१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
तीर्थराज बस्नेत काठमाडौं
२०७६ असोज ७ मंगलबार ०७:२६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

ब्रुमर खरिद प्रक्रिया दुई महिनादेखि अघि बढेन

काठमाडौं महानगरपालिकाका मेयर र सचिवबीच आरोप–प्रत्यारोप

Read Time : > 1 मिनेट
तीर्थराज बस्नेत काठमाडौं
२०७६ असोज ७ मंगलबार ०७:२६:००

काठमाडौं महानगरपालिकाले थप दुई ब्रुमर खरिदका लागि प्रक्रिया अघि बढाएको फाइल सचिव केदार न्यौपानेको टेबुलमै अड्किएको छ । महानगरको गत २६ वैशाखमा बसेको ३२औँ कार्यपालिका बैठकले थप दुई ब्रुमर किन्ने निर्णय गरेको थियो । तर, दुई महिनायता ब्रुमर खरिद प्रक्रियाको फाइल सचिव न्यौपानेको टबुलमा अड्एिको छ । 

सचिव न्यौपानेले अध्ययन गर्ने भन्दै फाइल अघि नबढाएको मेयर विद्यासुन्दर शाक्यले बताए । ‘कार्यपालिका बैठकले दुई ब्रुमर किन्ने निर्णय गरिसकेको छ । तर, दुई महिनायता सचिवको टेबुलमा फाइल अड्किएको छ,’ मेयर शाक्यले भने, ‘अध्ययन गर्छु भन्नुहुन्छ । म चाँडो प्रक्रिया अघि बढाउन भन्छु, उहाँ थप अध्ययन गर्दै छु भन्नुहुन्छ ।’ 

तर, सचिव न्यौपाने भने ब्रुमर खरिदको फाइल नरोकिएको दाबी गर्छन् । उनले भने, ‘फाइल अघि बढिसकेको छ । यो मात्रै होइन, महानगरपालिकाका कुनै पनि फाइल मेरो टेबुलमा रोकिएका छैनन् ।’ 

मेयर शाक्यले झन्झटिलो खरिद प्रक्रियाका कारणले जनअपेक्षाअनुसारको काम गर्न नसकेको बताए । ‘हामीले निर्वाचनको समयमा धुलो धुँवामुक्त काठमाडौं बनाउने घोषणा गर्‍यौँ । त्यही घोषणाअनुरूप पाँच ब्रुमर खरिद गर्‍यौँ । थप दुई ब्रुमर किन्ने निर्णय पनि गर्‍यौँ, तर लामो प्रक्रियाले समस्या भयो,’ उनले थपे, ‘आफैँमा लामो खरिद प्रक्रिया र कर्मचारीको ढिलासुस्तीका कारणले पनि कतिपय काम समयमा हुन सकेका छैनन् ।’

सातमध्ये दुई ब्रुमर सञ्चालनमै आएनन्
काठमाडौंका सडकको धुलो बडार्न महानगरले यसअघि करिब ११ करोडमा पाँच इटालियन ब्रुमर खरिद गरिसकेको छ । पाँच ब्रुमरले सबै रूट बडार्न पर्याप्त नभएको भन्दै थप ब्रमुर किन्ने निर्णय कार्यपालिका बैठकले गरेको थियो ।  इटालियन कम्पनीबाटै दुई ब्रुमर खरिद गरिने महानगरले जनाएको छ । अहिले महानगरसँग आफैँले खरिद गरेका पाँच र चीनको छेन्दु नगरले दिएका दुई गरी सात ब्रुमर छन् । छेन्दु नगरले महानगरलाई गत १ असारमा दुई ब्रुमर हस्तान्तरण गरेको थियो । छेन्दुले दिएका ब्रुमर कानुनी प्रक्रिया र चालक अभावमा महानगरले अहिलेसम्म सञ्चालन गरेको छैन ।  

ब्रुमर चलाउन वर्षा बाधक
अहिले महानगरका ब्रुमर फाट्टफुट्ट मात्र सञ्चालन भइरहेका छन् । वर्षात्को समय भएका कारण ब्रुमर पूर्ण रूपमा सञ्चालन नभएको महानगरपालिकाले जनाएको छ । ‘पानी पर्ने समय भएका कारण नियमित सञ्चालन नभएको हो । तर, पानी नपरेको वेला भने चलिरहेका छन्,’ महागरका प्रवक्ता ईश्वरमान डंगोलले भने । 

दुईवटा ब्रुमर किन्ने फाइल दुई महिनायता सचिवको टेबुलमा अड्किएको छ । म चाँडो प्रक्रिया अघि बढाउन भन्छु, उहाँ थप अध्ययन गर्दै छु भन्नुहुन्छ । कानुनी अड्चनका कारण कतिपय काम समयमा सकिएको छैन । - विद्यासुन्दर शाक्य मेयर, काठमाडौं महानगर

मेरो कारणले कुनै पनि फाइल अड्किएको छैन । ब्रुमरको फाइल पनि अघि बढिसकेको छ । ब्रुमरको मात्रै होइन, महानगरपालिकाका कुनै पनि फाइल मेरो टेबुलमा रोकिएका छैनन् । - केदार न्यौपाने सचिव, काठमाडौं महानगर