मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ३० शुक्रबार १३:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा कर्णाली विवाद : सामूहिक छलफलका लागि काठमाडौं बोलाइएका प्रदेशका नेताहरू छुट्टाछुट्टै ब्रिफिङमा, कँडेलले ब्रिफिङ गरे प्रचण्डलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ३० शुक्रबार १३:०९:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको कर्णाली प्रदेशमा देखापरेको आन्तरिक द्वन्द्व समाधानका लागि सामूहिक छलफल गर्ने भनी काठमाडौं बोलाइएका प्रदेशका नेताहरूले बेग्लाबेग्लै रूपमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ब्रिफिङ गरेका छन् । 

शुक्रबार खुमलटार पुगेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव राख्न मुख्य नेतृत्व गरेका यामलाल कँडेल तथा गुलावजंग शाहले भेटेका छन् । 

यस भेटमा नेकपाका कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मा पनि सहभागी थिए । उनीहरूले दाहाललाई अविश्वास प्रस्ताव राख्नुको कारणबारे ब्रिफिङ गरेको स्रोतले जनाएको छ । 

उनीहरूले दाहाललाई मुख्यमन्त्री शाहीको निरंकुश कार्यशैली रहेको, विभेदकारी व्यवहार गर्ने गरेकोलगायतका कारण अविश्वासको प्रस्ताव राख्नुपरेको जनाएका थिए । 

उनीहरूले यसबारेमा पटकपटक सचेत गराउँदा र सुझाब दिँदा पनि शाहीले नमानेको तथा पार्टीलाई बाइपास गरेकाले बाध्य भएर यस कदममा अघि बढेको जनाएको स्रोतले जनाएको छ । 

यसअघि हिजो बिहीबार मुख्यमन्त्री शाही र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरूले दाहाललाई खुमलटार पुगेर आफ्नो पक्षका धारणा ब्रिफिङ गरेका थिए । 

उनीहरूलाई यही २९ असोजमा सामूहिक छलफल गर्ने गरी काठमाडौं बोलाइएको थियो । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले विवादलाई हाल यथास्थानमा राखेर थप छलफलका लागि राजधानी काठमाडौं बोलाएका थिए । 

संयुक्त छलफल गर्ने भनेर बोलाइएको भए पनि प्रधानमन्त्री ओलीको व्यस्तताका कारण छलफल हुन नसकेको जनाइएको छ । 

आज शुक्रबार छलफल गर्ने तय भएको भए पनि अहिलेसम्म छलफल हुन सकेको छैन ।