१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
टेकबहादुर थापा
२०७७ जेठ १८ आइतबार १०:१८:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

नियमित दूध सेवन गरौँ, रोगप्रतिरोधात्मक क्षमता बढाऔँ

Read Time : > 4 मिनेट
टेकबहादुर थापा
२०७७ जेठ १८ आइतबार १०:१८:००

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको आह्वानमा सन् २००१ देखि जुन १ लाई अन्तर्राष्ट्रिय दूध दिवसका रूपमा मनाइँदै आएको छ । दूधको खाद्य सुरक्षा र पोषणमा महत्वका साथै रोजगारीका लागि महत्वपूर्ण योगदान भएकाले यो दिवस मनाउन सुरु गरिएको हो ।

सन् २०१९ मा एक सय सात देशमा विश्व दूध दिवस मनाइएको थियो । यो दिवस मनाउँदा दूध उत्पादनमा गोठदेखि ओठसम्म पुग्दासम्म स्वच्छ प्रक्रिया अपनाउन प्रशिक्षित गर्ने तथा दूधको महत्वबारे सुुसूचित गर्ने गरिन्छ । नेपालले पनि दूधको उपयोगमा वृद्धि गर्न सन् २०११ देखि यो दिवस मनाउँदै आएको छ ।

यस वर्ष कोभिड-१९ का कारण विश्व दूध दिवसका कार्यक्रम सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत मनाइँदै छ । दूध सेवनले पोषण प्राप्त हुनुका साथै रोग संक्रमणबाट बच्न प्रतिरोधात्मक क्षमतासमेत वृद्घि हुने चेतनामूलक सन्देश प्रवाह गरिनेछ । साथै, विश्व स्वास्थ्य संगठनले समेत मासुजन्य पदार्थ उपभोगमा न्यूनीकरणको सुझाब दिँदै दूधजन्य पदार्थको सेवनमा जोड दिएको छ । दूध र दूधजन्य पदार्थमा मानव शरीरका लागि अत्यावश्यक चिल्लो पदार्थ, प्रोटिन, ल्याक्टोज, क्याल्सियम, म्याग्नेसियम, भिटामिन ए, बी, डी, ई, तथा ल्याक्टोफेरिन, इम्युनोग्लोबुलिनलगायत तत्व पाइने हुँदा यसले मानव शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । 

दूध र दूधजन्य पदार्थमा मानव शरीरका लागि अत्यावश्यक चिल्लो पदार्थ, प्रोटिन, ल्याक्टोज, क्याल्सियम, म्याग्नेसियम, भिटामिन ए, बी, डी, ई, तथा ल्याक्टोफेरिन, इम्युनोग्लोबुलिनलगायत तत्व पाइने हुँदा यसले मानव शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । 

सन् २०१९ मा १८ करोड ७० लाख टन दूध उत्पादन गरेको भारत विश्वमै सबैभन्दा धेरै दूध उत्पादन गर्ने देशमा पर्छ । युरोपियन युनियन र अमेरिकाले क्रमशः दोस्रो र तेस्रो स्थान ओगट्छन् । इन्टरनेसनल डेरी फेडेरेसन (आइडिएफ) विश्वको डेरी क्षेत्रलाई प्रतिनिधित्व गर्ने संस्था हो ।

डेरी र पशु व्यवसायमा आबद्घ देशले आ-आफ्नो दूध उत्पादन, वितरण र उपभोगसम्म आइपुग्दाका सम्पूर्ण शृंखलाका पात्रलाई समावेश गरेर आइडिएफ राष्ट्रिय कमिटी गठन गरेका छन् । तिनै राष्ट्रिय कमिटीले आइडिएफको सदस्यता मुलुकको दूध उत्पादनको मात्राका आधारमा शुल्क निर्धारण गर्छन् । त्यसका विभिन्न समितिमा सहभागी भई ज्ञान र दक्षता आदान–प्रदान हुने गर्छ । हालसम्म नेपालले आइडिएफको आधिकारिक सदस्यता लिएको जानकारीमा छैन । 

ग्लोबल डेरी प्लाटफर्मको प्रतिवेदन (२०१९) अनुसार विश्व अर्थतन्त्रमा डेरी क्षेत्रले पोषण, आयआर्जन र रोजगारीमा ठूलो योगदान पु-याएको छ । विश्वको एक अर्ब जनसंख्या दूधजन्य व्यवसायमा छ । विश्वका करिब १३ प्रतिशत मान्छे दूध उत्पादन व्यवसायमा आश्रित छन् भने करिब ६० करोेड जनसंख्याले १३ करोड ३० लाख डेरी व्यवसाय सञ्चालन गरी अर्थोपार्जन गरिरहेका छन् ।

आइडिएफ (२०१७) का अनुसार यस वर्ष विश्वभरि ८१ करोड ६० लाख टन दूध उत्पादन भएको थियो, जसमा गाईको दूध ६९ करोड ६० लाख टन उत्पादन भएको थियो । विश्वका प्रमुख पाँच कृषि उत्पादनमा दूध पनि पर्छ । अतः दूध पोषण, अर्थतन्त्र, उद्योग, व्यवसाय, रोजगारी, आयआर्जन आदि विभिन्न कारणले विश्वकै महत्वपूर्ण कृषि–पशु उपजमा पर्छ । र, यसको महत्व दर्साउन र जनचेतना फैलाउन विश्व दूध दिवस मनाउन लागिएको हो ।

साथै, आइडिएफले हरेक वर्ष आफ्ना सदस्य राष्ट्रको सहभागितामा विश्व डेरी सम्मेलन पालैपालो विभिन्न देशमा आयोजना गर्छ । जसमा उत्पादक, उपभोक्ता, नीतिनिर्माता, डेरी अनुसन्धान संस्था, विज्ञहरूको सहभागिता हुन्छ । यस वर्षको सम्मेलनको जिम्मा दक्षिण अफ्रिकाको राष्ट्रिय डेरी कमिटीले पाएको थियो । तर, कोभिड-१९ का कारण २०२० को सम्मेलन स्थगित भएको छ ।

कोभिड-१९ महामारीले विश्व अर्थतन्त्र तहसनहस पारेको वेलामा नेपालको अर्थतन्त्र र यसभित्रको डेरी उद्योग पनि प्रभावित हुने नै भयो । डेरी क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा लगभग नौ प्रतिशत योगदान गर्छ । ग्रामीण भेगमा आयआर्जन, रोजगारी र अर्थतन्त्र चलायमान पार्न महत्वपूर्ण योगदान पु-याएको छ । पशुपालनबाट प्राप्त गोबर र गहुँतले माटोलाई उर्वर राखेर कृषि उपज बढाउन सघाउँछ ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५-७६ मा २१ लाख ६८ हजार चार सय ३४ टन दूध उत्पादन भएको थियो । यसमा भैँसीको दूध लगभग ६५ प्रतिशत र गाईको ३५ प्रतिशत छ । यसमध्ये संगठित क्षेत्रले लगभग १७ प्रतिशत दूध प्रशोधन गरी उपभोक्तासम्म पु-याएका थिए । तर, महामारी बढ्दै गएपछि रोजगारी र आम्दानीको अभावमा उपभोक्ता थातथलोमा फर्केका छन् र सहरी क्षेत्रमा दूधको खपत उल्लेख्य घटेको छ । 

सहरमा खपत घटेकाले ग्रामीण भेगमा दूधको संकलन घट्यो । किसानले दूध सडकमा पोखेका समाचार पनि आए । केही संकलन केन्द्रले सुरक्षा निकाय आदिलाई दूध बाँडेको खबर पनि आयो। 

देशमा सञ्चालित धुलो दूध कारखानाले आफ्नो क्षमताले भ्याएसम्म संकलन गरी धुलो दूध र मखन उत्पादन गरे पनि लकडाउन लम्बिरहँदा दुईवटा समस्या थपिए । पहिलो, धुलो दूध र मखन भण्डारण गर्ने ठाउँ भरिएर उत्पादन राख्ने ठाउँ भएन । उत्पादन बिक्री नभएपछि पुँजी थन्किएका कारण किसानलाई भुक्तानी गर्न कठिनाइ भयो । 

डेरी क्षेत्रलाई बचाउनु छ भने सुरुमा त हाल बिक्री भइरहेको प्रशोधित दूधका अलावा ‘होल मिल्क’ नै बजारमा पठाउनुपर्छ, जसले गर्दा क्रिम-मखन उत्पादन कम हुन्छ र पुँजी रोकिने समस्या कम हुन्छ । बजारमा छिमेकी मुलुकबाट आयातित ‘होल मिल्क’ बिक्री भइरहेका छन् । उद्योगहरूले लामो अवधिसम्म राख्न सकिने दूधजन्य पदार्थ पूर्ण क्षमतामा उत्पादन नगरी हुन्न । 

यसका लागि सरकारले भण्डारमा भएको दूधजन्य उत्पादनको कमसेकम ५० प्रतिशत मूल्यबराबरको रकम ६ देखि नौ महिनासम्मको निब्र्याजी ऋण उद्योगलाई दिनुपर्छ । वर्तमान आपत्कालीन परिस्थितिमा विशेष निर्णय गरी उत्पादक र उपभोक्तालाई मर्का नपर्ने गरी मूल्य समायोजन गरी दूधको भाउ घटाउँदै खपत बढाउनुपर्छ । अन्यत्र यस्तो उपाय अपनाइएका छन् ।

स्थानीय पाउडर दूध सानो प्याकमा उपलब्ध छैन । आयातीत पाउडर दूध तीन सय ग्रामका प्याकेटमा पनि पाइन्छन् । स्वदेशी उद्योगले पाउडर दूधको खुद्रा बिक्रीका लागि सानो प्याकेटमा उत्पादन बजारमा पु-याउनै पर्छ । विभिन्न देशले संकटग्रस्त उद्योगका लागि उद्घार प्याकेज घोषणा गरेका छन् ।

जापानले कूल गार्हस्थ्य उत्पादनको २१ प्रतिशतको राहत घोषणा गरेको छ भने नेपालले कुल पाँच प्रतिशतबराबरको रकम राहत कोषमा राख्ने घोषणा गरेको छ । डेरी उद्योगलाई उत्पादनको भण्डारमा निब्र्याजी ऋण, मूल्यमा १० प्रतिशत अनुदान दिए खपत बढ्न गई राहत पुग्नेछ । डेरी उद्योगसँग पाउडर दूध र मखन भण्डारण गर्ने क्षमता सीमित छ । दुई हप्ताअगाडिको सूचनाअनुसार लगभग १७ सय टन पाउडर र १२ सय टन मखन भण्डारणमा छ । बागमती प्रदेशमा सरकारले नै भण्डारण स्थापना गरे राहत पुग्नेछ । 

किसान, सहकारी तथा उद्योगका साथै नियमनकारी निकायले दूधको गुणस्तर गोठदेखि नै सुधार गर्ने प्रयास अझ तीव्र गर्न जरुरी छ । गुणस्तरमा ध्यान नदिए स्थानीय उत्पादनको बजार विस्तार हुँदैन । नेपाल डेरी साइन्स एसोसिएसनले सबै सरोकारवालाको सहभागितामा ‘स्वास्थ्य र समृद्धिका लागि गुणस्तरीय दूध’ विषयका गोष्ठी आयोजना गरी गुणस्तर सुधार गर्न सुझाब दिएको थियो ।

यसले विद्यमान समयमा लागू भइरहेको दूध र दूधजन्य पदार्थको गुणस्तरसम्बन्धी मापदण्ड परिमार्जन गर्न अपरिहार्य भएको सुझाएको थियो । गुणस्तर गोठदेखि ओठसम्म कायम हुनुपर्ने भएकाले गुणस्तरको अनुगमन पनि गोठबाटै सुरु हुनुपर्छ । गुणस्तरअनुसार दूधको मूल्य प्रणाली लागू गरे उच्च गुणस्तरको दूध संकलन गर्न सकिन्छ । यसले डेरी उद्योगलाई बढी प्रतिस्पर्धी पनि बनाउँछ । गुणस्तरीय दूध उत्पादन गर्नु खर्चिलो प्रक्रिया हो । यसैले दूध संकलन बढाउन र विस्तार गर्न दूध चिस्याउने केन्द्रको पूर्वाधारमा सुधारका लागि लगानी वृद्घि गर्न जरुरी छ ।

(लेखक नेपाल डेरी साइन्स एसोसिएसनका अध्यक्ष हुन्) 
 [email protected]