१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o६:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

लोसपा मधेश संसदीय दलका नेतासहित सातजनालाई जन्मकैद, एमालेका निलम्बित फरार सांसद कोइरीलाई भने सफाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:२४:oo

सशस्त्रका असइ थमन विक हत्या मुद्दा

एम्बुलेन्सबाट थुतेर हत्या गरिएका सशस्त्र प्रहरीका असइ थमन विकको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीले लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सातजनालाई जन्मकैदको फैसला सुनाएको छ । सोही मुद्दामा फरार रहेका एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरी र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले भने सफाइ पाएका छन् । 

न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले बिहीबार मधेशका पूर्वराज्यमन्त्रीसमेत रहेका शर्मासहित लोसपा केन्द्रीय सदस्यद्वय सुरेश पाण्डे र धर्मेन्द्र राय, जलेश्वर नगरपालिकाका पूर्वमेयर शंकर शाही (रामशंकर मिश्र), सञ्जयकुमार साह, मोहन ठाकुर र प्रदीप साह माझीलाई जन्मकैदको फैसला सुनाएको हो । २५ भदौ ०७२ मा महोत्तरीमा भएको हत्या घटनामा प्रदीप र सञ्जय पुर्पक्षका लागि थुनामा छन् । अभिराम, सुरेश, धर्मेन्द्र, शंकर साधारण तारेखमा छुटेका थिए भने मोहन फरार थिए ।

जन्मकैदको सजाय पाएका सातैजनालाई एम्बुलेन्समा आगजनी गरेको अर्को लगाउ मुद्दामा थप ६ महिना कैद र १० लाख क्षतिपूर्ति भराउने फैसला भएको अदालतका श्रेस्तेदार नूतन शर्माले बताइन् ।

मधेश आन्दोलनका क्रममा २५ भदौ ०७२ मा आन्दोलनकारीको कुटपिटबाट घाइते भएका थमनलाई एम्बुलेन्सबाट अस्पताल लैजाँदै गर्दा थुतेर हत्या गरिएको थियो । एम्बुलेन्समा आगो लगाइएको थियो । थमनकी पत्नी शोभा गहतराजका तर्फबाट थमनका दाजु प्रेम विकको जाहेरीको आधारमा मुद्दा दायर भएको थियो ।

थपन हत्या मुद्दामा एमालेका निलम्बित सांसद कोइरीसहित २८ जनाविरुद्ध २७ फागुन ०७२ मा कर्तव्य ज्यान र आगो लगाएको दुईवटा मुद्दा दायर भएका थिए । जसमा जिल्ला अदालतले यसअघि थुनछेक बहसमा कोइरीलाई एक लाख धरौटीमा छोडेको थियो । तर, उच्च अदालत जनकपुरले १९ असोज ०७७ मा जिल्लाको फैसला उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा राख्न उनलाई पक्राउ गर्न भनेको थियो । राजनीतिक पहुँच भएका कोइरी पक्राउ परेनन् । बरु, फरार रहेकै अवस्थामा गत वर्ष ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट महोत्तरी–१ मा उम्मेदवार बनेर विजयी भए । उनले ७ पुसमा सांसद पदको शपथग्रहण गरेका थिए ।

अहिले जिल्ला अदालतले कोइरीलाई सफाइ दिएको हो । थुनछेक बहसमा साधारण तारेखमा रिहा भए पनि उच्च अदालतबाट पक्राउ आदेश भएपछि फरार रहेका मोहन ठाकुरको हकमा भने जन्मकैदको फैसला भएको छ । 

१९ जनाविरुद्धको मुद्दा मुलतबीमा
हत्या मुद्दामा प्रतिवादी रहे पनि फरार रहेका १९ जनाको मुद्दा भने मुलतबीमा राखिएको छ । जिल्ला अदालतका श्रेस्तेदार नूतन शर्माका अनुसार अभियोगपत्रमा प्रतिवादी रहे पनि अदालतमा उपस्थित नभएका÷प्रहरीबाट पक्राउ नपरेका १९ जनाको हकमा पछि छिनोफानो हुनेछ । फरार रहेका रमेशप्रसाद साह, सतेन्द्र चौधरी (सविन्द्र), चन्देश्वर साह, राजु चौधरी (राजा), देवेन्द्र चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रविन्द्रराम चमार, रञ्जित साह, विकी साह, फुले यादव, रोहितकुमार शर्मा, ललवा (लालबाबु) बिन, शम्भु साह, अनिल ठाकुर, देवेन्द्र यादव र कौशलकुमार यादवको मुद्दा मुलतबीमा राखिएको छ । 

यसरी भएको थियो घटना 
मधेश आन्दोलनका क्रममा २५ भदौ ०७२ को बिहान महोत्तरीको जलेश्वरमा आन्दोलनकारीले सशस्त्र प्रहरीका असइ थमन विकलाई कुटपिट गरी गम्भीर घाइते बनाए । उनलाई उद्धार गरी प्रहरीले जलेश्वर अस्पताल पुर्‍यायो । तर, अस्पतालले थप उपचारका लागि जनकपुर रेफर गर्‍यो । एम्बुलेन्समा जनकपुर लैजाने क्रममा महोत्तरीको सोनुसडामा थपनलाई एम्बुलेन्सबाटै थुतेर कुटिकुटी हत्या गरिएको थियो । धानखेतमा उनको हत्या गरिएको गरिएको थियो ।

आन्दोलनका क्रममा २३ भदौ ०७२ मा सुरक्षाकर्मीको गोलीबाट चार आन्दोलनकारीको ज्यान गएपछि स्थानीय प्रशासनले कफ्र्यु लगाएको थियो । २५ भदौको बिहान दुई घन्टाका लागि कफ्र्यु खोलिएलगत्तै सडकमा उत्रिएका प्रदर्शनकारीहरूबाट थमनमाथि कुटपिट भएको थियो । 
 

ad
ad