दुई सय रोपनी क्षेत्रफलमा लगाइएकाे अलैँची सुक्यो
लमजुङकाे क्व्होँलासोथर गाउँपालिका– ३, बगुमका स्थानीय २६ जना किसानले सामूहिक रूपमा दुई सय रोपनी क्षेत्रफलमा लगाएको अलैँचीखेती सुकेकाे छ । अलैँचीका बाेट यसरी सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।
व्यावसायिक खेतीको प्रतिफलसमेत नपाई बोट मरेपछि आफूहरू मर्कामा परेको स्थानीय किसान गमबहादुर घलेले बताए । पाँच वर्षअघि ०७२ सालबाट उत्तरकन्या अलैँची कृषक समूह गठन गरी स्थानीयले व्यावसायिक अलैँचीखेती सुरु गरेका थिए ।
अलैँची रोपिएपछि फल दिन कम्तीमा तीन वर्ष लाग्छ । अघिल्लो वर्ष यहाँ करिब ६ क्विन्टल अलैँची उत्पादन भएको थियो । यस वर्ष पनि राम्रै उत्पादन हुने अपेक्षा गरिएको भए पनि दाना लाग्नुअघि नै अलैँचीका बोट मरेको स्थानीय कृषक घलेले बताए ।
मौसम अनुकूल नहुँदा र घामपानीको सन्तुलन नमिल्दा अलैँचीका बोटमा ढुसी लागेको हुन सक्ने अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङको भनाइ छ ।
उनले परिस्थिति सामान्य नभएकाले स्थलगत अनुगमन गर्न नसकिएको बताए । वातावरण अनुकूल नभएमा वा अत्यधिक वर्षा भएमा अलैँचीमा पात सड्ने वा डढुवा रोग लाग्ने सम्भावना अधिक हुने कृषि प्राविधिकहरूको भनाइ छ ।
अलैँची सुकेर दाना टिप्न नपाएपछि अहिलेसम्मको लगानी खेर गएको भन्दै कृषकले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले अलैँचीमा लागेको रोग पत्ता लगाउन अलैँची जोन कार्यालयमा निवेदनसमेत दिएका छन् ।
जिल्लाको भुलभुले, लुदी, छिनखोलासहित बाँझाखेत, घनपोखरा, खुदी, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनीलगायतका गाउँका पाखाहरूमा व्यावसायिक अलैँची खेती हुँदै आएको छ ।
पछिल्लो समय जिल्लाका अलैँची कृषकले अलैँची उत्पादन हुने क्षेत्रहरूलाई समेटेर अलैँची जोन कार्यक्षेत्र घोषणा गरेका छन् । लमजुङका अलैँची कृषकले गतवर्ष अलैँची बिक्रीबाट १२ करोड रुपैयाँ आम्दानी गरेका थिए ।
जिल्लामा एक हजार ५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिए तापनि सात सय ३७ हेक्टर क्षेत्रफलमा मात्रै उत्पादन हुँदै आएको छ । अलैँची व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएकाले सहर पसेकासमेत आफ्नै गाउँ फर्किएर अलैँची व्यवसाय सुरु गर्न थालेका छन् । पछिल्लो समय लमजुङ अलैँचीको हब जिल्लाको रूपमा समेत परिचित हुँदै आएको छ ।