१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ २७ शनिबार
  • Monday, 01 July, 2024
अजित अधिकारी काठमाडौं
२o७७ भदौ २७ शनिबार १३:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आयल निगम नेपालगन्ज डिपोका दुई कर्मचारीलाई कोरोना देखिएपछि कार्यालय बन्द

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o७७ भदौ २७ शनिबार १३:५o:oo

नेपाल आयल निगम लिमिटेडको इन्धन डिपो, नेपालगन्जमा कार्यरत दुई कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । उनीहरूलाई आइसोलेसनमा राखेर उपचार थालिएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

उनका अनुसार गत बुधबार गरिएको पिसिआर परीक्षणमा दुई कर्मचारीलाई कोराेना देखिएको थियो । त्यसपछि बिहीबारदेखि नेपालगन्ज कार्यालय बन्द गरिएको छ ।

‘बिहीबारदेखि पाँच दिनका लागि कार्यालय बन्द गरिएको छ,’ उनले भने, ‘कार्यालय खुलेपछि पनि रिजर्भ राखिएका कर्मचारीबाट काम हुन्छ । पिसिआर परीक्षणमा सहभागी भएका कर्मचारीलाई काममा लगाइनेछैन ।’

निगमले प्रत्येक डिपो–कार्यालयमा रिजर्भ कर्मचारी राखिरहेको छ । ‘अहिले निगमका अधिकांश कार्यालय एकतिहाइ कर्मचारीबाट सञ्चालित छन् । र, बाँकी कर्मचारीलाई ब्याकअप फोर्सका लागि रिजर्भमा राखिएको छ,’ उनले भने, ‘कुनै समस्या भए रिजर्भ कर्मचारीलाई खटाइन्छ । रिजर्भ राखिएका कर्मचारीहरू नियमित कार्यालय जानु नपर्ने व्यवस्था मिलाएका छौँ ।’

नेपालगन्ज कार्यालय पाँच दिनका लागि बन्द गर्नुपरेपछि पश्चिम क्षेत्रमा इन्धन आपूर्ति गर्न केही असहजता हुनेछ । किनभने नेपालगन्जले ६ नम्बर प्रादेशिक कार्यालय, सुर्खेत र दाङस्थित शाखा कार्यालयमा समेत इन्धन उपलब्ध गराउँदै आएको थियो ।

नेपालगन्ज कार्यालय बन्द भएपछि त्यसअवधिभर ५ नम्बर प्रादेशिक कार्यालय, भैरहवा र ७ नम्बर प्रादेशिक कार्यालय, धनगढीबाट इन्धन ओसार्ने व्यवस्था मिलाइएको छ । यसरी इन्धन ओसार्दा भैरहवा र धनगढीकै ट्यांकर प्रयोग गर्न निर्देशन दिइएको छ ।

त्यस्तै दाङका लागि भैरहवा डिपोबाट र सुर्खेत कार्यालयका लागि धनगढीबाट इन्धन ओसार्ने व्यवस्थासमेत मिलाइएको निगमले जनाएको छ ।

अन्य कर्मचारी कोरानामुक्त हुँदै
अत्यावश्यकीय पदार्थमा पर्ने भएकाले कोराेना नियन्त्रणका लागि केन्द्रदेखि स्थानीय तहसम्मले गरेको लकडाउनका बाबजुत पनि आयल निगमका कार्यालय निर्वाध सञ्चालन गरिरहेको छ । जसकारण निगमका कर्मचारीमा कोराेना संक्रमण बढ्दै गएको छ । यद्यपि, पुराना संक्रमितहरू निको हुँदै गएको निगमले जनाएको छ ।

भदौको सुरुवातमै निगमको ५ नम्बर प्रादेशिक कार्यालय, भैरहवामा कर्मचारी र परिवारका सदस्यसहित १३ जनामा कोराेना देखिएको थियो । अहिले सबै कर्मचारीलाई निको भइसकेको भैरहवा कार्यालयका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए । ‘यहाँ संक्रमित भएका सबै कर्मचारीलाई निको भएको छ । केही कर्मचारी त कार्यालयसमेत आउन थालेका छन्,’ उनले भने ।

त्यस्तै ८ भदौमा दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जका ६ कर्मचारीसहित १४ जनामा संक्रमण देखिएको थियो । ‘उनीहरू सबैलाई होटेल आइसोलेसनमा राखी उपचार गरेका थियौँ । सबैको पछिल्लो परीक्षणमा कोराेना देखिएको छैन,’ अमलेखगन्ज डिपो प्रमुख भरत रेग्मीले भने, ‘डाक्टरको थप सल्लाह लिएर उहाँहरूलाई केही समयपछि काममा फर्काउनेछौँ ।’

सोही दिन शाखा कार्यालय, वीरगन्जका तीन कर्मचारीमा पनि कोरोना देखिएको थियो । त्यसपछि गरिएको परीक्षणमा दुईजनालाई नेगेटिभ र एकलाई पोजेटिभ नै देखिएको थियो । उनीहरू सबै अहिले आइसोलेसनमा बसिरहेका छन् ।

ad
ad
ad
ad