१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ असोज १२ आइतबार ०९:३४:००
Read Time : > 1 मिनेट
विश्व

कडा सुरक्षा र हिंसाका घटनाबीच अफगानिस्तानमा राष्ट्रपति निर्वाचन सम्पन्न

Read Time : > 1 मिनेट
२०७६ असोज १२ आइतबार ०९:३४:००

कडा सुरक्षा र हिंसाका घटनाबीच अफगानिस्तानमा राष्ट्रपति निर्वाचन सम्पन्न भएको छ । मतदान केन्द्रमा हमला गर्ने सशस्त्र तालिवानी धम्कीबीच शनिबार निर्वाचन सम्पन्न भएको हो । निर्वाचन सुरु हुनेबित्तिकै दक्षिणी सहर कान्दहारको एउटा मतदान केन्द्रमा विस्फोट भएको थियो । विस्फोटमा दर्जनौँ मतदाता घाइते भएका थिए । निर्वाचनमा मतदाताको उत्साहजनक उपस्थिति रहेको स्वतन्त्र निर्वाचन आयोगका प्रवक्ता जाबी सदात्तले बताए ।

शान्तिवार्ता विफल, पृष्ठभूमिमा निर्वाचन
यसै महिनाको सुरुमा तालिवान र अमेरिकाबीच भएको शान्तिवार्ता भंग भएको पृष्ठभूमिमा निर्वाचन भएको छ । यसअघि दुईपटकसम्म निर्वाचन स्थगित भएको थियो । तालिवानको सम्भावित हमलाबाट जोगाउन निर्वाचन केन्द्रमा ७० हजारभन्दा बढी अफगान सेना परिचालन गरिएका थिए । निर्वाचनमा वर्तमान राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुलाह अब्दुलाहबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । सन् २०१४ देखि उनीहरूबीच शक्ति बाँडफाँड भएको थियो ।

निर्वाचनले के अर्थ राख्छ ?
अफगानिस्तानका भावी राष्ट्रपतिले चार दशक लामो द्वन्द्वबाट तहसनहस भएको देशको नेतृत्व गर्नेछन् । गृहयुद्धका कारण हरेक वर्ष हजारौँको मृत्यु हुने गरेको छ, जसका कारण अफगान सरकारको अनुरोधमा विभिन्न देशका विश्वका सेना परिचालन भएका छन् ।

अन्तर्राष्ट्रिय समुदायको हस्तक्षेपको झन्डै दुई दशकपछि अमेरिकाले तालिवानसँगको द्वन्द्व अन्त्यका लागि वार्ताको पहल गरिरहेको छ । अमेरिकामा हाल १४ हजार अमेरिकी सेना परिचालित छन् । त्यस्तै नेटो मिसनका रूपमा बेलायत, जर्मनी र इटालीका एक हजारभन्दा बढी सेना छन् । उनीहरूले अफगानिस्तानका सुरक्षाकर्मीलाई तालिम, सुझाब र सहयोग प्रदान गर्दै आएका छन् ।

अमेरिकी सेनाले सन् २००१ मा तालिवानलाई सत्ताच्युत गरेपछि चौथो राष्ट्रपतिका लागि निर्वाचन भएको हो । तसर्थ निर्वाचित राष्ट्रपतिको महत्वपूर्ण अभिभारा हुनेछ । तालिवानलाई वार्तामा ल्याएर शान्तिप्रक्रिया सफल पार्ने दायित्व नयाँ राष्ट्रपतिको काँधमा आउनेछ । सरकारलाई विदेशी शक्तिको कठपुतली बताउँदै तालिवानले अफगान सरकारसँग वार्ता गर्न अस्वीकार गर्दै आएका छन् । अमेरिकी सरकारसँग सहमति भएपछि मात्र अफगान अधिकारीसँग वार्ता गर्ने उनीहरूले अडान राख्दै आएका छन् । 

दैनिक ७४ जनाको मृत्यु
एक सर्वेक्षणअनुसार अफगान हिंसाका कारण दैनिक ७४ जनाको मृत्यु हुने गरेको छ । मारिनेमध्ये पाँच भागको एक भाग निर्दोष सर्वसाधारण छन् । पछिल्लो समयमा तालिवान सरकारविरुद्ध झन् आक्रामक र शक्तिशाली बनेको विभिन्न सर्वेक्षणले देखाएका छन् । राष्ट्रसंघका अनुसार अफगान र अमेरिकी फौजको हमलामा यस वर्षको पहिलो ६ महिनामा धेरै सर्वसाधारणको मृत्यु भएको छ । तसर्थ, वर्षौं लामो द्वन्द्व अन्त्य नै नयाँ राष्ट्रपतिको मुख्य एजेन्डा हुनेछ ।

अन्य विषय के छन् ?
पाँच वर्षअघि सम्पन्न निर्वाचनमा व्यापक धाँधली भएको गुनासो बढेको छ । अघिल्लो निर्वाचनको नतिजा सार्वजनिक हुन महिनौँ लागेको थियो । अमेरिकी पहलमा दुई प्रतिस्पर्धीलाई शक्ति बाँडफाँड गरिएको थियो । तर, शनिबारको निर्वाचनबाट त्यो प्रवृत्ति नदोहोरिने धेरैले अपेक्षा गरेका छन् । तीन करोड ७० लाख जनसंख्या भएको अफगानिस्तानमा मुस्किलले ९० लाख नागरिक मतदानका लागि योग्य छन् र हिंसाका त्रासका कारण उनीहरूमध्ये थोरैले मात्र मतदान गरेको अनुमान गरिएको छ । कुल मतदाताको ३५ प्रतिशत महिला छन् । मतदानका लागि वैध मतदातामध्ये आधाले मतदान नगर्ने एउटा अनुसन्धानले देखाएको थियो ।

को हुन् प्रतिस्पर्धी ?
वर्तमान राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुलाह अब्दुलाहसहित पूर्वयुद्धनाइके, पूर्वगुप्तचर अधिकारी र पूर्वकम्युनिस्ट सरकारका मन्त्रीसमेत १८ जनाले निर्वाचनमा भाग लिएको घोषणा गरेका थिए । तर, पाँचजनाले उम्मेदवारी फिर्ता लिएका छन् । कुनै पनि महिला उम्मेदवारले प्रतिस्पर्धा गरेका छैनन् ।