१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २० मंगलबार १९:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपा सचिवालयमा छलफलै भएन, डा. केसीलाई अनशन तोड्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २० मंगलबार १९:०५:००

तीन सातादेखि मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चले पनि त्यसमा अझै विलम्ब हुने संकेत देखिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएकाले त्यसमा केही विलम्ब हुने संकेत गरे ।

‘आजको बैठकमा त्यसबारेमा कुनै छलफल भएन र प्रधानमन्त्रीले पनि कुनै जानकारी गराउनुभएन,’ बैठकपछि प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीहरूसँग भने, ‘यसअघिको सचिवालय बैठकमा भएको सैद्धान्तिक र नीतिगत छलफलका आधारमा दुई अध्यक्षले गृहकार्य गरिरहनुभएको हुन सक्छ । त्यस आधारमा अझै पनि प्रस्ताव ल्याउने वा निर्णय गर्ने स्थिति नभएको भनेरै बुझ्नु उपयुक्त हुन्छ ।’ 

प्रधानमन्त्रीले भने– डा. केसीसँगका सम्झौता कार्यान्वयन भइसक्यो 
सचिवालय बैठकले डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ । उनीसँग सरकारले गरेको सम्झौता मूलभूत रूपमा कार्यान्वयन भइसकेको र कतिपय कार्यान्वयनका क्रममा अगाडि बढिरहेकाले कोरोना संक्रमणको जटिल स्थितिलाई मध्यनजर गर्दै अन्य विषयमा पछि छलफल गर्ने गरी बैठकले अनशन तोड्न आग्रह गरेको हो ।

‘प्रधानमन्त्रीले अनशन अन्त्यका लागि सरकारले डा. गोविन्द केसीलाई अनुरोध गरेको बैठकमा जानकारी गराउनुभयो । केसीले चिकित्सा शिक्षा सुधारको क्षेत्रमा जुन–जुन विषय र मुद्दाहरू उठाउनुभयो त्यसलाई पूरा गर्ने गरी सरकारले सम्झौता गऱ्याे र सम्झौता कार्यान्वयन अगाडि बढायो, मूलतः सम्झौता कार्यान्वयन भइसकेको छ । कतिपय विषयहरू कार्यान्वयनको प्रक्रियाका क्रममा अगाडि बढिरहेको छ ।’

बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘त्यसैले अहिले कोरोनाले देशलाई अप्ठ्यारो पारिहरेको वेला, नियन्त्रण, रोकथाम र यसले पारेको बहुआयामिक असर न्यूनीकरणमा केन्द्रित हुनुपर्ने भएकाले पहिलेका सम्झौता कार्यान्वयन भइसकेको पृष्ठभूमिमा अन्य विषयमा पछाडि छलफल गर्ने गरी बैठकले अनशन अन्त्यका लागि आग्रह गरेको छ ।’  

श्रेष्ठले सबै विषयमा एकसरो छलफल भएको बताउँदै दुई अध्यक्षको गृहकार्यपछि पुनः अर्को बैठक बस्ने जानकारी दिए ।