
डा. गोविन्द केसीले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन तथा भेला हुने र प्रदर्शन गर्न पाउने संविधानप्रदत्त नागरिक अधिकार तत्काल फिर्ता गर्न माग गरेका छन्।
बुधबार प्रेस वक्तव्य जारी गर्दै केसीले अन्यथा सत्याग्रहलगायतका दबाबमूलक कार्यक्रम गर्ने चेतावनी दिएका छन्। यसअघि भएका सम्झौता कार्यान्वयन गर्नसमेत केसीले सरकारकाे ध्यानाकर्षण गराएका छन्।
गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउन, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउन, १०० शय्याभन्दा बढी क्षमताका सरकारी अस्पतालमा नर्सिङसहित स्वास्थ्यसम्बन्धी विषयका कार्यक्रम सुरु गर्न, विश्वविद्यालय र प्रतिष्ठानहरूमा योग्यताका आधारमा पदाधिकारी नियुक्तिका लागि मापदण्डसहित उच्च शिक्षा ऐन जारी गर्न उनको माग छ।
साथै, शीघ्र एकीकृत प्रतिष्ठान ऐन जारी गर्न, सरकारी अस्पतालहरूमा आवश्यक दरबन्दी थप गर्न, औषधि–उपचार निःशुल्क गर्न तथा निजी क्षेत्रबाट सञ्चालित अस्पताल, शिक्षण अस्पताल एवं स्वास्थ्य सेवा प्रदायक संस्थामा कार्यरत सबै तहका स्वास्थ्यकर्मीको न्यूनतम तलब–सुविधा सरकारी संस्थासरह गर्न विधेयक बनाई लागू गर्न केसीले सरकारको ध्यानाकर्षण गराएका छन्।