१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
केदार दाहाल काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o५:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अस्ताए कीर्तिमानी आरोही आङरिता शेर्पा

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o५:१२:oo

विनाअक्सिजन १० पटक सगरमाथा र पाकिस्तानको माउन्ट केटुलगायतका हिमाल आरोहण गरेर कीर्तिमान राखेका आङरिता शेर्पाको ७२ वर्षको उमेरमा निधन

सगरमाथाजस्तै अग्लो कद बनाएका आँटिला पर्वतारोही आङरिता शेर्पाको सोमबार ७२ वर्षको उमेरमा निधन भएको छ । उनले विनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरेका थिए । 

सगरमाथासँगै आङरिताले नेपालका अधिकांश अग्ला हिमाल पनि आरोहण गरिसकेका थिए । जसका कारण उनले हिउँचितुवाको उपनाम पाएका थिए । सन् १९४८ मा खुम्बु क्षेत्रको हिलजुङ गाउँमा जन्मिएका उनले २० वर्षकै उमेरमा चोयु हिमालको आरोहण गरेका थिए । ३४ वर्षको उमेरमा आठ हजार एक सय ६२ मिटर अग्लो धौलागिरि हिमाल चढेका उनले सन् १९८३ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । 

विनाअक्सिजन सगरमाथा चढेपछि आङरिताको विश्वभरि चर्चा भयो । उनले विनाअक्सिजन पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको आरोहण गरेका थिए । ‘आङरिताले कुनै पनि आरोहणमा अक्सिजनको प्रयोग गर्नुभएन,’ उनीसँगै धौलागिरि आरोहण गरेका नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले भने । सबै आरोहण विनाअक्सिजन गर्नेे अरू कोही आरोही नरहेको उनले बताए । 

सन् १९८३ देखि १९९६ सम्म आङरिताले १० पटक सगरमाथाको आरोहण गरेका थिए । आँटेको काम पूरा गरेरै छाड्ने स्वभावका उनले सन् १९९६ पछि भने विभिन्न रोगले गाँज्दै जाँदा आरोहणमा जान छाडेका थिए ।

पछिल्लो समय एकपटक सगरमाथा आरोहण गरेका आरोहीसमेत विदेश पलायन भएका छन् । तर, आङरितालाई पटक–पटक अमेरिका बसोवास गर्न स्वदेशी तथा विदेशीले अफर गर्दा पनि जान मानेनन् । १० पटकसम्म सगरमाथा आरोहण गरे पनि आर्थिक हिसाबले भने उनी कहिल्यै सम्पन्न भएनन् । ‘आङरिता धेरै राष्ट्रवादी हुनुहुन्थ्यो, नेपाल छाडेर उहाँ कहीँ पनि जान मान्नुभएन,’ पर्वतारोहण संघका पूर्वअध्यक्ष शेर्पाले भने । नेपाल र सगरमाथाको विश्वभरि प्रचार हुनुमा आङरिताको ठूलो योगदान रहेको उनले बताए । 

आङरिताको निधनको समाचार सिन्ह्वा, टाइम्स अफ इन्डिया, सिएनएन, बिबिसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रमुखताका साथ सम्प्रेषण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले कीर्तिमानी आरोही आङरिताको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

‘विनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्वकीर्तिमान कायम गर्नुभएका आङरिता शेर्पाको ७२ वर्षको उमेरमा भएको निधनले अत्यन्त दुःखित तुल्याएको छ । यस दुःखद घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दछु । उहाँको कीर्तिमानी सदा स्मरणीय रहनेछ,’ प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन् । 


 

ad
ad