सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २० शनिबार
  • Saturday, 04 July, 2020
पृथीछक बुढा
२०७७ जेठ २७ मंगलबार १८:२५:००
ब्लग

लकडाउन लम्बिँदै छ, गोजी रित्तिँदै छ

पृथीछक बुढा
२०७७ जेठ २७ मंगलबार १८:२५:००
?>

रुकुम–रोल्पामा जन्मेकाले युद्धको कहर पनि भोगियो । मृत्युलाई नजिकबाट अनुभूति पनि गरियो । त्यतिखेर मार्न आउनेलाई आँखाले देखिन्थ्यो र तिनीहरूलाई छल्दै जंगल पस्थ्यौँ । अहिलेको कोरोनासँग भाग्न सक्दैनौँ । छल्न पनि सक्दैनौँ । मुकाबिल गर्नुको विकल्प छैन । आँखाले नदेखिने कोरोनाले पाइला–पाइलामा एम्बुस थापेजस्तो लागिरहेको छ । 

वैदेशिक रोजगारको यो १६ वर्ष यात्रामा आँखैअगाडि ठडिएको देखियो, विशाल भवनहरू । कहिल्यै विश्राम नलिने यी विशाल इमारतहरू, मलहरू, मेट्रो लिगहरू अहिले विश्राम लिएको देख्दा कति नसुहाउँदो देखिएको छ । यो स्तब्धता हेर्दा लाग्छ, समय नै टक्क रोकिएको छ । 

युएईको सेख जायद रोडमा साँझपख देखिने त्यो ट्राफिक जाम कहाँ गयो ? ती असंख्य गाडी कुन सहरमा छिपे ? मेट्रोको त्यो लाखौँको भिड कहाँ हरायो ?

राति घरको छतमा उक्लिएर हेर्छु, जताजतै सुनसान देखिन्छ । मान्छे नहुँदा बिल्डिङहरूमा बल्ने बिजुलीबत्ती र सडकका ल्याम्पपोस्ट र ट्राफिक सिग्नलहरूमा बल्ने बत्तीले मात्रै शोभा नदिने रहेछ । 

असामाजिकजस्ता मान्छे । सबै घमन्डीजस्ता । हात मिलाउन पनि नमिल्ने । दूरीको हिसाबले डेढ–दुई मिटर टाढा भागिहाल्ने, बोल्ने र भलाकुसारी त परको कुरा । सबैले मास्क लगाएका छन् । मान्छेबाट मान्छे भागिरहेका छन् । 

सँगैका साथीहरूको तलब नआएको दुई महिना बित्दै छ । यदि फ्रिज भर्न सकेनौँ भने कोरोनाले भन्दा पहिला भोकमरीले मरिनेछ ।

जरुरी काममा बाहेक बाहिर निस्किन पनि मिल्दैन । कोठाबाट बाहिर निस्किन पनि डर लागिहाल्ने । सबै मान्छे कायर भएजस्ता । नदेखिने भाइरससँगभन्दा मान्छे मान्छेसँगै धेरै डराएका छन् । 

धेरै मजदुरहरू अनपेडमा बस्नुपरेको छ । सबैको कहानी आ–आफ्नै छ । कहानीहरू बेग्लाबेग्लै भए पनि दुखाइ सबैको एउटै छ । यही दुखाइले भावनामा चुर्लुम्मै डुबाइदिन्छ, वेलावेलामा । त्यसपछि फुर्छ, कारुणिक साहित्य । जसलाई फेसबुकको भित्तामा पोखिन्छ । 

केही दिनदेखि बिरामी परेको छु । जँचाउन गएको छैन । अब जान्छु । टाउको दुख्छ र भित्रभित्रै ज्वरो पनि छ । कोरोनै लागे पनि कोरोनाले मलाई जित्ने सम्भावना छैन । किनकि मेरो मनोबल दह्रो छ । 

नाइफ र अलरस साइडमा लकडाउन भएको महिना दिन भयो । म मुटिना पार्कनजिकै बस्छु । आजभोलि पार्क खाली छ । कोही टहलिन आउँदैन । पार्कमा आउन प्रशासनले रोक लगाएको छ । देरा एरियामा कम्पनीको क्वाटरभन्दा पनि आफ्नै निजी कोठा लिएर बस्ने थुप्रै नेपाली छन् । हामी पनि आफ्नै निजी कोठा लिएर बसेका छौँ । हामी जम्मा ६ जना छौँ । मबाहेक सबै साथी अनपेडमै छन् । 

लकडाउनसँग मुकाबिल गर्न तीनपटक फ्रिज भरेका छौँ । पहिलो हप्तामा फ्रिजहरू चिकेन मटनले भरिए । दाम केही महँगो हुने नै भो । दोस्रो हप्ता चिकेन मटनको परिणामलाई घटायौँ । केही सस्तो लागेकाले हो । तुलनात्मक रूपमा बजारभाउ माथि उक्लिने नै भयो । तेस्रोपटक अलिकति बाठो भएका छौँ । सब्जीहरूको मूल्य हेरेर फ्रिज भरेका छौँ । हामीलाई थाहा भइसकेको छ कि लकडाउनको आयु अझै लम्बिनेछ । गोजी पनि रित्तिँदै गएको छ ।

चौथोपटक कसरी फ्रिज भरिन्छ ? अहिलेसम्म कुनै योजना बनेको छैन । सँगैका साथीहरूको तलब नआएको दुई महिना बित्दै छ । यदि फ्रिज भर्न सकेनौँ भने कोरोनाले भन्दा पहिला भोकमरीले मरिनेछ । 

हामीलाई आशा छ, कोरोनाको महामारी बिस्तारै कम हुनेछ । त्यसपछि सबैका लागि विकल्प खुला हुनेछ । घर जान चाहनेहरू जानेछन् । विश्व अर्थतन्त्रमा खासै उतारचढाव आएन र परिस्थिति सकारात्मक भयो भने पाँचैजनाले रोजगारीलाई निरन्तरता दिने योजना बनाएका छौँ । 
युएईबाट

छुटाउनुभयो की ?