१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ जेठ ११ आइतबार १८:०८:००
Read Time : > 1 मिनेट
समाचार

विद्यालयस्तरको पठनपाठन सुरु गर्न र एसइई परीक्षा स्थगन गर्न विज्ञहरूकोे सुझाब

Read Time : > 1 मिनेट
२०७७ जेठ ११ आइतबार १८:०८:००

शिक्षाविद्हरूले विद्यालयस्तरको पठनपाठन सुरु गर्नेे व्यवस्था मिलाउन र एसइईको परीक्षा स्थगन गर्न सुझाब दिएका छन् । लामो समयसम्म पठनपाठन बन्द गर्दा बालबालिकाको मनोविज्ञानमा असर पर्ने भन्दै कुनै उपाय अपनाई विद्यालयस्तरको पठनपाठन सुरु गर्न विज्ञहरूले सुझाब दिएका हुन् ।

संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको आइतबारको बैठकमा विज्ञहरूले एसइईको परीक्षा स्थगित गर्न र विद्यालयलाई सञ्चालन गर्ने वातावरण निर्माण गर्न सुझाब दिएका हुन् ।

शिक्षाविद् डा. मनप्रसाद वाग्लेले विद्यार्थीलाई पालैपालो सिफ्टवाइज विद्यालय बोलाएर पढाइ सुचारु गर्नुपर्ने सुझाब दिए । उनले अहिले देशभरका अधिकांश विद्यालयलाई क्वारेन्टाइन बनाइएको र त्यसको व्यवस्थापन कठिन हुने भन्दै सरकारले तत्काल विचार गर्नुपर्ने बताए । उनले विद्यालयलाई निर्मलीकरण गर्ने, पालैपालो विद्यालयमा बोलाउने, विद्यार्थीलाई मास्क, पन्जा र स्यानिटाइजरको व्यवस्था गर्ने, प्रत्येक विद्यालयमा इन्फ्रारेड थर्मोमिटरको व्यवस्था गर्ने, शौचालयको राम्रो व्यवस्था गर्नेलगायतका काम गर्न पनि सुझाब दिए ।

लकडाउनमा केही विद्यालयले अनलाइनबाट पढाइ सुरु गरे पनि सबै विद्यार्थीमा इन्टरनेटको उपलब्धता नहुने भएकाले उक्त प्रविधि सबैका लागि उपयुक्त नहुने पनि विज्ञहरूले बताए । टेलिभिजन, रोडियो, छापा र अनलाइन मिडियामार्फत पढाउने गरी सरकारले पाठ्यक्रमको विकास गर्नुपर्ने विज्ञहरूको सुझाब छ । शिक्षाविद् डा. विद्यानाथ कोइरालाले अध्यादेश जारी गरेर भए पनि कक्षा १० र ११ को परीक्षा हटाउनुपर्ने बताए । उनले कोरोनाको समयमा विद्यालय सञ्चालन गर्न कठिन भए उत्पादनसँग जोडेर शिक्षा प्रणालीको विकास गर्नुपर्ने बताए ।

सांसद डा. मीनेन्द्र रिजालले प्रविधिको प्रयोग गरी विद्यायल शिक्षालाई सुचारु गर्न सकिने बताए । उनले सरकारले प्रविधिको विकासका लागि स्राेत दिने र स्थानीय तहबाट शिक्षाका क्रियाकलापलाई व्यवस्थापन गर्ने गरी काम गर्नुपर्ने बताए ।

सांसद पम्फा भुसालले विद्यालय शिक्षालाई नियमित कसरी गर्ने, परिमार्जन कसरी गर्ने भन्ने विषयमा तत्काल निर्णय गर्नुपर्ने बताइन् । उनले एसइई परीक्षा हटाई कक्षा १२ को परीक्षा परीक्षा बोर्डबाट लिनुपर्ने बताइन् ।

सांसद प्रभु साहले कोरोना भाइरसको जोखिमको अवस्था कति लामो समयसम्म जान्छ र विद्यालय कहिलेसम्म बन्द हुन्छ भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताए । लामो समय विद्यालय बन्द हुने, अनलाइन पाठ्यक्रमको विकास र प्रणालीको विकास गर्न समय लाग्ने भएकाले मन्त्रालयले योजनाको विषयमा समितिले जानकारी लिएर अगाडि बढ्नुपर्ने उनले बताए ।

गत ११ चैतमा लकडाउन भएपछि एसइईको परीक्षा स्थगित भएको छ । लकडाउनका कारण विद्यालय सञ्चालनमा आउन सकेका छैनन् ।