१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ २४ बुधबार
  • Saturday, 28 September, 2024
२o७७ भदौ २४ बुधबार १o:१७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नाकामा सेना परिचालन गर्दै निषेधाज्ञा खुकुलो बनाउन उपत्यकाका मेयरहरूको प्रस्ताव

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ २४ बुधबार १o:१७:oo

काठमाडौं उपत्यकाका नगर प्रमुखहरूले उपत्यका प्रवेश गर्ने सबै नाकामा सेना परिचालन गरी निषेधाज्ञा खुकुलो बनाउन संघीय सरकारसँग प्रस्ताव गरेका छन् । दुई महानगरसहित १८ वटा पालिकाको संस्था उपत्यका नगरपालिका फोरमले संघीय सरकार र तीनवटै जिल्लाका प्रशासनसँग यस्तो प्रस्ताव गरेको हो ।

मंगलबार बैठकपछि आयोजित पत्रकार सम्मेलनमा फोरम उपाध्यक्ष तथा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले जनजीवन सामान्य बनाउन नाकामा कडाइ गर्दै निषेधाज्ञा खुकुलो पार्नुपर्ने बताए । ‘महामारीको जोखिम घटेर होइन, जीविकोपार्जनको कोणबाट जनजीवन असहज बन्न थालेपछि हामीले यस्तो निर्णय गरेका हौँ,’ महर्जनले भने, ‘२५ भदौदेखि नगरपालिका र वडाबाट सञ्चालन हुने सेवालाई पनि नियमित गर्ने र आवश्यकताअनुसार सञ्चालन गर्दै लैजाने निर्णय भएको छ ।’

फोरम अध्यक्ष तथा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य आफैँ कोरोना संक्रमणका कारण होम आइसोलेसनमा छन् । काठमाडौंकै नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत पनि संक्रमित भएर उपचाररत छन् । निषेधाज्ञा लागू गरेको २० दिन पूरा भए पनि संक्रमित थपिने दर घटेको छैन । तर, लामो समय निषेधाज्ञा गरेको बताउँदै सर्वसाधारण आक्रोशित छन् । सडक र सार्वजनिक स्थलमा भोकाहरूको संख्या थपिँदो छ । उपत्यकाभित्र फैलिएको संक्रमणलाई अब नियन्त्रण गर्न सकिने बताउँदै मेयरहरूले जनजीवन सामान्यीकरण गर्न आग्रह गरेका हुन् ।

‘संक्रमणबाट हुने मृत्युदर तीव्र वृद्धि भइरहेको छ, मुलुकको राजधानी र घना बस्तीसमेत रहेको उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्ने जिम्मा तत्काल सेनालाई दिने व्यवस्थाका लागि सबैको एउटै आवाज आएको छ,’ फोरम सचिव तथा मध्यपुरथिमी नगर प्रमुख मदनसुन्दर श्रेष्ठले भने ।

हाल जारी निषेधाज्ञा २४ भदौमा सकिने भएकाले त्यसपछि सबै नाकामा यस्तो व्यवस्था गर्न संघीय सरकारसँग माग गरिएको उनले बताए । उपत्यकाभित्र देखिएका संक्रमितलाई संक्रमण चक्रबाट छुट्याएर भित्रको समस्या समाधान गर्दै जाने र बाहिरबाट थपिने समस्या रोक्न नाकामा कडाइ गर्नुपर्ने उनको भनाइ छ ।

यसअघि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पनि सेना परिचालनको प्रस्ताव गरेका थिए । तर, त्यसलाई संघीय सरकारले बेवास्ता गर्दैै आएको छ । काठमाडौंका मेयरहरूले यसअघि पनि सीमामा प्रतिबन्ध लगाए उपत्यकामा संक्रमण नफैलिने बताएका थिए । तर, ६ साउनमा लकडाउन खुलेपछि उपत्यका भित्रिने मानिस बढेसँगै संक्रमण फैलिएको थियो । एक महिनामै पुनः निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

फोरमले सार्वजनिक यातायातलाई ठप्प राखेर तत्काललाई निजी सवारीसाधनमा जोर–बिजोर लागू गर्न सकिने प्रस्ताव गरेको छ । नागरिकलाई स्वास्थ्य सुरक्षा मापदण्डका विषयमा सचेत र जिम्मेवार बनाउनुपर्ने सुझाब पनि फोरमले दिएको छ । यस्तै, उद्योग, व्यवसाय र कलकारखानामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउनुपर्ने प्रस्ताव फोरमको छ ।

निषेधाज्ञा अवधिमा ३८ हजारको कन्ट्याक्ट ट्रेसिङ गरिएको फोरमले जनाएको छ । काठमाडौं महानगरले सात हजार पाँच सयभन्दा बढीको कन्ट्याक्ट टे«ेसिङ गरेको उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले बताइन् ।

बढेको बढ्यै संक्रमण

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको २० दिन बितेको छ । तर, संक्रमण दर घटेको छैन । उपत्यकामा संक्रमित संख्या आठ हजार नौ सय ७६ पुगेको छ । मंगलबार काठमाडौंमा तीन सय, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जनालाई कोभिड–१९ पुष्टि भयो । हालसम्म काठमाडौंमा सात हजार दुई सय १७, भक्तपुरमा सात सय ८२ र ललितपुरमा नौ सय ७७ संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म उपत्यकामा सक्रिय संक्रमित संख्या पाँच हजार पाँच सय ९२ छ । तीमध्ये काठमाडौं महानगरपालिकामा मात्रै चार हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । मन्त्रालयको सहरी स्वास्थ्य महाशाखाका अनुसार २० भदौसम्म महानगरमा तीन हजार सात सय ६३ जना संक्रमित पुगेका छन् । तीमध्ये दुई हजार तीन सय ६२ जना सक्रिय संक्रमित छन् ।

काठमाडौं महानगरमा मात्रै २७ जनाको मृत्यु भइसकेको छ भने नौ सय ६० जना निको भएका छन् । सक्रिय संक्रमितमध्ये एक हजार एक सय ४० जना अस्पताल र संस्थागत आइसोलेसनमा राखिएका छन् । अन्य एक हजार दुई सय २२ जना होम आइसोलेसनमा बसेका छन् ।