मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी वासिङ्टन
२०७७ असोज २३ शुक्रबार १५:५४:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

संक्रमित भएको एक हप्तामै चुनावी र्‍यालीका लागि सक्षम भएको ट्रम्पकाे दाबी 

Read Time : > 1 मिनेट
एजेन्सी वासिङ्टन
२०७७ असोज २३ शुक्रबार १५:५४:००

अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्‍यालीका लागि भने तयार रहेको बताएका छन् । 
 
गत शुक्रबार कोरोना भाइरसबाट संक्रमित भएका ट्रम्पले एक हप्ता नहुँदै बिहीबार आफूलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकाले र्‍यालीमा सहभागी हुन सक्षम रहेको दाबी गरेका हुन् । 
 
उनका चिकित्सकहरूले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उनको अवस्था धेरै राम्रो भइसकेको बताएका छन् । 

अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म दुई लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अरू लाखौँ व्यक्ति संक्रमित भएका छन् ।
 
राष्ट्रपति ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएपछि गत शुक्रबार अस्पताल गएर सोमबार निवास फर्किएका थिए ।  

निवासबाटै पनि उनलाई उपचार गराइरहेका चिकित्सकले राष्ट्रपति ट्रम्प अब सार्वजनिक कार्यक्रममा सहभागी हुन सक्ने बताएका छन् । 

उनका फिजिसियन सेन कोन्लीले शनिबारदेखि राष्ट्रपति ट्रम्प सार्वजनिक गतिविधिहरूमा सहभागी हुन सक्षम रहेको जानकारी दिए । 

स्थानीय समयअनुसार बिहीबार राति फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले शनिबार फ्लोरिडामा हुने र्‍यालीमा आफू सहभागी हुन चाहेको बताएका थिए ।  

टेलिफोनबाट गरिएको अन्तर्वार्ताका क्रममा उनले आफू कुनै कुरामा पनि कमजोर र अक्षम छु जस्तो नलागेको जवाफ दिए । सोही अन्तर्वार्तामा राष्ट्रपतीय बहसमा भने आफू सहभागी हुन नचाहेको उनले बताए । 

राष्ट्रपतीय बहस आयोगका अधिकारीहरूले यही अक्टोबर २२ तारिखका दिन दोस्रो बहस आयोजना गर्ने तयारी गरे पनि ट्रम्पले अनिच्छा देखाएपछि बहस अन्याेलमा परेको हो । 

उनीहरूबीच पहिलो बहस अघिल्लो हप्ता भएको थियो । सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्धी बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका वेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय लिएका हुन् । 
 
अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लिकनको तर्फबाट र पूर्वउपराष्ट्रपति बाइडेनले डेमोक्र्याटको तर्फबाट प्रतिस्पर्धा गर्न लागेका हुन्र ।  

त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको साथमा वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको साथमा सिनेटर कमला ह्यारिस छन् । उनीहरूका बीचमा पहिलो बहस बिहीबार भएको थियो ।