१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका चितवन
२०७६ असोज ८ बुधबार ०७:०३:००
Read Time : < 1 मिनेट
प्रदेश

बलात्कारी बाबुलाई जन्मकैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका चितवन
२०७६ असोज ८ बुधबार ०७:०३:००

१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोप लागेका खैरहनी नगरपालिका–१ का एक ४२ वर्षीय पुरुषलाई जन्मकैद (२५ वर्ष) को सजाय तोकिएको छ । चितवन जिल्ला अदालतले हाडनातामा बलात्कार भएको पुष्टि गर्दै सजाय तोकेको हो । न्यायाधीश विनोदकुमार गौतमको इजलासले मंगलबार यस्तो फैसला सुनाएको हो । 

२१ चैत ०७५ को राति आमा माइत गएको अवस्थामा आफ्नै बाबुले बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी थिइन् । यसअघि गत २ असोजमा पनि हाडनाता करणीमा बाबुले छोरीलाई बलात्कार गरेको घटनामा चितवन अदालतले ४० वर्ष कैदको फैसला गरेको थियो । 

तीन वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा चलाइएका भारत पूर्वी चम्पाहरण घर भई भारतीय ट्रकमा काम गर्ने १९ वर्षीय जाहिर आलमलाई पनि चितवन अदालतले गत आइतबार १६ वर्ष कैद फैसला सुनाएको थियो । 

 १ वर्ष ६ महिना कैद 
मंगलबारै बलात्कारसम्बन्धी अर्को एक मुद्दामा चितवन जिल्ला अदालतले एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना सजाय तोकेको छ । रत्ननगर नगरपालिका–१५ घर भएका ४५ वर्षीय निमबहादुर सुनारविरुद्ध सो आदेश आएको हो । न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले उक्त सजाय सुनाएको स्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए । उनीमाथि गत ११ जेठमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मुद्दा दायर भएको थियो । 

 २ वर्ष कैद फैसला
६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनामा भरतपुर–२१ का वर्ष १६ का सुदीप विकलाई चितवन अदालतका जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको छ । चितवन अदालतले असोज पहिलो हप्तामा पाँचवटा बलात्कारसम्बन्धी घटना फैसला गरेको छ । दुईवटा हाडनाता करणीसम्बन्धी हुन् भने बाँकी तीनवटा बलात्कारका घटना रहेका छन् ।