा पर्यटक आगमन खुला

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ३ सोमबार ०९:५८:००

लमजुङको स्मार्ट भिलेज घलेगाउँ होमस्टे आन्तरिक र बाह्य पर्यटकका लागि खुला गरिएको छ । बन्दाबन्दीसँगै घरवास व्यवसाय संकटमा परेकाले पर्यटकलाई प्रवेश गर्न दिइएको र पर्यटन व्यवसायलाई खुला गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए । ‘६ महिनासम्म सुस्ताएको पर्यटन व्यवसायलाई अघि बढाउन पर्यटकलाई प्रवेश खुला गरिएको छ,’ अध्यक्ष घलेले भने ।

घलेका अनुसार घलेगाउँमा पुग्ने पर्यटकले अनिवार्य रूपमा पिसिआर रिपोर्ट लैजानुपर्नेछ । घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर विकले सुरक्षा सतर्कता अपनाएर पर्यटकलाई प्रवेश गराएको बताए । उनले भने, ‘घलेगाउँ पुग्ने पर्यटकले अनिवार्य मास्क लगाउनुपर्ने र स्थानीयले पनि अनिवार्य मास्क लगाउनुपर्ने नियम बनाइएको छ ।’

पर्यटक आगमन खुला गरिएसँगै जिल्लाभित्र र जिल्लाबाहिरका पर्यटक पनि आउन थालेका छन् । १२ घरबाट सुरु गरिएको होमस्टे हाल ३४ घरमा सञ्चालन गरिएको छ । समुद्री सतहदेखि करिब २ हजार १ सय मिटर उचाइको घलेगाउँमा २०५७ सालबाट पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित होमस्टे सञ्चालनमा ल्याइएको थियो । पर्यटकीय सेवा–सुविधा, स्थानीय कला–संस्कृतिको प्रवर्द्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा घलेगाउँ परेको छ ।

घलेगाउँमा नमुना चिया बगान, प्रांगारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृश्यावलोकन, सुधारिएको होमस्टे रहेको छ । हिमालको काखको घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमाल, हिमालचुली, मनासलु, बुद्ध, ङादीचुली (डा. हर्क पिक) हिमाल, गणेशलगायतका दर्जन हिमशृंखला अवलोकन गर्न सकिन्छ ।