
नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरीकाे विपक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको छ । आज बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङस्थित देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो ।
प्रदेश सरकारले प्रदेश सभामा पेस गरेकाे प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए । नामबारे भने कांग्रेसको असहमति नरहेको उनले बताए ।
कांग्रेसले निर्णय गरे पनि दाङ र बाँकेका नेताले भने दाङकै पक्षमा मतदान गर्ने तयारी गरेका छन् । प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी देउखुरी उपत्यका र प्रदेशको नाम लुम्बिनी प्रस्ताव गर्दै प्रदेश सभामा शुक्रबार पेस गरेका थिए । रासस