सांगीतिक कार्यक्रमको सिलसिलामा क्यानाडामा थिएँ । कार्यक्रम हुनुअघि नै कोरोना भाइरसको सन्त्रास सुरु भएकाले स्वदेश फर्किएँ । यहाँ आएर तीन साता परिवारबाट टाढा सेल्फ क्वारेन्टाइनमा बसेँ । शरीरमा कुनै प्रकारको समस्या नदेखिएपछि मात्र मन ढुक्क भयो । अहिले मनोबल बढेको छ र तनाव पनि सकिएको छ । अहिले घरभित्रै सांगीतिक माहोलमा छु, तीनवटा गीतमा काम गरिरहेको छु । कम्पोजिसन, मेलोडी सिर्जना र लिरिक्स संयोजनको काम भइरहेको छ ।
छोरीहरूसँगै योग र शारीरिक व्यायाम गर्छु । उनीहरूसँग रमाइलो गरी समय बितिरहेको छ । अस्तव्यस्त जीवनले अहिले लय समातेको छ ।
हरिहर तिमल्सिनाको शब्द रहेको ‘गाउँको याद आयो प्रिया घरको याद आयो, परदेशमा दिलमायाको चर्को याद आयो’ बोलको गीतमा काम गरिरहेको छु । यो गीत रेकर्डको तयारीमा छ । अहिलेको विषम परिस्थितिमा साथमा हुन नपाएका आफन्तको प्रतिनिधित्वसमेत गर्छ, यो गीतले ।
बिहान छोरीहरूसँगै योग र शारीरिक व्यायाम गर्छु । उनीहरूसँग रमाइलो गरी समय बितिरहेको छ । अस्तव्यस्त जीवनले अहिले लय समातेको छ । मनपरेका पुस्तक पढ्ने, युट्युबमा सिनेमा हेर्ने र गीत सुन्ने गरेको छु । घरमा बसेपछि भोक लागिरहने बानी भएको छ । ऊर्जा खपत नभएपछि त भोक नलाग्नुपर्ने हो, तर उल्टो भइरहेको छ ।
कोरोना भाइरस फैलिन नदिन लकडाउनको विकल्प छैन । यसलाई सबैले पालना गर्नुपर्छ । अझ सचेत वर्गले यसको पालना गर्दै अरूमा पनि चेतना भर्नुपर्छ । यसको निराकरण नहुन्जेल सचेत भइएन भने स्थिति भयावह बन्नेछ । अहिले नै ज्वरो आयो भन्नासाथ आफन्त र साथीभाइ टाढिन थालेका छन् । संक्रमण फैलियो भने के होला !