१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७७ भदौ ११ बिहीबार ०७:०२:००
Read Time : > 4 मिनेट
फिचर प्रिन्ट संस्करण

जहाँ बिरामी, त्यहाँ भेन्टिलेटर

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७७ भदौ ११ बिहीबार ०७:०२:००

सय दिनमै एक हजार भेन्टिलेटर जुटाइँदै, गम्भीर उपचार सेवामा ‘इक्विपमेन्ट सेयरिङ’को अवधारणा एसियामै नौलो, अमेरिका र क्यानडाका अस्पतालमा यस्तो अभियान प्रभावकारी

अमेरिका, क्यानडालगायतका देशमा अस्पतालहरूले भेन्टिलेटर बैंकबाट आफूलाई आवश्यक पर्ने भेन्टिलेटर भाडामा लगेर गम्भीर बिरामीको उपचार गर्दै आएका छन् । ती देशमा पहिल्यैदेखि भेन्टिलेटर सेयरिङ अभियान चलेको पाइन्छ । नेपालमा पनि यस्तै अभियान सुरु भएको छ । नेपाल भेन्टिलेटर सर्भिसेजले आगामी सय दिनभित्र एक हजार भेन्टिलेटर पुर्‍याउने अभियान सुरु गरेको छ । मुलुकका सबै नागरिकलाई ‘क्रिटिकल केयर’ सेवामा पहुँच पुर्‍याउने उद्देश्यसहित भेन्टिलेटर बैंक स्थापना गरिएको हो । बैंकले देशभरिका मुख्य अस्पताललाई आवश्यकताका आधारमा निश्चित सेवा शुल्क लिएर भेन्टिलेटर मेसिन उपलब्ध गराउँछ । गम्भीर उपचारमा ‘इक्विपमेन्ट सेयरिङ’को अवधारणा एसियामै नौलो हो ।

भेन्टिलेटर बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठ भन्छन्, ‘कोभिडको महामारी बढ्दै गइरहेका बेला क्रिटिकल उपचारमा भेन्टिलेटरको अभाव नहोस् भन्ने उद्देश्यले भेन्टिलेटर बैंक स्थापना गरेका हौँ ।’ धुम्बाराहीस्थित भेन्टिलेटर बैंकमा अहिलेसम्म ३१ वटा भेन्टिलेटर मेसिन पुगिसकेका छन् । अबको तीन हप्ताभित्र २६ वटा थपिएर ५७ भेन्टिलेटर पुग्ने उनले बताए । र, क्रमशः भेन्टिलेटर थप्दै एक हजार पुर्‍याउने लक्ष्य राखिएको छ । 

  • नेपाल भेन्टिलेटर सर्भिसेजका पाँच अभियन्ता

नेपालमा सञ्चालित ब्लड बैंकको कन्सेप्टमा भेन्टिलेटर बैंक स्थापना गरिएको हो । ‘जसरी ब्लड बैंकमा पुगेर आवश्यक परेको रगत लिइन्छ, त्यसरी नै भेन्टिलेटर बैंकमा आएर आवश्यक भेन्टिलेटर लैजान सकिन्छ,’ उद्देश्य प्रस्ट्याउँदै श्रेष्ठ भन्छन्, ‘ब्लड बैंकले जसरी नै निश्चित रकम लिएर भेन्टिलेटर उपलब्ध गराउनेछौँ ।’ पूर्णतः गैरनाफामूलक अभियान भए पनि भेन्टिलेटर बैंकलाई सञ्चालन गरिराख्न निश्चित सेवा शुल्क लिनुपरेको उनको भनाइ छ । उनी थप्छन्, ‘अफिसको भाडा, कर्मचारीको तलब, भेन्टिलेटरको मर्मतसम्भार र स्पेयर्स पार्टस्मा खर्च हुने भएकाले सेवा शुल्क लिने निर्णयमा पुगेका हौँ ।’

अहिले कम्पनीले ५० प्रतिशत बैंक ऋण र ५० प्रतिशत दाताबाट सहयोग जुटाएर भेन्टिलेटर किनिरहेको छ । कम्पनीका पाँचजना सञ्चालकले पनि सुरुवातमा केही रकम लगानी गरेका छन् । यो बैंकले देशभरिका सरकारी, निजी तथा सामुदायिक हस्पिटललाई भेन्टिलेटर उपलब्ध गराउनेछ । श्रेष्ठ भन्छन्, ‘हामीले पहिला हस्पिटलसँग एमओयू गर्छौं र हस्पिटलले मागेको बखत भेन्टिलेटर उपलब्ध गराउँछौँ ।’ कम्पनीले निजी, सरकारी र सामुदायिक हस्पिटलका लागि छुट्टाछुट्टै सेवा शुल्क निर्धारण गरेको छ । जसअनुसार आइसियु भेन्टिलेटर सरकारी अस्पताललाई १ हजार, सामुदायिक अस्पताललाई २ हजार र निजी अस्पताललाई ३ हजार रुपैयाँ दैनिक सेवा शुल्क तोकिएको छ ।

बैंकले भेन्टिलेटरको डेलिभरी सुविधा दिएको छैन । अस्पतालले भेन्टिलेटरको ढुवानी खर्च आफैँ बेहोर्नुपर्छ । भेन्टिलेटर बैंककै टेक्निसियन कर्मचारी आफैँ हस्पिटलमा पुगेर मेसिन फिट गरिदिन्छन् । हस्पिटलले एक हप्तादेखि बढीमा तीन महिनासम्म भेन्टिलेटर राख्न पाउनेछन् । भेन्टिलेटर सधैँभरिलाई लैजान पाइँदैन । बैंकले त्यही भेन्टिलेटर अरू हस्पिटललाई पनि उपलब्ध गराउने हो । उनी थप्छन्, ‘अहिले जसरी ब्लड बैंकमा गएपछि रगत पाइन्छ भनेर ढुक्क भइन्छ, त्यसरी नै भेन्टिलेटर बैंकमा गएपछि भेन्टिलेटर पाइन्छ भनेर ढुक्क हुने अवस्था ल्याउँछौँ ।’

यसरी जन्मियो भेन्टिलेटर बैंक 
व्यावसायिक घराना लक्ष्मी ग्रुपका निर्देशक निरञ्जन श्रेष्ठ र डा.विशाल ढकालले वैशाख महिनादेखि नै विभिन्न हस्पिटलमा फिवर क्लिनिक बनाउने काम गरिरहेका थिए । फिवर क्लिनिकमा कोभिड संक्रमणको आशंका गरिएका व्यक्तिलाई ज्वरो नाप्ने काम हुन्छ । यहीबीचमा चीन, अमेरिका, इटालीलगायत विकसित मुलुकहरू नै कोभिडबाट आक्रान्त बनेपछि नेपालमा पनि स्थिति भयावह हुने देखेर क्रिटिकल केयरमा भेन्टिलेटरको चरम अभाव खड्किने उनीहरूले आकलन गरे । कुराकानीकै क्रममा डा.ढकालले प्रस्ताव राखे, ‘फिवर क्लिनिकभन्दा भेन्टिलेटर बैंक पो बढी प्रभावकारी हुन्छ कि !’ पूर्वअर्थसचिव रामेश्वर खनाल, डा. सुवास आचार्य र दीपेन्द्र चौलागाईंले पनि यो अभियानमा सहमत जनाएपछि पाँचजनाको नेतृत्वमा ‘भेन्टिलेटर बैंक’ जन्मिएको हो ।

उनीहरूको कम्पनी रजिस्ट्रार कार्यालयमा भेन्टिलेटर बैंक दर्ता गर्ने सोच थियो । तर, कार्यालयले भेन्टिलेटर बैंक भनेर दर्ता गर्न मानेन । ‘नेपाल भेन्टिलेटर सेर्भिसेज’ भनेर दर्ता भए पनि ब्रान्डिङ भेन्टिलेटर बैंकका रूपमा भइरहेको छ । विशुद्ध परोपकारी सोचसहित पाँचजनाको समूहले २९ अप्रिलमा निरञ्जन श्रेष्ठ अध्यक्ष रहने गरी भेन्टिलेटर सर्भिसेज स्थापना गरेका हुन् । उनीहरूको अभियान ब्लड बैंकको कन्सेप्टबाट प्रभावित छ । यो अभियानले कोभिडका बिरामीको उपचारमा सघाउ त पुर्‍याउँछ नै, भोलिका दिनमा अरू रोगका बिरामीलाई पनि क्रिटिकल केयरमा पहुँच बढाउनेछ । ‘टाढाबाट सुत्केरीलाई बोकेर अस्पताल ल्याउँदा भेन्टिलेटर नपाएर मृत्यु भएको धेरै समाचार सुनिन्छ, अरू धेरै रोगका बिरामीहरूले पनि भेन्टिलेटर नपाएर ज्यान गुमाइरहेका छन्,’ श्रेष्ठ थप्छन्, ‘हामी त्यो अभावलाई मेटाउन चाहन्छौँ ।’ मेसिन खरिद र मर्मतसम्भारमा मोटो रकम खर्च हुने भएकाले पनि धेरै हस्पिटलले भेन्टिलेटर राख्न सक्दैनन् । अब अस्पतालले बैंकबाट भेन्टिलेटर लगेर उपचार गर्न सक्नेछन् । 

एक अर्बको परियोजना

अहिले बजारमा न्यूनतम तीन लाखदेखि अधिकतम २५/३० लाख रुपैयाँसम्मका भेन्टिलेटर उपलब्ध छन् । आफूहरूले खरिद गरेका भेन्टिलेटरको औसत मूल्य १० लाख रुपैयाँ हाराहारी रहने श्रेष्ठ बताउँछन् । एक हजार भेन्टिलेटर पुर्‍याउन करिब एक अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । यो रकम ऋण र दाताबाटै जुटाउने लक्ष्य छ । भेन्टिलेटर बैंकले पाँच हजार रुपैयाँभन्दा माथिको सहयोग लिने गरेको छ । कसैले इक्विपमेन्ट दिइरहेका छन्, कसैले नगद सहयोग गरिरहेका छन् । देशभित्रका कर्पोरेट हाउसदेखि व्यक्तिगत दाताहरू यो अभियानमा जोडिँदै गइरहेको उनको भनाइ छ । यो अभियानमा मनकारी दाताहरूले भेन्टिलेटर मेसिन किनेरै पनि डोनेसन गर्न सक्छन् । उनीहरूले डोनेसन गरेको भेन्टिलेटर भोलि आफैँलाई चाहिँदा सहजै प्रयोग गर्न पनि पाउने छन् । 

भेन्टिलेटर बैंकले सरकारसँग मिलेर पनि काम गर्न चाहिरहेको छ । ब्लड बैंकले पनि सरकारसँग मिलेरै काम गरिरहेको उदाहरण दिँदै श्रेष्ठ भन्छन्, ‘सिसिएमसी र स्वास्थ्य मन्त्रालयसँग कुराकानी अगाडि बढिरहेको छ ।’ स्वास्थ्य मन्त्रालयले कोभिडको उपचारमा भेन्टिलेर निःशुल्क उपलब्ध गराउन आग्रह गरेपछि उनीहरूले महामारीको अवधिभर कोरोना संक्रमितको उपचार हुने सरकारी अस्पताललाई निःशुल्क भेन्टिलेटर प्रयोग गर्न दिने सोच बनाएका छन् । 

भेन्टिलेटर बैंक स्थापना भएको तीन महिनामा विभिन्न अस्पतालहरूले ३१ वटा भेन्टिलेटर लगिसकेका छन् । टिचिङ हस्पिटलले तीन थान, वीरगन्जको नारायणी अस्पतालले ६ थान र भक्तपुरको नेपाल कोरिया फ्रेन्डसिप हस्पिटलले २ थान साथै केही निजी अस्पतालले पनि भेन्टिलेटर लगिसकेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६ थान भेन्टिलेटर लैजान एमओयुको प्रक्रिया अगाडि बढेको छ । श्रेष्ठ भन्छन्, ‘कतिपय अस्पतालले भेन्टिलेटर लगेर बिरामीको उपचार गरी फर्काइ पनि सकेका छन् ।’

भेन्टिलेटर बैंकमा धेरै हस्पिटलबाट ‘इन्क्वायरी’ आउन थालेको छ । तर, सबैलाई भेन्टिलेटर उपलब्ध गराउन सक्ने अवस्था छैन । त्यसैले सकेसम्म चाँडै एक हजार थान भेन्टिलेटर पुर्‍याउन अभियानकर्ता कस्सिएर लागेका छन् । भेन्टिलेटर बैंकमा अहिले पर्याप्त मेसिन नहुँदा बजारको माग धन्न कठिन छ ।

सञ्चालकहरूले भेन्टिलेटर किन्न ५० प्रतिशत ऋण र ५० प्रतिशत सहयोग जुटाउने काम गरिरहेका छन् । ‘यो परोपकारी अभियानमा सबैजनाले हातेमालो गर्न सक्नुहुन्छ, भोलिका दिनमा बिरामीले भेन्टिलेटर नपाएरै ज्यान गुमाउनुपर्ने अवस्था आउनुहुँदैन,’ उनी थप्छन्, ‘अब अस्पतालले बिरामी आउनसाथ तुरुन्त बैंकमा आएर भेन्टिलेटर लैजान सक्छन् । सरकारी, सामुदायिक र निजी अस्पतालले बिरामीलाई दैनिक जति शुल्क लिएर क्रिटिकल केयर सेवा दिइरहनुभएको छ, त्योभन्दा धेरै कम शुल्क लिएर हामीले भेन्टिलेटर उपलब्ध गराउँछौँ । हिजोको दिनसम्म भेन्टिलेटरको अभाव थियो, अब कसैले खोज्नासाथ भेन्टिलेटर उपलब्ध हुनेछन् ।’

अहिले देशभरिका अस्पतालले भेन्टिलेटर लैजान र फिर्ता गर्न काठमाडौं धाउनैपर्ने बाध्यता छ । भोलिका दिनमा सातै प्रदेशमा भेन्टिलेटर बैंक स्थापना गरेर सेवा दिने लक्ष्य सञ्चालकको छ ता कि जिल्लातिरका अस्पतालमा आउने बिरामीले पनि तुरुन्त भेन्टिलेटर सेवा लिन सकून् । श्रेष्ठ भन्छन्, ‘बिरामी भेन्टिलेटर भएको ठाउँ खोज्दै धाउने होइन कि भेन्टिलेटर बिरामी भएको ठाउँमा पुर्‍याउने हो ।’ अहिले बिरामी सेवा खोज्दै सहर धाउनुपर्ने बाध्यता छ । उनीहरूको दीर्घकालीन सोच क्रिटिकल केयर सेवा गाउँगाउँसम्म पुर्‍याउने रहेको छ ।

‘हामीले भेन्टिलेटर बैंकको अभियान सुरु गर्दा अमेरिका र क्यानडामा सुरु भइसकेको रहेछ,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘हामीलाई पहिला थाहा थिएन, पछि बुझ्दै जाँदा थाहा पायौँ ।’ कतिपयले नेपालमा भेन्टिलेटर बैंकको अभियान सफल नहुने भन्दै प्रश्न तेर्स्याउन थालिसकेका छन् । तर, यी पाँच अभियन्ता आफ्नो अभियान सफल हुनेमा ढुक्क छन् । सुरुवाती समयमा भेन्टिलेटर बैंक ऋण तथा डोनेसनबाट चलाउन खोजे पनि दीर्घकालमा कम्पनीको आफ्नै आम्दानीबाट सञ्चालन गर्ने लक्ष्य छ । कुराकानीको बिट मार्दै श्रेष्ठ भन्छन्, ‘हामी सय दिनमा एक हजार भेन्टिलेटर पुर्‍याउने लक्ष्यसहित अगाडि बढिरहेका छौँ, सबैको सहयोग पाएमा हाम्रो अभियानले मूर्तरूप लिनेछ ।’