पातलो शरीर, चाउरिएको अनुहार । सेतै फुलेकी ६६ वर्षीया उनका खुट्टामा चप्पलसमेत छैनन् । मध्य दिउँसोको तातो घामले चिटचिट पसिना छुटेका छन् । उनी बेचैन देखिन्थिन् । रौतहटबाट मंगलबार रातभर बसयात्रा गर्दै छोरो भेट्न ललितपुर लगनखेलस्थित मानसिक अस्पताल आएकी हुन् उनी । बुधबार बिहान काठमाडौं ओर्लिएपछि उनले पहिले छोरालाई नै भेटिन् । बाबुआमालाई बुढेसकाल लागेपछि हुर्केका छोराछोरी सहारा बन्छन् । उनलाई भने आफ्नै छोराले चिनेनन् ।
डेढ महिना मात्रै भयो, आमा र छोराबीच दिल खोलेर कुराकानी नभएको । छोराले कमाउला र खाउँला भन्ने वेला उसैले आफूलाई नचिन्दा कस्तो हुन्छ ? गहभरि आँसु पार्दै उनले भनिन्, ‘सुरुमा त चिन्दै चिनेन, पछि चिनेजस्तो पनि ग¥यो, तर राम्ररी कुरा गरेन, फेरि कहिले बोल्छ, कहिले बोल्दैन ।’
रौतहट गरुडा नगरपालिका–८ की उनका १७ वर्षीय छोरालाई छिमेकी निरञ्जन रामको हत्या आरोपमा प्रहरीले १ भदौमा पक्राउ गरेको थियो । त्यसयता उनलाई चिन्ताले पोलिरहन्थ्यो– छोराले वेलामा खान पायो कि पाएन ? के खायो ? बिरामी पो भयो कि ? निर्दोष छोरालाई प्रहरीले पक्राउ गरेर लगेपछि परिवार आक्रोशित भयो । तर, रोइकराइ गर्दा पनि कसैले सुनेनन् । उल्टै उनीहरूमाथि नै प्रहरीले लाठी बर्सायो ।
आफ्नो छोरोलगायत पक्राउ परेका सबैलाई हिरासतमा प्रहरीले धेरै कुटपिट गरेको सुनिन्, उनले । तर, आफ्नो छोरामाथि भइरहेको अन्याय रोक्ने कुनै उपाय थिएन । १७ वर्षे युवकका बाबुआमा चुपचाप सहेर बसे । उनीहरूका छोरासँगै पक्राउ परेका छिमेकी विजय राम (१९ वर्ष)को प्रहरी यातनाकै कारण १० भदौमा मृत्यु भयो । ‘उसको मृत्यु भएपछि हामीलाई झन् धेरै डर लाग्न थाल्यो, बरु प्रहरीले जेल हालेर छोरालाई केही नगरिदिए हुन्थ्यो भनेर सोच्न थाल्यौँ,’ उनी भन्छिन् ।
निरञ्जनका बाबु नन्दलाल रामले स्थानीय नर्सरीका सञ्चालक लखन साहको डिजाइनमा हत्या भएको बताउँदै उनी, उनका भाइ राजगिर, छोरा राजाराम र शेख आजादविरुद्ध किटानी जाहेरी दिएका छन् । तर, प्रहरीले लखन र राजगिरलाई छाडेर गाउँका सोझासीधा युवालाई पक्राउ ग¥यो । ‘प्रहरीकै कुटाइबाट विजयको मृत्यु भयो, अनि हाम्रो छोरा पनि मारिदिन्छन् कि भनेर डर लाग्न थाल्यो,’ उनी भन्छिन् ।
६६ वर्षीया आमालाई डर थियो, कुनै न कुनै दिन नराम्रो खबर आउन सक्छ भन्ने । एक दिन त्यस्तै खबर आयो, ‘हिरासतमा छोरा टोलाइरहन्छन्, खाना पनि खाँदैनन्, नानाथरी बोल्छन्, उनको मानसिक सन्तुलन ठीक छैन ।’
नलाई डर थियो, कुनै न कुनै दिन नराम्रो खबर आउन सक्छ भन्ने । एक दिन त्यस्तै खबर आयो, ‘हिरासतमा भएका छोरा टोलाइरहन्छन्, खाना पनि खाँदैनन्, नानाथरी बोल्छन्, उनको मानसिक सन्तुलन ठीक छैन ।’ उनी भक्कानिइन् । घरमा रुवाबासी चल्यो । घरबाट सग्लो छोरालाई प्रहरीले कुट्दै लगेको थियो, एक्कासि मानसिक सन्तुलन बिग्रिएको सुनेपछि गाउँमा खैलाबैला भयो ।
निरञ्जन हत्याको मुद्दामा ३० भदौमा रौतहट अदालतमा थुनछेक बहस भयो । थाहा पाएको सबै कुरा प्रहरीलाई बताएका १७ वर्षे युवकले अदालतमा भने बयान दिन सकेनन् । उनको असामान्य व्यवहार देखेपछि अदालतले तत्काल मानसिक स्वास्थ्य परीक्षणका लागि आदेश दियो । नर्सरी साहु लखनका छोरा राजाराम भने साधारण तारेखमा छुटे । पक्राउ परेका विवेक राय यादवलाई बालगृहमा राखिएको छ । मुख्य अभियुक्त भनिएका शेख आजादसहित अजयकुमार रञ्जन र अर्जुन राम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
‘मलाई आमा भनेर पनि बोलाउँदैन’
अदालतले स्वास्थ्य परीक्षण गर्न आदेश दिएपछि ती १७ वर्षे युवकलाई प्रहरीले ललितपुर लखनखेलस्थित मानसिक अस्पतालमा ल्यायो । ‘प्रहरीले मेरो छोरालाई पागल बनाइदियो, घरि उता हेर्छ, घरि यता, मलाई आमा भनेर पनि बोलाउँदैन,’ ६६ वर्षीया आमा भन्छिन् ।
उनका चार छोरी र दुई छोरा छन् । मानसिक सन्तुलन गुमाएका छोरा कान्छा हुन्, जसको बिहे भएको तीन वर्ष भयो । जेठा छोरा वैदेशिक रोजगारीमा छन् । घर उभ्याएको बाहेक अन्यत्र उनीहरूको जग्गा जमिन छैन । उनीहरूको जीवन चल्ने एक मात्र माध्यम हो, ज्याला मजदुरी ।
‘बर्बराउँछ, के–के बोल्छ, बोल्छ, आमालाई देखेपछि अलिक ठीक होला कि भनेर आउन भनेका हौँ,’ ड्युटीमा रहेका एक प्रहरीले नयाँ पत्रिकासँग भने । अस्पतालको वार्डमा दुई प्रहरीबीचमा छोरासँगै बसेकी छिन्, आमा । धेरैबेरसम्म छोराको छेउमा बसेर हेरिरहन सक्ने हिम्मत छैन, उनमा । खर्च पनि छैन । नातिको साथ लागेर बिहान आएकी उनले बुधबार बेलुकै गाउँ फर्किन बसको टिकट काटेकी थिइन् । ‘छोराको अनुहार हेरेपछि फेरि आज बसौँजस्तो लाग्यो, उसले खुलेर बस्नु पनि भन्न सकेको छैन, तैपनि बसेँ,’ उनले भनिन् ।
अस्पतालका डा. ईश्वरी खनालका अनुसार १७ वर्षे युवकको गतिविधि अस्वाभाविक छ । उनको पहिले र अहिलेको गतिविधि विश्लेषण गरेर मात्र रिपोर्ट तयार हुने डा. खनाल बताउँछन् ।
प्रहरीको यातनाकै कारण छोराको यस्तो अवस्था भएको उनी बताउँछिन् । ‘प्रहरी चौकीवरपर बस्नेहरूले राति–राति निकै चिच्याउँछ तिम्रो छोरो भन्थे, सुरु–सुरुमा हिरासतमा भेट्न जाँदा त बोल्थ्यो । त्यहाँको खाना खान नमानेकाले मैले केही–केही खान पनि दिन्थेँ, अहिले एक्कासि मेरो छोरालाई के भयो ?’ उनी भन्छिन् ।
हिरासतमा भेट्न जाँदा उनले आमालाई प्रहरीले पाइपले निर्घात कुटेको बताएका थिए । पहिले भेट्दा सामान्य तरिकाले बोल्ने, प्रहरीसँगको व्यवहार सुनाउने गरेका उनको व्यवहार बिस्तारै परिवर्तन हुँदै गएको उनी बताउँछिन् । उनका अनुसार राजधानी ल्याउनुअघि जनकपुरको एक अस्पतालमा प्रहरीले छोराको उपचार गराएको थियो ।
‘मलाई यहाँ ल्याउन भनेका रहेछन्, त्यसपछि आएकी हुँ,’ उनी भन्छिन््, ‘म जनकपुर पनि गइनँ, हामी गरिब हौँ, जाने पैसा भएन ।’ ती युवकलाई काठमाडौं ल्याउन लागेको दिन प्रहरीले आमालाई पनि सँगै जान भनेका थिए । तर, खाने–बस्ने खर्चका कारण त्यतिवेला आफू नआएको उनी बताउँछिन् ।
उनका चार छोरी र दुई छोरा छन् । प्रहरी यातनाका कारण मानसिक सन्तुलन गुमाएका छोरा कान्छा हुन्, जसको बिहे भएको तीन वर्ष भयो । जेठा छोरा वैदेशिक रोजगारीमा छन् । घर उभ्याएको बाहेक अन्यत्र उनीहरूको जग्गा जमिन छैन । उनीहरूको जीवन चल्ने एक मात्र माध्यम हो, ज्याला मजदुरी ।
‘कतै प्रहरीले राम्रो उपचार नगरेर मेरो छोरालाई पनि विजयलाई जस्तै मारिदिन्छन् कि भनेर डर लाग्छ ! मेरो छोरा निर्दोष थियो, पुलिसले जबरजस्ती गरेर यस्तो बनाइदियो,’ उनी भन्छिन्, ‘बरु छोडिदिए भिखै मागेर भए पनि राम्रो ठाउँमा उपचार गराउँथेँ । यहाँ राम्ररी औषधि पनि दिन्छन् कि दिँदैनन् थाहा छैन ।’
आमालाई देखेपछि बुधबार दिउँसो ती युवकमा पनि केही परिवर्तन देखियो । प्रहरीले त्यहीकारण आमालाई अस्पतालमै बस्न आग्रह गरे । ‘खानाका लागि अस्पताल प्रशासनलाई भनेका छौँ, बस्न यही वार्ड छ,’ साथै रहेका प्रहरीले भने ।
प्रहरीको कुटपिटका कारण उनको मानसिक अवस्था बिग्रिएको आरोप रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाह स्वीकार्दैनन् । ‘म आएपछि मैले जिम्मेवारी लिएको छु, म आउनुअघि के भयो, थाहा भएन । म आएपछि कुनै यातना दिइएको छैन,’ उनी भन्छन्, ‘त्यो परिवारको आरोप मात्रै हो ।’
यस्तो थियो घटना
३१ साउन साँझ नर्सरी साहु लखन साहको निम्तोमा पार्टी खान गएका २१ वर्षे निरञ्जन राम भोलिपल्ट घाँटी रेटेर हत्या गरिएको अवस्थामा भेटिएका थिए । प्रहरीले ११ जना स्थानीय युवालाई पक्राउ गरेको थियो । त्यसमा नर्सरी साहु भने परेका थिएनन् । साधारण सोधपुछपछि चारजना छुटे । बाँकी सातमध्ये प्रहरीको यातनाबाट विजय रामको मृत्यु भएपछि गाउँलेले विरोध गरे ।
अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक नवीन सिंह, सइ वीरेन्द्र यादव, हवल्दार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहलाई निलम्बन गरियो । एसपी रविराज खड्का र इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोको पनि सरुवा भयो । प्रहरीले आफ्नातर्फबाट गल्ती भएको पनि स्वीकार गरेको छ । नर्सरी साहुको इसारामा चलेका डिएसपी महतोले ७ भदौमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेभन्दा मुद्दामा पनि कुनै फरकपन देखिएको छैन ।
डिएसपी महतो नर्सरी साहु साहलाई जोगाउन चाहन्थे । निरञ्जनलाई पार्टीमा बोलाउने नर्सरी साहु नै थिए । तर, डिएसपी महतोले नर्सरी साहुको कुनै संलग्नता नभएको र निरञ्जनको हत्या सातजना युवाले गरेको दाबी गरेका थिए ।
निरञ्जनका बाबु नन्दलालले पनि नर्सरी साहु लखन, उनका भाइ राजगिर, छोरा राजाराम र शेख आजादका नाममा मात्रै किटानी जाहेरी दिएका छन् । प्रहरीसँगको बयानमा शेख आजादले घटनामा लखनको संलग्नता रहेको प्रस्ट संकेत गरेका छन् । तर, प्रहरीले अहिलेसम्म लखन दाजुभाइलाई पक्राउ गरेको छैन । प्रहरीले उनीहरू फरार रहेको भनेको छ । लखनका छोरा राजाराम पनि साधारण तारेखमा छुटिसकेका छन् ।
विजय रामको मृत्यु सम्बन्धमा परिवारले प्रहरीविरुद्ध किटानी जाहेरी दिएको छ । तर, मुद्दाको ठोस प्रक्रिया अगाडि बढेको छैन । विजय रामको मृत्यु सम्बन्धमा पनि अनुसन्धान भइरहेको रौतहटका एसपी शाहको दाबी छ । ‘जाहेरी दर्ता भएको छ । त्यतिवेला हिरासतमा ड्युटीमा रहेका प्रहरीहरूमाथि अनुसन्धान भइरहेको छ,’ उनले भने ।
पीडित परिवारले काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेर राखिएको शव बुझेर दाहसंस्कार गरिसकेका छन् । विजयका बाबु पनिलालले यातना र ज्यानसम्बन्धी कसुरमा रौतहटका तत्कालीन एसपी खड्का, गरुडाका डिएसपी महतो, प्रहरी निरीक्षक सिंह, सइ यादव, हवल्दार धुनियाँ र मुन्ना सिंहविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गराएका थिए ।