१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ फाल्गुण २८ बुधबार ०७:४४:००
Read Time : > 1 मिनेट
अर्थ

गाउँ नै अर्गानिक खेतीमा

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण २८ बुधबार ०७:४४:००

सात वर्ष वैदेशिक रोजगारीमा बिताएका झापा गौरादह– ४ महारानीझोडाका बासु कोइराला आजकल अर्गानिक खेतीमा मख्ख छन् । विदेशमा कमाएको रकम घरखर्चमै सीमित भएपछि उनले २ बिघा जमिनमा ०६८ बाट परम्परागत खेती सुरु गरेका थिए । दुई वर्षअघि सिटिइभिटीको तालिम पनि लिएका उनले दुई बिघामध्ये दुई कट्ठामा गोलभेडा, साग, ब्रोकाउली, फूलकोभीलगायतका तरकारी लगाएका छन् । बाँकी जग्गामा भने धान, मकैलगायतका अन्न खेती गरेका छन् । परम्परागत खेतीको पाँचजनाको परिवारले राम्रो जीविकोपार्जन गरेका मात्रै छैनन् वार्षिक डेढ लाख बचत पनि गर्दै आएका छन् । उनी भन्छन्, ‘अर्गानिक खेती गर्न थालेपछि आफूले अरू खर्च कटाउँदा १ लाख ५० हजारजति बच्छ ।’

सोही ठाउँका भनुभक्त बास्तोलाले पनि सात वर्ष मलेसिया बस्दा पैसा बचाउन सकेनन् । त्यसपछि नेपाल फर्किएर अर्गानिक खेतीमै लागेका छन् । ‘गर्दा धेरै राम्रो हुने रहेछ,’ उनी भन्छन्, ‘यस्तो हुँदा किन विदेश जाने ? जे गरिन्छ आफ्नै ठाउँमा गरिन्छ ।’

उनीहरूजस्तै अहिले महारानीझोडाका अधिकांश अर्गानिक खेतीमा लागेका छन् । दुई वर्षअघि ४० जनाले सिटिइभिटीबाट बेमौसमी अर्गानिक तरकारी उत्पादन तालिम लिएपछि अहिले ६० घरपरिवारभन्दा धेरैको पेसा अर्गानिक खेती भएको छ । उनीहरूले अर्गानिक कृषक समूह नै गठन गरेर खेती गर्न थालेका छन् । यसको प्रवद्र्धन महिलाहरूले चलाएको महारानीझोडा सानाकिसान कृषि सहकारी संस्थाले गरेको छ । यसलाई नेपाल कृषि सहकारी संघ र गोल्यान ग्रुपले एक÷एकजना कृषि प्राविधिकहरू उपलब्ध गराइदिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित भएको पाठशालाको सिकाइले गाउँमा परिवर्तन आएको अर्गानिक कृषक समूहका अध्यक्ष बाबुराम दाहालले बताए । 

भदौमा गठन भएकोे कृषि समूहले कृषकको अर्गानिक तरकारीलाई बजारीकरण गरिरहेको छ । गाउँलाई नै अर्गानिक बनाउने योजनामा अहिले समूह लागेको छ । ‘गाउँमा बिस्तारै अर्र्गानिक खेती गर्नुपर्छ भन्ने चेतना फैलँदै छ,’ उनी भन्छन्, ‘अहिले त कृषकलाई पनि युरिया, डिएपी नलगाई फल्छ र ? भन्ने सोच छ । बिस्तारै रासायनिकलाई विस्थापित गरेर अर्गानिक खेती गर्न कृषकलाई प्ररित गर्छौँ ।’

 बजार अभाव
दुई वर्षदेखि गोल्यान ग्रुपले अर्गानिक खेतीका लागि कृषकलाई बानी पारेको थियो । सोही ग्रुपले तरकारी बजारसम्म पु¥याउने गरेको थियो । तर, उसले घाटा भएको भन्दै तरकारी लिन छाड्यो । त्यसपछि कृषकले नै समूह गठन गरेर तरकारी प्रवर्द्धन गरेको महारानीझोडा सानाकिसान कृषि सहकारीकी अध्यक्ष मीना कुमारी ढकालले बताइन् । तर, अहिले अर्गानिक तरकारीलाई बजारको अभाव रहेको उनको भनाइ छ । उनले भनिन्, ‘अहिले त अर्गानिक उत्पादन चिनेको मान्छेलाई तानेर भिडाउनुपर्छ । त्यसपछि राम्रो लागेर भोलिपल्ट साथीलाई लिएर आउँछन् । बजारको साह्रै अभाव छ ।’ रासायनिक भन्दा ५ देखि १० रुपयाँ बढी हुने कारण बिक्रीमा समस्या भएको हो ।