१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ मङ्सिर १ आइतबार १०:३५:००
Read Time : > 2 मिनेट
नयाँCity

कोस्टारिकाको  हाकोजस्तो पोखरा

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर १ आइतबार १०:३५:००

सहर संवाद

आना भिक्टोरिया बडिल्ला
कोस्टारिकामा नेपालकी अवैतनिक महावाणिज्यदूत

मध्यअमेरिकी मुलुक कोस्टारिकाको पन्तरेनास प्रान्तमा हाको नामक सहर छ । पहिलो नेपाल भ्रमणका क्रममा पोखराको लेकसाइडमा टहलिँदै गर्दा मलाई प्रशान्त महासागरको किनारमा अवस्थित हाको सहर घुमिरहेझैँ अनुभूति भयो । दुवै सहरका रेस्टुराँका लाइनहरू उस्तै–उस्तै लाग्ने रहेछन् । भविष्यमा हाको र पोखराबीच भगिनी सम्बन्ध स्थापनाको पहल गर्नेछु । पोखराभन्दा अगाडि म चितवन पुगेकी थिएँ । भरतपुर, सौराहालगायत सहरी इलाका पनि मलाई सुन्दर लागे । चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी गर्‍यौँ, जुन निकै रोमाञ्चक अनुभूति थियो । हरिण, हात्ती, गैंडालगायत वन्यजन्तुको अवलोकन गर्न पाएँ । यसपटक पाटेबाघ भने हेर्न पाइएन ।

नेपालबाट करिब १५ हजार पाँच सय ८९ किलोमिटर टाढा पर्ने कोस्टारिकामा म नेपालकी अवैतनिक महावाणिज्य दूत नियुक्त भएकी छु । सोही हैसियतमा नेपाल भ्रमण गर्ने मौका पाएँ । कोस्टारिकाको नाम धेरै नेपालीले नसुनेका हुन सक्छन् । सात समुद्रपारिको मेरो देश हुँदै अमेरिका पुर्‍याइन खोजेका नेपाली नागरिकहरूले भने भोगेका पनि छन् । मानव तस्करहरूले झुक्याएर कोस्टारिका पुर्‍याएका नेपालीलाई स्वदेश फर्काउन हामीले लामो समयदेखि सहयोग गर्दै आएका छौँ । त्यसक्रममा कतिपयलाई जेलमा पनि हालिएको हुन्छ । कोस्टारिकामा जम्मा १० जना नेपाली बस्छन् । तीमध्ये एक चिकित्सक, एक प्राध्यापक, एक इन्टेल कम्पनीका कर्मचारी र एकजना व्यापारी छन् । र, अरू काठको काम गर्छन् ।

एक समयमा म नेदरल्यान्ड्समा बस्थेँ । सोही क्रममा नेपालीसँग मेरो संगत भएको थियो । र, त्यतिवेला नै नेपाल र नेपालीप्रति आत्मीयता बढ्यो । स्वदेश फर्केर पनि नेपालीलाई सहयोग गरिरहेँ । सेप्टेम्बर २०१८ मा प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको भ्रमणमा जानुभयो । त्यसलगत्तै सायद मेरो त्यही योगदानका कारण होला, मलाई अवैतनिक महावाणिज्य दूत नियुक्त गर्‍यो, नेपाल सरकारले ।

संयोगवश, सन् २०१५ मा युनिभर्सिटी फर पिसमा अध्यापन गर्न नेपाली युवा मनीष थापा कोस्टारिका पुग्नुभयो । उहाँको परिवारसँग पनि मेरो पारिवारिक सम्बन्ध बन्यो । सन् २०१५ को विनाशकारी भूकम्पबाट पीडित नेपालीलाई कोस्टारिकाबाट पनि रेडक्रसमार्फत सानो परिमाणको सहयोग गर्न पायौँ, हामीले । वार्नर रोहास नामक कोस्टारिकाका पर्वतारोहीले २५ मे २०१२ मा सगरमाथाको सफल आरोहण गरेका थिए । उनी हालसम्म सगरमाथा आरोहण गर्ने एक मात्र कोस्टारिकन हुन् । त्यसैले मेरो देशमा नेपाल चिनिएको छ । दुवै मुलुकका नागरिक निकै सहयोगी छन् । हाम्रो देशका जतिले नेपालको नाम सुनेका छन्, जीवनमा एकपटक यहाँका हिमाल र सौन्दर्य देख्न लालायित छन् । कोस्टारिकाका मानिस पनि नेपालमा जस्तै संयुक्त परिवारमा बस्न रुचाउँछन् ।

नेपाल भ्रमणका क्रममा पोखराको लेकसाइडमा टहलिँदै गर्दा मलाई प्रशान्त महासागरको किनारमा अवस्थित हाको सहर घुमिरहेझैँ अनुभूति भयो । भविष्यमा दुई सहरबीच भगिनी सम्बन्ध स्थापनाको पहल गर्नेछु ।

कोस्टारिकामा अग्ला पहाड हेर्न पाइँदैन । हाम्रो सबैभन्दा अग्लो माउन्ट चिरिपोको उचाइ ३८ सय मिटर मात्रै छ, जहाँ हिउँ पर्दैन । नेपालमा भने त्यसभन्दा माथिको उचाइमा पनि बस्ती रहेछन् । कोस्टारिकामा सधैँ देखिरहेका केही प्रजातिका फूल   नेपालमा पनि देखेँ । भविष्यमा एक–अर्का मुलुकका वनस्पति आदान–प्रदान गर्नेबारे सोच बनाएकी छु । त्यसबाट दुई मुलुकको भावनात्मक सम्बन्ध बलियो बन्ने आशा छ । 

कोस्टारिकाका सहरमा या त एकतले घर हुन्छन्, या बहुतले अपार्टमेन्ट । यहाँ त्यसबीचका चार–पाँचतले घर पनि हुँदा रहेछन्, जुन नेपालका सहरका लागि सामान्य विषय रहेछ । कोस्टारिकामा नेपालमा देख्न नपाइने ज्वालामुखी हेर्न पाइन्छ । कोस्टारिकाका बासिन्दा ज्वालामुखी विस्फोटबाट पीडित पनि छन् । कोस्टारिकामा पनि नेपालमा जस्तै भूकम्प गइरहन्छ ।

मैले नेपाल घुम्दै गरेका तस्बिर फेसबुकमार्फत देखेका कोस्टारिकाका साथीहरूले नेपाल निकै सुन्दर देखिएको प्रतिक्रिया दिएका छन् । र, आफूहरूले पनि नेपाल पुग्ने योजना बनाउँदै गरेको बताएका छन् । त्यसैले कोस्टारिकाबाट नेपालमा पर्यटक भिœयाउन सकिने प्रशस्त सम्भावना छ । नेपाल सरकारले त्यसका लागि प्याकेज ल्याउनु आवश्यक छ ।