बजार अनुगमनका क्रममा नियन्त्रणमा लिइएका सुन ‘बेपत्ता पार्ने’ वाणिज्य विभागका पूर्वनिर्देशकसहित तीनजनाविरुद्ध मुद्दा दायर
बजार अनुगमनका क्रममा गुणस्तर परीक्षण गर्न ‘नमुना’का रूपमा लिइएका गहना बेपत्ता पार्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका दुईजना पूर्वनिर्देशकसहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले विभागका तत्कालीन निर्देशकद्वय लक्ष्मण श्रेष्ठ र हरिनारायण बेल्बासे तथा एक नासु रामबहादुर थापामगरविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरूले बजार अनुगमनबाट परीक्षण गर्न ल्याइएका सुनका गहनाको यथार्थ विवरण नराखी हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
निर्देशकद्वय श्रेष्ठ र बेल्बासे सरकारी सेवामै कार्यरत छन्, नासु सेवानिवृत्त भइसकेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले ७ माघ ०७३ मा काठमाडौंको न्युरोडको नोज पिन हाउस र ३० चैतमा पोखराका दलबहादुर एन्ड सुनचाँदी पसल, दि युटाइटेड ज्वेलर्स प्रालि, गोरखा एन्ड बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि, फेवा सन्तोष सुनचाँदी दोकान र अर्जुन पुम्दीभुम्दी सुनचाँदी पसल, पोखरामा अनुगमन गरी सुनका गरगहना जफत गरेका थिए ।
अनुगमन गरेर जफत गरिएका ती सुनचाँदी कार्यालयमा बुझाउनुपर्नेमा नबुझाई हिनामिना गरेको आरोप अख्तियारको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट ती गहना जफत गर्ने ठहरसहितको फैसला हुँदा पनि श्रेष्ठले बेवास्ता गरेका थिए ।
कतिसम्म भने सरुवा हुँदा पनि ती गहना उनले कार्यालयमा नबुझाएको अख्तियारले उल्लेख गरेको छ ।
त्यस्तै, श्रेष्ठकै नेतृत्वमा काठमाडौंको विशाल बजारको ओम ज्वेलर्स र नटराज ज्वेलर्स तथा न्युरोडको समृद्धि ज्वेलर्स, श्री गणेशाय ज्वेलर्स, ब्लु हर्ष ज्वेलर्समा अनुगमन गरी संकलन गरिएका गहना नासु (हाल सेवानिवृत्त) रामबहादुर थापामगरले स्टोरकिपरका रूपमा जिम्मा लिएका थिए ।
तर, सेवा निवृत्त हुँदासमेत फिर्ता नगरेको अभियोगपत्रमा उल्लेख छ ।
त्यस्तै, विभागकै निर्देशक हरिनारायण बेल्बासेले काठमाडौंको सूर्यबहादुर एन्ड सन्स ज्वेलर्समा अनुगमन गरी जफत गरेको सुनका गहना आफैँले लगेका थिए । काठमाडौं जिल्ला अदालतबाट समेत फैसला हुँदा पनि उनले ती गहना फिर्ता गरेनन् ।
अख्तियारले अनुगमन गरी तफत गरिएका सुनका गहना १४.१८ ग्रामको बिगो ६६ हजार, २०.५९ ग्रामको बिगो ८९ हजार, १४.७५ ग्राम सुन र ७७.४२ ग्रामको चाँदीको चाँदीका गहनाको बिगो ७५ हजार कायम गरेको छ ।
प्रतिवादीविरुद्ध कानुनबमोजिमको कारबाही र गहना जफत गर्न माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।