मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
घुँगी खोज्न जाँदा सेनाको कुटपिटबाट मारिएका राजकुमार प्रजा
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज १ बिहीबार ०५:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निहत्था नागरिकलाई सैनिकले कुटपिट गरी हत्या गरेको निष्कर्ष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज १ बिहीबार ०५:१६:००

सैनिकद्वारा चेपाङ युवा कुटपिट र मृत्युबारे मानव अधिकारवादी संस्थाहरूले भने–सैनिकद्वारा कुटपिट गरी हत्या, प्रहरीले अनुसन्धानमा र अस्पतालले स्वास्थ्य परीक्षणमा पनि गम्भीरता देखाएनन्

चितवनका चेपाङ युवा सैनिकको कुटपिटबाट मृत्यु र घाइते भएको विषयमा प्रहरीले अनुसन्धानमा र अस्पतालले स्वास्थ्य परीक्षणमा समेत गम्भीर लापरबाही गरेको मानव अधिकारवादी संघसंस्थाहरूको ठहर छ । निहत्था नागरिकलाई सैनिकले कुटपिट गरी हत्या गरेको निष्कर्ष उनीहरूले निकालेका छन् । 

अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक), एड्भोकेसी फोरम नेपाल, तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आइसिजे)ले स्थलगत अध्ययनपछि बिहीबार प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन संघीय संसद्को मानव अधिकार समिति र राष्ट्रिय मानव अधिकार आयोगलाई पनि बुझाइएको छ ।

घोँगी र निहुरो टिप्न चितवन राष्ट्रिय निकुञ्जभित्र गएका राप्ती नगरपालिका–२ मिलनटोलका २४ वर्षीय चेपाङ युवा राजकुमार प्रजालाई गत १ साउनमा निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटले थला परेका उनको ८ साउनमा अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । 

राजकुमारसहित सात स्थानीय घोँगी खोज्न निकुञ्जभित्र गएका थिए । उनीहरूमध्ये एकजना महिला थिइन् । सैनिकले सबैलाई पक्राउ गरी पुरुषहरूलाई बुट र लाठीले निर्घात कुटपिट गर्नुका साथै महिलालाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको थियो । कुटपिटपछि उनीहरूलाई सयपटक पुसअप गर्न लगाएको र त्यसपछि काठका मुढा बोकाउँदै निकुञ्ज कार्यालयमा लगेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

राजकुमारको मृत्यु र अन्य ६ जनामाथि भएको कुटपिट तथा दुर्व्यवहारको अनुसन्धानमा प्रहरीले पनि गम्भीरता नदेखाएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रहरीले एकजनाको मात्र जाहेरी लिएको, आरोपीको बयान नलिएको, घटनाको दुई महिना बितिसक्दा पनि आरोपी सैनिक र सेनाको कार्यालयलाई सोधपुछका लागि नबोलाएको, बयान नलिएको, प्रमाण संकलनमा प्रहरीले तदारुकता नदेखाएको, पीडित परिवार तथा प्रत्यक्षदर्शीसँग भेटेर मुचुल्कासमेत तयार नपारेर प्रहरीले अनुसन्धानमा गम्भीर लापरबाही गरेको अध्ययन प्रतिवेदनको निष्कर्ष छ ।

त्यस्तै, भरतपुर अस्पतालले पनि पीडितको जिउमा नीलडाम, चोटपटक देखिँदा पनि एक्सरे नगरेको, औषधि नदिएर अस्पताल र चिकित्सकले सामान्य चिकित्सकीय दायित्वसमेत पूरा नगरेको प्रतिवेदनमा उल्लेख छ ।