सरकारले कोरोना संक्रमण जोखिम रोक्न जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याएपछि सेयर बजार पनि त्यतिवेलासम्म बन्द हुने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाका अनुसार लकडाउनमा सेयर बजार खुलाउँदा असहज वातावरण बनेपछि बन्द गर्नु नै उपयुक्त देखिएको हो ।
यसअघि लकडाउनकै बीच गत वैशाख ३० र ३१ गते दुई दिन सेयर बजार खुलेको थियो । सो दुई दिनको कारोबारमा नेप्से करिब ५० अंक घटेपछि लगानीकर्ताले बजार बन्द गर्न दबाब दिएका थिए । सोही कारण सेयर बजार लकडाउनको अवधिमा नखोल्ने निर्णय गरिएको ढुंगानाले जानकारी दिए । लगानीकर्ताले दुई दिनको कारोबारमा चलखेल भएको भन्दै सो दिनको कारोबार रद्द गर्नसमेत माग गरेका छन् । यसबारे छानबिन गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएको थियो ।
यता, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले छानबिन गरी प्रतिवेदन बोर्डमा बुझाएको जानकारी दिए । बोर्डले भने प्रतिवेदन सार्वजनिक गरेको छैन । तर, सो दिनको कारोबारमा कुनै चलखेल नदेखिएको साउदले दाबी गरे ।
साउदका अनुसार दुई दिनको कारोबारमा कसले कति अर्डर हालेको, खरिद कस्तो थियो, माग कस्तो थियो भनेर अनुसन्धान गरेको थियो । त्यसको अनुसन्धानपछि चलखेल नदेखिएको साउदको भनाइ छ ।