१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
भोजराज भण्डारी
२०७७ असोज २८ बुधबार १५:०४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

यसपटक दसैँलक्षित गरी अग्रिम टिकट बुकिङ नखुल्ने, यात्रुको संख्या अत्यन्त कम हुने अनुमान

Read Time : > 1 मिनेट
भोजराज भण्डारी
२०७७ असोज २८ बुधबार १५:०४:००

यसपटक गत वर्षका दसैँहरूझैँ कुनै रौनक छैन । सरकारले कोरोना भाइरसको महामारीका कारण उपत्यका आउजाउ नगर्न आग्रह गरिरहेको छ । 

अर्कोतर्फ सर्वसाधारण पनि यसपटक जोखिम हुने खतराकै कारण पनि जहाँ हो त्यहीँ दसैँ मनाउने तयारीमा देखिन्छन् । त्यसैले विगतका दसैँझैँ यसपटकको दसैँ मुखैमा आउँदै गर्दा पनि कुनै रौनक देखिँदैन ।

त्यसैको परिणामस्वरूप यसपटकको दसैँमा बस व्यवसायीहरूले दसैँको  लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने  भएका छन् ।

सरकार व्यवसायीबीच भएको छलफलमा व्यवसायीहरूले यसपटक अग्रिम टिकट बुकिङ खुल्ला गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् । 

सरकारले व्यवसायीहरूलाई २० असोजदेखि नै अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव गरेको थियो । 

व्यवसायीले यात्रुहरूको अवस्थाको समीक्षा गर्दै अग्रिम टिकट बुकिङ खोल्न पर्ने आवश्यकता नदेखिएपछि व्यवसायी र सरकारबीच भएको छलफलमा  व्यवसायीहरूले अग्रिम बुकिङ खोल्न आवश्यक नरहेको प्रस्ट पारेको नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले  जानकारी दिए ।

यसपटक २५ प्रतिशत मात्र यात्रु भएकाले भएकै बस पर्याप्त हुने र यसपटक नयाँ बस थप्नुपर्ने आवश्यकता नरहेको कर्माचार्यले बताए ।

सरकारले पनि यसपटको दसैँमा आवतजावत नगर्न पटकपटक अनुरोध गर्दै आइरहेको छ । 

त्यसकारण पनि यसपटक सीमित मानिस मात्र उपत्यकाबाहिर जाने भएकाले यात्रुको चाप धान्न सक्ने अवस्था रहेकाले अग्रिम टिकटको आवश्यकता नरहेको कर्मचार्यको दाबी छ ।

‘हामीले टिकट खोल्ने कि नखोल्ने भन्ने विषयमा अध्ययन पनि गरेका थियौंँ, सरकारलाई पनि हामी एक हप्ताको समय हेरौँ भनेका छाैँ । यात्रुको चाप बढिहालेमा पनि बस टन्न भएकाले  कुनै समस्या हुँदैन,’ कर्मचार्यले भने । 

गत वर्षको  दसैँको  समयमा २० लाख यात्रु बाहिरिएको व्यवसायीको दाबी छ । यसपटक पाँच लाख  यात्रु जाने अपेक्षा गरे पनि अहिलेको परिस्थितिमा त्यो पनि नरहने कर्मचार्यको भनाइ छ ।

दसैँ नजिकिँदै गएपछि एकैपटक चाप बढ्न सक्ने सरकारको दाबी छ । अर्कोतर्फ सरकार आफैँले आधा सिटबाट अब पूर्ण सिटभरि यात्रु राख्नुपर्ने  बाटो खुला गरिदिएपछि दसैँको समयमा यात्रुको चाप नपत्याउने तवरले बढ्न सक्छ ।

आफूहरूले अध्ययन गरिरहेको र यात्रुको चाप बढेमा उपयुक्त कदम चाल्ने यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुसालले बताए । 

उनले मापदण्डमा कडाइ गरिने पनि बताए । उनले भने, ‘हामीले ट्राफिक प्रहरीको सहभागितमा अनुगमन स्वास्थ्य मापदण्ड र टिकट काट्ने काउन्टरहरूमा विशेष निगरानी राख्ने काम भइरहेको छ । र, हेल्पडेस्कलगायत राखी यात्रुलाई सहज  यात्रा  गर्न स्वास्थ्य मापदण्डको उचित पालन गर्न लापग परेको छौँ ।’