१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ भदौ ११ बिहीबार १५:५४:००
Read Time : > 2 मिनेट
फिचर डिजिटल संस्करण

गरिबीको कहर : ज्यानको बाजी लगाएर जीवन खोज्दै मजदुर

Read Time : > 2 मिनेट
२०७७ भदौ ११ बिहीबार १५:५४:००

रेसुंगा नगरपालिका– १२ का ५१ वर्षीय गुनबहादुर विक सदरमुकाम तम्घासनजिकैको उर्लेनी ढुंगाखानीमा काम गर्थे । काम गरिरहेकै अवस्थामा पहिरो खस्यो । गम्भीर घाइते विकको उपचारकै क्रममा ज्यान गयो । उनलाई परिवार पाल्न सजिलो थिएन । त्यसैले अप्ठ्यारो काम पनि वर्षौं गरे । गुनबहादुरको मृत्यु भएको डेढ वर्ष भयो ।

अहिले श्रीमती मनकला त्यही ढुंगाखानीमा गिटी कुटेर गुजारा चलाउँछिन् । ‘पहिरोले आँखैअगाडि श्रीमानको ज्यान गयो, तर के गर्ने ? काम गर्नुको अर्को विकल्प छैन,’ मनकलाले भनिन्, ‘तीन–चारजना केटाकेटीको गाँस धान्न गाह्रो छ ।’ 

गुल्मी दरबार गाउँपालिका– १ बलिथुमकी गान्टीकुमारी कुँवर एक वर्षदेखि बिस्तारामै छन् । उनी शारीरिक रूपमा पहिले पनि अपांग थिइन् । तर, ज्यान पाल्नकै लागि सोही ढुंगा खानीमा काम गर्थिन् । अचानक माथिबाट पहिरो खस्यो । अपांग भएकीले तत्काल भाग्ने कुनै उपाय थिएन । पहिरोले च्यापिएर कुँवरको खुट्टा भाँचियो । ‘दैवले मेरो खुसी देखेन, चोटमाथि चोट खेपिरहेकी छु,’ उनले भनिन्, ‘ढुंगा कुटेर छाक टार्नेलाई योभन्दा ठूलो पीडा के होला ।’ 

पलपलमा बाँचेका छौँ
दैनिक पानी परिरहेको छ । त्यत्तिकै पनि जमिन गलेकाले पहिरोको सम्भावना छ । अझै त्यो अनकन्टार भिरको कपेरामा मान्छेले दैनिक जोखिमपूर्ण काम गर्नुपर्ने बाध्यता छ । ठूलो ढुंगाखानी । सिमसिम वर्षात् । केही तल महिलाले गिटी फुटाउँछन् । कपेरामा बसेर पुरुषले ढुंगा झिक्छन् । ढुंगा फोर्ने, गिटी कुट्ने एकजनाको पनि टाउकोमा हेलमेट छैन । आँखा झिमिक्क गरे जे पनि हुन सक्छ । एउटा ढुंगाबाट झुक्किए पनि खानीका कसैले अँ ! सम्म भन्न पाउँदैनन् । हतपत भाग्ने विकल्प छैन । तर, वर्षौंदेखि सोही ढुंगाखानीमा दुई सय विपन्न परिवारले जीवन खोजिरहेका छन् ।

प्युठान गौमुखी गाउँपालिका– ३ रजबारका ६१ वर्षीय अमरध्वज गुरुङले ढुंगाखानीमा काम गर्न थालेको पाँच वर्ष भयो ।  बिहान ८ बजेबाट घाम नडुब्ने वेलासम्म खानीमै काम गर्छन् । एक ट्याक्टर ढुंगा पुऱ्याए एक हजार पाउँछन् । श्रीमती तुल्सीले गिटी फोर्छिन् । छोरा विक्रमसँगै आफूले ढुंगा निकाल्दै आएको गुरुङले बताए । ‘पलपलमा जोखिम छ, कतिपटक भाग्छौँ,’ उनले भने, ‘काम नगरेरै खान पुग्ने भए प्युठानबाट आउने थिएनौँ ।’ पानी नपरेको वेला ढुंगाखानीमा करिब दुई सयजनाले ढुंगाको काम गर्छन् । खानीमा काम गर्ने गुल्मीसहित बाग्लुङ र प्युठानका छन् । 

वर्षौंसम्म ढुंगाखानीकै भर
प्युठान गौमुखी गाउँपालिका– २ अर्खाकी ५० वर्षीया सुनिता बुढामगरले उर्लेनी ढुंगाखानीमा काम गर्न थालेको १० वर्ष भयो । बुढामगर छोरा र छोरीसहित सदरमुकाम तम्घासमा बस्छिन् । उनी बिहान ८ बजे नै खाना बोकेर आएपछि साँझ अबेरसम्म खानीमा गिटी फोर्छिन् ।

राम्रोसँग गिटी फोर्न पाए १० दिनमा एक ट्याक्टर पुग्छ । ठेकेदारले एक ट्याक्टरको तीन हजारदेखि पैैंतीस सय दिन्छन् । सुनिताले ढुंगा फोरेरै छोराछोरीलाई कक्षा १२ सम्म पढाएकी छिन् । १५ वर्षदेखि श्रीमान् गोविन्द बुढामगर परिवारको सम्पर्कमा छैनन् । बुढेसकालमा खानीमा आउने रहर नभए पनि सदरमुकामको खानपान, कोठाभाडा र छोराछोरीको पढाइ खर्चले बाध्य भएको बुढामगरले बताइन् । 
 

लकडाउनले ढुंगा बिक्री भएनन्
कोरोना संक्रमणको कारण निर्माणको काम ठप्प भएपछि खानीमा ढुंगाको काम गर्नेहरू पनि प्रभावित भए । उनीहरूले निकालेका ढुंगा र गिटी सदरमुकामका विभिन्न निर्माणका काममा खपत हुन्थ्यो । चार महिना कुनै काम भएनन् । जसका कारण ढुंगा र गिटी बिक्री भएनन् । रेसुंगा नगरपालिका– ४ सेउघाका ४१ वर्षीय ज्ञानबहादुर विक र श्रीमती फूलमायाले पाँच दिनमा एक ट्याक्टर गिटी पुऱ्याउँछन् । तर, दुःख गरेर झरीमा कुटेका पाँच–सात ट्याक्टर गिट्टी बिक्री भएनन् ।

‘संक्रमणले गरिबका ढुंगासमेत बिकेनन्, के खाने ? ज्ञानबहादुरले भने, ‘त्यहीमाथि क्रसरले रोजी–रोटी खोस्यो ।’ निर्माण व्यवसायीहरू क्रसरतर्फ आकर्षित भएपछि खानी सञ्चालक र श्रमिक समस्यामा परेको खानी सञ्चालक गिरबहादुर बस्नेतले गुनासो गरे । ‘पहिले क्रसर थिएनन्, हातले फोरेकै गिटी प्रयोग हुन्थ्यो,’ उनले भने, ‘अहिले सरकारी मापदण्ड भनेर क्रसरकै गिटी खोज्न थालेपछि थुप्रै विपन्नको रोजी–रोटी गुम्यो ।’ 

सञ्चालकलाई जोखिमभन्दा काम प्यारो
खानीको जोखिम स्वयं खानी सञ्चालकले पनि महसुस गरेका छन् । तर, आफूहरूको मात्रै विषय नभएर खानीबाटै परिवार पालेकाहरूको जीविकोपार्जन पनि महत्वपूर्ण भएकाले चलिरहेको अर्का खानी सञ्चालक चुराबहादुर बस्नेतले बताए । उनले सबैलाई सकेसम्म जोगिएर काम गर्न आग्रह गर्दै ठूलो पानी परे काम रोक्ने गरेको जानकारी दिए । उर्लेनीमा पाँचजनाले खानी सञ्चालन गरेका छन् ।

खानी सञ्चालक आफैँ जग्गाधनी हुन् । व्यक्तिगत जग्गामा श्रमिकहरूले काम गर्छन् । उनीहरूबाट ढुंगा एक हजारदेखि १२ सयसम्म र गिटी तीन हजारदेखि पैंतीस सयसम्ममा खरिद गर्ने गरिएको खानी सञ्चालक बस्नेतले जानकारी दिए । खानी सञ्चालनहकले श्रमिकबाट निर्माण व्यवसायीलाई ढुंगा २२ सय र गिटी ५५ सयमा प्रतिट्याक्टर बिक्री गर्ने गरेका छन् ।