कोरोना भाइरसबारे गाउँगाउँमा सचेतना फैलाउँदै प्रहरी
कोरोना भाइरस (कोभिड– १९) को त्रास बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गाउँगाउँमा पुगेर कोरोना भाइरसबारे सचेतना अभियान चलाएको छ । डडेल्धुराको अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाका विभिन्न गाउँँमा गएर सर्वसाधारणलाई कोरोना रोग र यसबाट बच्ने उपायको विषयमा जानकारी दिन थालेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।
कोरोना भाइरस संक्रमणलाई फैलिन नदिन सचेतनामूलक कार्यक्रम गरी प्रहरी गाउँटोलमा पुगिरहेको उनले बताए । कोरोनाबाट संक्रमित हुनसक्ने जोखिमलाई ध्यान दिँदै यसका लक्षण, यसबाट बच्ने उपायबारे पनि जानकारी दिन थालिएको छ ।
सरकारले घोषणा गरेको ‘लकडाउन’को पूर्ण रूपमा पालना गर्ने, कोभिड– १९ को महामारीबाट आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ जस्ता सन्देशसहित प्रहरीले सचेतना फैलाइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
‘लकडाउन’ उल्लंघन गर्ने ३१ मोटरसाइकलसहित चालक नियन्त्रणमा
डडेल्धुरामा ‘लकडाउन’को उल्लंघन गर्ने ३१ मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘लकडाउन’को अवज्ञा गरी चलाइएका ३१ मोटरसाइकल नियन्त्रणमा लिएको डडेल्धुरा प्रहरीले जनाएको छ ।