उदयपुरको चौदण्डीगढी नगरपालिकामा लागुऔषध दुर्व्यसन रोक्न स्थानीय युवाहरूले एकमहिने सचेतना अभियान सुरु गरेका छन्। ‘आजको युवा, नशाविरुद्धको योद्धा’ भन्ने नारासहित यहाँका युवाहरूले लागुऔषधविरुद्धको एकमहिने सचेतना अभियान सुरु गरेका हुन्।
सचेतना अभियान सूर्योदय सुधार केन्द्र चौदण्डीगढी रिकभरी टिम र क्लिन एन्ड ग्रिन सिटी बेल्टारले संयुक्त रूपमा सञ्चालन गरेका हुन्। चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारको बसपार्कबाट अभियानको औपचारिक सुरुवात भएको छ।
अभियान शुभारम्भ चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख कालुमान लामा, पूर्वनगरप्रमुख खगेन्द्र राईले गरेका थिए। अभियानअन्तर्गत युवाहरूले लागुपदार्थ दुर्व्यसनविरुद्ध नगरभित्रका टोल–टोल र बस्ती–बस्तीमा पुगेर अभिभावक तथा १३ देखि १९ वर्ष उमेर समूहका युवासँग अन्तर्क्रिया चलाउनेछन्। नगर क्षेत्रमा लागुऔषध दुर्व्यसनको हानी नोक्सानी, लागुऔषध सेवनले समाजमा पुर्याउने बेफाइदालगायतका बारेमा सचेतना जगाउने उद्देश्य रहेको क्लिन एन्ड ग्रिन सिटी बेल्टारका प्रमुख विदुर राईले बताए।
चौदण्डीगढी नगरपालिकाका प्रमुख लामाले समाजमा विकराल बन्दै गएको लागुऔषध दुर्व्यसन रोक्न सरोकारवाला पक्षहरू सचेत भएर लाग्नुपर्ने बताए। उनले भने, ‘सभ्य समाज निर्माणका लागि सबैको उत्तिकै भूमिका हुन्छ। यो अभियानले चौदण्डीगढी क्षेत्रमा लागुऔषध दुर्व्यसनी न्यूनीकरण गर्न सहयोग पुर्याउनेछ।’ लामाले यस अभियानलाई सफल बनाउन नगरपालिकाले सबै खाले भूमिका निर्वाह गर्ने पनि बताए।
अभियान २ माघबाट सुरु भई २ फागुनसम्म चल्नेछ।