१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फाेटाे प्याकुरेलकाे फेसबुकबाट साभार
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ १० शुक्रबार १४:४६:००
Read Time : < 1 मिनेट
समाचार

सापकोटालाई सभामुखमा चयन गरेको भन्दै राष्ट्रपतिका राजनीतिक सल्लाहकार प्याकुरेलले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ १० शुक्रबार १४:४६:००

राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा  दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता अग्नि सापकोटालाई पार्टीले सभामुखमा चयन गरेपछि नैतिकताको आधारमा भन्दै उनले राजीनामा दिएको स्रोतले जनाएको छ ।

उनले राष्ट्रपति भण्डारीलाई शुक्रबार लिखित राजीनामा बुझाएका हुन् । ‘फौजदारी अभियोग लागेका व्यक्ति, सापकोटालाई नेकपाले सभामुखमा चयन गरेपछि नैतिकताका हिसाबले उहाँले राजीनामा दिनु भएको हो’ प्याकुरेल निकट एक अधिकारीले बताए ।

राष्ट्रपतिको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा २०७४ चैतमा प्याकुरेल नियुक्त भएका थिए । ५ माघमा पार्टीले सापकोटालाई सभामुख चयन गरे लगत्तै प्याकुरेलले यसबारे आपत्ति जनाउँदै आएको प्याकुरेल निकट ती व्यक्तिले जानकारी दिए । 

‘उहाँले राष्ट्रपतिसमक्ष बुझाउनु भएको राजीनामा स्वीकृत भइसकेको छैन । सम्भवतः आजै राजीनामा स्वीकृत हुने देखिन्छ’ उनले भने । 

२०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोपमा सापकोटा विरुद्धको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ । सोही मुद्दामा अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै २६ चैत २०७२ मा प्याकुरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा फैसला भइसकेको छैन । 

आफैले विगतमा रिट हालेका व्यक्ति सभामुख बन्न लागेपछि उनले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका हुन् । प्रतिनिधिसभाको सभामुखमा सापकोटाको मात्र उम्मेदवारी परेकाले सापकोटा सभामुखमा चयन हुने निश्चित भई सकेको छ । औपचारिकता दिन मात्र बाँकी रहेको अवस्था छ । उनी सभामुखमा १२ माघमा निर्वाचित हुँदैछन् ।